गण्डकीमा सुरुवातमै सत्ता किचलो

सम्पादकीय
संकटको समयमा राजनीतिक दलबिच देखिएको सत्ताको फोहोरी खेलले आम नागरिकमा निराशा व्याप्त छ । एक पक्ष सत्ता जोगाउन जे जस्ता हर्कत गर्न पनि तयार हुने र अर्को पक्ष सत्ता गिराउन उस्तै हर्कत गर्न तयार हुने पात्र र प्रवृत्तिको जमातले नेपाली राजनीति पुनः एक पटक प्रदुषित बनेको छ । खासगरी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको उदय पछि जारी नयाँ संविधान, त्यही संविधानको जगमा बनेका तीन तहको सरकार क्रमशः बदनाम हुने अनुक्रममा छन् । करिब दुई तिहाइ जनमतमा बनेको सरकार अल्पमत हुँदै अहिले सर्वोच्चमा आफ्नो आयुको मापन गर्दैछ । प्रदेश सरकारहरु पनि धर्मराइरहेका छन् । सत्ता दाउपेचमा ७ प्रदेशमा गण्डकी प्रदेश पहिलो सिकार बन्यो । पाँच वर्षका लागि बनेको एमाले नेतृत्वको सरकार साढे ३ वर्षमै ढल्यो । र जनअभिमतबाट प्रमुख प्रतिपक्षमा बस्न निर्देश भएको उद्घोष गरेको नेपाली काँग्रेसलाई अहिले गण्डकी प्रदेश सरकारको सत्ता सम्हाल्ने पासा परेको छ । जस अनुसार कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री नियुक्त भएका छन् ।

स–साना दललाई साथमा लिएर बनेको पोखरेल नेतृत्वको गठबन्धन सरकार सुरुवातीमै संकटमा पर्न थालेको छ । पोखरेलले शपथ लिँदा ४ जनालाई विना विभागिय मन्त्री बनाएर शपथ लिए । मुख्यमन्त्री बनेको पहिलो दिननै मन्त्रिपरिषद् विस्तार गरेका पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । बनाएका मन्त्रीलाई पनि जिम्मेवारी तोक्न सकेका छैनन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मनसाय बनाएर मुख्यमन्त्री बनेको ७ दिनमै पोखरेलले विश्वासको मत लिएका छन् । यो सकरात्मक सन्देश थियो । तर, दलीय गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा किचलो सुरु भएको छ । यही बिचमा सत्ताका लागि मुख्यमन्त्रीले मन्त्रालय भागबण्डा सहित थ्रेस होल्ड हटाउने सम्मको जसपासँग छुट्टै सहमति गरेको सार्वजनिक भएको छ । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी र स्वतन्त्र सांसद मिलाएर सरकारलाई पूर्णता दिन मुख्यमन्त्री पोखरेललाई हम्मेहम्मे छ । कांग्रेस र जनता समाजवादीबीच पनि किचलो छ ।

मन्त्री बन्ने आंकाक्षा र शक्तिशाली मन्त्रालय पाउनु पर्ने होडबाजीले सरकार बन्दा नबन्दै किचलोमा फस्नु राम्रो संकेत र सन्देश होइन । सत्ता परिवर्तन गर्दाको समयका आदर्श, मूल्य मान्यताका भाषण, एजेण्डा, नागरिक अपेक्षामा सुरुवातमै धक्का लागेको छ । राजनीतिक दाउपेच र फोहोरी राजनीतिको खेलले दीपक मनाङे जस्ता पात्र राजनीतिको केन्द्रमा आएका छन् । सत्ताका लागि जे पनि गर्न तयार हुने पात्र र प्रवृत्ति आजको उन्नत व्यवस्थामा पनि देखिनु र दोहोरिनु दुर्भाग्य हो । अतः कांग्रेस नेतृत्वमा अहिले सरकार बनेको छ । यो सरकारले अघिल्लो सरकार जे जति कारणले ढल्ने अवस्था बन्यो, त्यसबाट पाठ सिकेर अघि बढ्नु प्रदेशका लागि मात्रै हितकर होइन, स्वयम् कांग्रेस र गठबन्धनका लागि पनि सुखद रहेनछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *