जिवन शाक्य
महान सन्त दार्शनिक, विचारक ओशो रजनिशले भन्नुभएको थियो–“मान्छेहरु टाउकोले टेकेर हिँडिरहेका छन् ।” हामीलाई श्राद्ध गर्दा बिहेवारी, मरण, क्रिया कर्म गर्दा विधि चाहिन्छ । त्यसका लागि हामी ब्राह्मण खोज्ने गर्छौ । विधि नपु¥याई गरेको पुजाआजा, यज्ञले चाहेको लक्ष्य, उदेश्य प्राप्त गर्न वा पुरा हुँदैन भन्ने मान्यता आम छ । र हामी सकेसम्म यस्तो कार्यमा ब्राह्मण पुरेत खोजेर काम गराउँछौ । तर, जीवन र स्वास्थ्य संग सम्बन्धित खाना खाजा खाने, बस्ने, स्वास्थ्य सरसफाईमा ध्यान दिने, आराम विश्राम गर्ने खेल्ने काम ब्यवसाय गर्ने,योजना विकास सम्पन्न गर्ने कार्यमा हामीले विधि अनुशासनको ठाडै उल्लंघन गर्ने गर्दै आईरहेका छौ ।
परिणामतः हामीले स्वास्थ्य, शान्ति, सुख, स्वतन्त्रता गुमाइरहेका छौ । सिर्जना, विकास उत्पादन ज्यादै नगण्य मात्रामा छ । मानवता ज्यादै कुपोषित भएको अवस्था छ । मान्छेहरुमा विश्वास, प्रेम सुन्दरता छैन । कुरुपता, विकृतिले जताततै हस्तक्षेप गरिरहेको अवस्था छ । कोरोना महामारी आए पछि मान्छेको औकात हैसियत कति सम्म ओरालिएको अवस्था रहेछ, सबै उजागर गरेको छ र अकालमा संक्रमित भएर मृत्युवरण गर्ने, सम्पत्ति, पैसा, परिश्रम गुमाउन विकसित अविकसित सम्पूर्ण विश्वनै बाध्य भएको छ । यो सबै टाउकोले टेकेर हिँड्नुको परिणाम हो भन्दा फरक पर्दैन । अर्थात् पहिला थाहा पाएन, त्यतिकै चलिआएको बाउबाजेले गर्दै आएको भनेर मान्ने, जान्ने थाहा पाउन अल्छी गर्ने, बेवास्ता गर्ने मानि आएको भनेर गरेको गल्तीको परिणाम हो । विश्वमा करोडौ मान्छेहरु कमजोर नकारात्मक सोच, असुरक्षित अस्वस्थ खानपान, ब्यवहारले गर्दा नसर्ने रोगहरु चिनी रोग, उच्च रक्तचाप, क्यान्सर, थाईराइड, अन्य दीर्घ रोगहरु, कमजोर मानसिक शारीरिक अवस्थामा रहेकोले कोरोना संक्रमित भएर जटिल अवस्थाले निमोनिया भई लाखौले अकालमा ज्यान गुमाए, श्री सम्पत्ति नाश भएको छ ।
भगवान गौतम बुद्धको पालामा राजा अजात शत्रुले राजारानी आफनो बुवाआमालाई षड्यन्त्रपूर्वक मारेर राजा बन्छ, केही वर्ष शक्तिको आडमा मनपरि गर्छ, यौन सुखभोग गर्छ । तर, पछि मनमा शान्त सन्तोष हुँदैन । आफनो गल्ती कमजोरीको महुशुस हुन्छ, छटपटि छुट्ने पछुताउने अवस्थाले निद्रा, विश्राम हराउन थाले पछि भगवान बुद्धको शरणमा परि आफ्नो कथा ब्यथा भनि सकेर यसबाट शान्ति पाउने उपायबारे सोध्छ, ज्ञान लिन्छ । त्यसपछि सोही अनुसार विधि अनुशासन, कानुन मानवताको शासन गर्न खोज्छ तर आफ्ना राज गुरु मन्त्रीहरु उनको शासन शैली संग सहमत हुँदैन । विस्तारै विद्रोह भैरहेको राजालाई आभाष भएपछि पुनः बुद्धको शरणमा पर्छ, भगवान बुद्धले उपाय बताई दिनु हुन्छ । सोही अनुसार राजप्रसाद सभा बोलाउने कार्य हुन्छ । राजगुरु पण्डित मन्त्रीहरुको उपस्थितिमा भगवान गौतम बुद्ध र राज्यमा जनताहरुले मान्दै आएको राज पुरोहित गुरु र भगवान बुद्धको बिचमा “राज्य सत्ता, जीवन शान्त, सुन्दर राम्रो बनाउन, स्वास्थ्य हासिल गर्न के कस्तो सोच व्यवहार आवश्यक हुन्छ ? के गर्नु पर्छ भन्ने मूल विषयमा छलफल, वादविवादको आयोजना हुन्छ । भगवान गौतम बुद्धले वादविवाद छलफलमा अपनाउनु पर्ने स्वच्छ न्यायसंगत नियमहरुको बारेमा राजालाई पहिल्यै बताइसकेको हुनाले सोही नियम विधिबारे राजाले पहिला सभालाई सम्वोधन गरिसकेपछि छलफल शुरु हुन्छ ।
राजपुरोहित पण्डित मानि आएको गुरुले सबै भन्दा आवश्यक कुरो सबैको हित कल्याण खातिर शरीर,, दिमाग स्वस्थ तन्दुरुस्त राख्नु पर्ने, तब मात्र शरीरका अंगहरुले हात खुट्टाले स्वस्थ र ब्यवस्थित ढंगले काम गर्न सक्छ भन्ने भनाई राख्छ । सबै मन्त्रीगण राजा, सभामा उपस्थित सबैले राजगुरुको कुराको प्रशंसा गर्छन्, भगवान बुद्धले पनि सहमति जनाउँदै थप प्रश्न गर्नु हुन्छ, शरीर दिमाग स्वस्थ राख्न के गर्नु के अपनाउनु आवश्यक छ ? कसरी शरीर दिमाग स्वस्थ कायम राख्न सकिन्छ ? त्यो बारेमा बताउन भन्नुहुन्छ । राजपुरोहित गुरुले एकछिन सोच्नुहुन्छ अकमकिनुहुन्छ, आफूलाई थाहा नभएको महशुस भएपछि भगवान बुद्धलाई शरण पर्दै बताईदिन भन्नुहुन्छ । भगवान बुद्धले मन, दिमाग, स्वस्थ राख्न होश, चेतना, सजगता आवश्यक रहेको र यसका लागि योग, ध्यान, ज्ञान साध्ने गर्नु आवश्यक रहेको, शील, सदाचार, स्वस्थ, आहार विहार आवश्यक भएकोबारे विस्तारमा शान्त र दृढ रुपमा बताउनुहुन्छ । त्यसपछि सबै भगवान बुद्धको जयजयकार गर्छन् । राजा अजात शत्रुले त्यसपछि भगवान गौतम बुद्धको धार्मिक सन्देशहरुको अनुयायी भएर विधिको राम्रो शासन चलाउन धेरै वर्ष सम्म सक्षम हुन्छन् ।
राजा अजात शत्रुले बुद्ध ज्ञान, शील, सदाचार अनुशासन अपनाए जस्तैः भगवान गौतम बुद्धले भन्नुभएको पञ्चशील, अष्टमध्यम मार्ग अर्थात विधी नियम अनुशासनको पालना सवैले आफनो स्वास्थ्य शान्ति सफलता सन्तोषको लागि गर्नु अपनाउनु अति जरुरी छ, सान्दर्भिक छ । अहिले एक्काईसौ शताव्दीको यो युगमा पनि हामी आफ्नो बुवा आमा मार्ने राजा अजात शत्रुकै जस्तै घटीबढी सोच संस्कार ब्यवहार गरिरहेका छौ । त्यसैले अति जरुरत र आवश्यक कुराहरुको बारेमा पहिला जान्नै पर्छ,,थाहा पाउनै पर्छ ताकी सही साँचो सोच दृष्टिकोण विचार ब्यवहार दिमागमा आओस्, र गल्ती कमजोरी नहुने सोच व्यवहारहरु अपनाउन सकौ ।
