वर्षायाममा स्वास्थ्यमा के कसरी दिने ध्यान ?

सरोज केसी
हेल्थ असिष्टेन्ट
धौलागिरी अस्पताल, बागलुङ

वर्षायाम सुरु भए संगै मानिसहरुले स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ । निरन्तर वर्षाका कारण अहिले मानिसहरुको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या आउन सक्दछन् । वर्षाले गर्दा पिउने पानीमा फोहोर पसेको हुन सक्दछ । जसले गर्दा स्वास्थ्यमा बिभिन्न खालका समस्या आउन सक्दछ । यो समय सिजन परिर्वतन हुने समय पनि हो । यो समयमा सिजनल फ्लूहरु हुन सक्ने सम्भावना पनि बढी हुन्छ ।

हामीहरुले बर्खा लाग्न साथ नियमित पानी उमालेर मात्र पिउनु पर्ने हुन्छ । हामीले खाने पानीमा फोहोरहरु पसेको हुन सक्दछ । त्यसकारणले अन्य समय भन्दा वर्षा याममा पानीलाई उमालेर पिउने बानी बसाल्नु पर्ने हुन्छ । हामीले पिउने पानीको मुहानहरु समय समयमा सफा गर्ने, मुहान खुल्ला नराख्ने, मुहानको वरीपरी बार लगाउने, मुहानमा अन्य ठाउँबाट पानी बगेर आएको पानीलाई पस्न नदिनका लागी ढाकछोप गर्न जरुरी हुन्छ । वर्षा याममा पानी बढी परेर हाम्रा पिउने पानीका मुहानहरुमा भलहरु पस्ने, मुहान नै बगाउने जस्ता समस्याहरु धेरै हुन्छन् । त्यसकारण मुहानको संरक्षण पनि ध्यान दिनु पर्ने हुन्छ ।

वर्षाको समयमा धेरैजसो झाडा पखाला लाग्ने समस्या हुन्छ । झाडा पखाला लाग्नुको मुख्य कारण अस्वस्थ खानपान र फोहोर पानी पिउनाले हो । त्यसकारण पिउने पानी सधै उमालेर मात्र पिउनु पर्ने हुन्छ । हरियो सागपात, झोलिलो खानेकुरा, सिजनल फलफूल, दुध आदि कुराहरु प्रशस्त मात्रामा खानुपर्ने हुन्छ । हामीहरुले राम्रो ताजा खानेकुरा खाएका छौ तर झाडापखाला लाग्यो भन्दै मानिसहरुले भनेको सुनिन्छ । त्यसको कारण हामीहरुले खाने सागपात, फलफूललाई राम्रो संग सफा पानीले सफा गरेका छैनौ भन्ने कुरा बुझ्नु पर्दछ । हामीले खाने खानेकुरालाई राम्रो सँग सफा पानीले पखालेर मात्र खानुपर्ने हुन्छ ।

यो समयमा झाडापखाला, बान्ता, रुघाखोकी, ज्वरो आउन सक्ने सम्भावना बढी मात्रा हुने भएकाले चिकित्सकको सल्लाह सुझाब लिएर औषधी सेवन गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा कुनै पनि समस्या आएको खण्डमा चिकित्सकको सल्लाह नलिइकन औषधी सेवन गर्नु हुँदैन ।

वर्षात्को समयमा सरसफाईमा विशेषः ध्यान दिनुपर्ने हुन्छ । हामीहरुले शौचालय प्रयोग गरे पछि राम्रो संग साबुन पानीले हात धुने बानी बसाल्ने, घर बाहिरबाट आउँदा पनि हात, खुट्टा धुने बानी बसाल्नु पर्ने हुन्छ । अहिलेको समयमा झन् सफा भएर बस्ने र हात खुट्टा धुने कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । कोरोना महामारीले विश्वनै आक्रान्त भएको समयमा हामीहरुले कुनै पनि चिज छोइ सकेपछि सेनिटाइजर वा साबुन पानीले हात धुने बानीको विकास गर्न अति आवश्यक नै छ । अहिलेको समयमा सामान्य रुघाखोकी लाग्न सक्दछ । पानी पिउँदा, खानेकुरा खाँदा ध्यान नदिदाँ रुघाखोकी लाग्न सक्दछ । त्यसकारण सामान्य रुघाखोकी लाग्दैमा आत्तिएर कोरोना भयो भनेर डराउनु हँुदैन । वर्षायाममा खानपान नमिलेर रुघाखोकी लाग्नु सामान्य हो । तर, लामो समय रुघाखोकी लाग्नु, शरीर दुख्ने, ज्वरो आउने जस्ता लक्षण लामो समय सम्म भएमा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । कोरोनाको जोखिम भएका कारणले अझ धेरै स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ ।

वर्षातको समस्यामा धेरै समस्याहरु आउन सक्दछन् । अहिले निरन्तर वर्षाले जताततै बाढी पहिरोको खबर सुन्नमा आउँछ । वर्षात्ले गर्दा हाम्रो घर वरपर पानी जम्ने, खाल्डाहरुमा पानी हुने, घर वरपरा झारहरु पलाउने हुन्छ । यसले गर्दा लामखुट्टे फैलिने र जोखिम प्रवल हुन्छ । पानी जम्मा भएको ठाउँमा लामखुट्टे उत्पन्न हुने भएकाले हामीहरुलाई बिभिन्न रोगको समस्या हुन सक्दछ । त्यसकारण वर्षातको समयमा आफ्नो घर वरपर पानी जम्न नदिने, खाल्डाहरु पुर्ने, झारहरु सफा गर्ने र आफ्नो घर सधै सफा राख्नु पर्ने हुन्छ । लामखुट्टेको टोकाइले डेङ्गु हुने भएकाले सधै सुत्ने समयमा झुलको प्रयोग गर्न अति आवश्यक हुन्छ । हामीकोमा झुल भन्दा पनि लामखुट्टे मार्नका लागि विभिन्न प्रकारका धुपहरु प्रयोग गर्ने चलन हुन्छ । त्यसले गर्दा मानिसको स्वास्थ्यमा समस्या आउन सक्दछ । धुपको एलर्जी हुने, दमको रोगीलाई, आस्तामा भएको मानिसलाई, मुटु सम्बन्धी समस्या भएका मानिसलाई र बाल बच्चामा असर पर्ने भएकाले सके सम्म झुलको प्रयोग गर्दा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *