सम्पादकीय
विपद्ले हर समय मानव समुदायको परीक्षा लिइरहको छ । विशेषतः बर्खामास हरेक वर्ष ठूला ठूला प्राकृतिक प्रकोपका घटना दोहोरिरहन्छन् । बाढी, पहिरो,भूक्षयले पहाडी र हिमाली क्षेत्र आक्रान्त बन्छन् भने तराई क्षेत्र डुबानले प्रभावित हुन्छ । अझ पछिल्लो एक वर्ष यता त विश्वव्यापी कोरोना महामारीले नागरिक स्वतन्त्र रुपमा हिँड्डुल गर्न बञ्चित छन् । कोरोनाबाट जोगिन घर भित्रै लकडाउन (बन्दाबन्दी)ले बसिरहेका बेला असार महिना सुरु हुँदा नहुँदै ठूला विपदजन्य घटना भएको छ । चार दिन लगातार परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची बजार बगाएको घटना होस् या मनाङको ताल गाउँ बजार होस् या अरु दर्जनौ भवन, पुल पुलेसा बगाएको घटना किन नहोस् ? या गाउँ गाउँमा घरहरु जोखिममा परेर दर्जना परिवारका सदस्य विस्थापित या दर्जनौ मुख्य र सहायक राजमार्ग र सडकहरु बाढी पहिरोले क्षत बिक्षत भएर बन्द भएको किन नहोस् । बर्खा सुरु हुँदै गर्दाको कहाली लाग्दा घटना र परिदृश्यले आम मानिसलाई चिन्तित तुल्याएको छ ।
यस्तो विपद् कुनै बाजा बजाएर या पूर्ववत सूचना दिएर आउँदैन । प्राकृतिक विपत्ति एक भवितव्य हो । यो पृथ्वीमा हुने बिभिन्न गतिविधि र कारणबाट पनि असन्तुलित भएर जहाँ जहिले पनि जे पनि हुन सक्छ । त्यो हाम्रो सोच र कल्पना भन्दा बाहिरको कुरा हो । कतिपय अवस्थामा विज्ञान र बैज्ञानिकहरुले समेत प्राकृतिक विपत्तिको पूर्ववत प्रक्षेपण गर्न सक्दैनन् । जसले अकल्पनीय क्षति पु¥याउँदै आएको पनि छ । तर, यी विपद्का हिजो, आज र अलि पहिलेका प्रकोपजन्य घटनाहरुलाई केलाएर हेर्ने हो भने मानव सिर्जित परिस्थितिका कारण बाढी, पहिरो जस्ता विपद्का घटना भइरहेका छन् । यसले मानवीय तथा ठूला भौतिक क्षति पनि पु¥याइरहेको छ । यसमा तीन तहको सरकार छ, यी सरकार र सरोकारवालाले सम्भावित विपद्को आँकलन, विश्लेषण र पूर्ववत जोखिम तयारी नगर्दा आँखै अघि हृदयविदारक घटना देख्नु र भोग्नु परिरहेको छ । अझै कति देख्नु भोग्नु पर्ने हो ? त्यसको एकिन छैन ।
विपद्का घटना पछि हाम्रो रोइकराई, क्रन्दन, शोक, समवेदनाको पनि बाढी मात्र आउँदैन, राहत बाँड्ने र यसमा राजनीतिक स्वार्थको दाउ हेर्नेहरुको पनि ठूलै लाम लाग्छ । तर, दुर्भाग्य भन्नुपर्छ तीन तहको सरकारले विपद् पछि जे जति चिन्ता अभिव्यक्त गर्छ, उद्धारमा हेलिकप्टर सहित तदारुकता देखाउँछ, राहतमा हतारो गर्छ । त्यतिकै चिन्ता सम्भावित विपद्को विश्लेषण गरेर योजना निर्माण गर्ने, विपद् प्रति कार्यका लागि पूर्व तयारी सहित काम गर्ने हो भने सबै विपद् रोक्न नसके पनि धेरै विपद् र क्षति कम गर्न सकिन्छ । कुन बस्ती कति सुरक्षित, कुन स्थान कति जोखिमयुक्त, कहाँ सडक खन्ने, कहाँ खेतीपाती गर्ने, कहाँका ढुंगा बालुवा कति उत्खनन गर्ने भन्ने निर्णय विज्ञान सम्मत नगर्दा यस्ता विपद् घटना दोहोरि रहनेछ ।