सबैभन्दा पहिला हाम्रो दिमाग, शरीरको अवस्थाहरुसंग हामी सचेत हुनै पर्छ । यसको कमजोरी र सवल पक्षहरुबारे थाहा पाउने कार्य गर्ने गराउनै पर्छ । साथै स्वस्थ बलियो सकारात्मक काम कुराहरुको बारेमा थाहा पाएर ब्यवहारमा अपनााउनु पर्छ । शरीर र मन दिमागलाई आवश्यक तालिम ज्ञानहरु दिएर बानी संस्कार दिनु पर्छ । तब मात्र त्यो बानीले हामीलाई काम व्यवहार व्यवसाय गर्न सजिलो सुविधाजनक हुने, बाधा व्यवधान नहुने गरि कम परिश्रम गरे पुग्ने, कम समयमा कामकाज फत्ते वा सम्पन्न गर्न सक्षम हुन्छौ । यो भनेको ध्यान योग हो । र यसलाई फलिभुत गर्न स्वस्थ सुरक्षित खानपान, आजिविका आफ्नै मन शरीर यसलाई प्रभाव पार्ने वस्तुहरु, काम कुराहरु अर्थात् पञ्चशील, अस्टशील सदाचार, अनुशासन हो । जस्तैः भगवान बुद्धले भन्नुभएको छ, सम्यक वा ठीक ठीक ज्ञान, सम्यक विचार संकल्प, सम्यक स्मृति वा होश, सम्यक भोजन, सम्यम आजिविका, सम्यक ब्यायाम, सम्यक ध्यान सम्यक कर्म आदि ।
ध्यान भनेको होश, चेतना वा अत्यावश्यक प्राथमिक कुरामा बढी दिमाग केन्द्रित हुनु हो । अनावश्यक काम कुराहरुबाट मन र शरीरलाई नअल्झाई वर्तमानमा सजग भई राख्नु काम व्यवहार गर्नु हो । यसका लागि भगवान गौतम बुद्धले आफनै श्वास, आफनै मुटुको धड्कन, चाप, गति, कम्पन, भाव विचार प्रति सचेत भई बिना प्रतिक्रिया स्वीकार श्रदा भावले हेर्ने गरि सजिलो आसनमा ढाँड सिधा गरि बस्न भन्नु भएको छ । यसरी सिधा गर्दा शरीरको आफ्नो कमजोरी र यसले परेको प्रभाव, असरहरु र अनावश्यक रुपमा उर्जा शक्ति खेर फालेको थाहा हुँदै आउँछ र यसलाई समाधान गर्ने बाटो देखिन्छ । तर, केही समय र महिना मात्रै गरेर ध्यानको उचाई हासिल गर्न सकिदैन । यसलाई दैनिक जीवनको कार्य सम्झेर दिनहुँ विहान बेलुका र अन्य समयमा होश पुर्वक काम कुराहरु गर्नु पर्ने कुरा भगवान बुद्ध, सन्त महन्त, भिक्षुहरुले बताउदै आइरहेको देखिन्छ । यसबाट हामीले गहन शान्ति, स्वास्थ्यको अनुभुति गर्न सफल हुन्छौं, हाम्रो सवल पक्ष र कमजोर पक्षबारे महशुस हुँदै आउँछ । यसका लागि केही ब्यायाम प्रणायामहरु गर्दा छिटो फल दिने खालको हुन्छ तर सुरुमा सिक्नै पर्छ । खानपान पनि लत लाग्ने शरीर अस्वस्थ बनाउने खालको नभई सुरक्षित हुनु आवश्यक छ । भन्तेहरुले विहान केही खाएर १२ बजे अघि एक छाक खाएर पनि मोटोघाटो पेट बढेकै देखिन्छ भने धेरै खाएर स्वादको लागि बढी खाएर स्वास्थ्य आर्जन गर्न सकिदैन । आउनुस् हामी पनि ध्यान साधनामा लागेर आफ्नो स्मृति, होश, चेतना, बढाउने कार्य गरौ । जीवनलाई कमसेकम सन्तोष, स्वास्थ्य, शान्ति पाउने बाटो बनाउन सकौ । पूण्य असल कर्महरु बढी गर्न सकौ, कमसेकम मर्नलाई पनि सकस नहोस् ।
भवतु सब्ब मंगलम् ।