डम्मर बुढा मगर, बागलुङ
गाउँको चारै तिर ठूला–ठूला पहिरो । त्यही पहिरोको बिचमा छ हुल्दी गाउँ । हुल्दी गाउँ वर्षौदेखि बाढी पहिरोको चपेटामा छ । यहाँका स्थानीयलाई हरेक वर्षातको समयमा जनधनको सुरक्षा गर्न निकै चूनौति हुन्छ । गाउँ छोडेर अन्तै जाने थातथलो पनि छैन । जसोतसो गाउँमै बस्नु सिवाय अरु विकल्प नभएको स्थानीय बताउँछन् । निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँका जमिन पहिरोले चिरा चिरा परेको छ । र पनि स्थानीय वासिन्दा ज्यानलाई हत्केलामा राखेर गाउँमै बस्न विवश छन् ।
गाउँमा हरेक वर्ष पहिरोले घर, खेतबारी बगाउने गरेको छ । भूगर्भविदले गाउँमा बस्न जोखिम भएको बताए पनि स्थानीयहरुको अन्य कुनै ठाउँमा बसाइँ सराइ गर्ने ठाउँ नहुँदा ज्यान धरापमै राखेर गाउँमै बस्दै आएका छन् । हुल्दी गाउँसँगै देविस्थानको खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोले घर चिराचिरा परेका छन् । अगाडी पछाडीबाट पहिरोहरु झरिरहेका छन् । स्थानीयले गाउँ छोड्न सकेका छैनन् । छोडेर पनि कहाँ जाने ? उनीहरु एकै स्वरमा भन्छन् ।
निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी बाढी पहिरो प्रभावित पालिका हो । यस पालिकामा २ सय ८२ घर परिवार पहिरोले विस्थापित बनेका छन् । जसमध्ये २ सय ६० घर स्थानान्तरण गर्नु पर्ने अवस्थामा रहेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । वडा नम्बर १ को देविस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका १०० घर, वडा नम्बर २ खाडुका ११ घर, वडा नम्बर २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नम्बर ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नु पर्ने अवस्थामा रहेको छ ।
वडा नम्बर ४ का ३ घर वडा नम्बर ५ का ८ घर, वडा नम्बर ६ का ४ घर र वडा नम्बर ७ मा ७ वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । ती घरहरुलाई ग्याबिन निर्माण तथा अन्य व्यवस्थापन गरेर सुरक्षित गर्न सकिने विकल्प भने छ ।
‘जुन बस्ती स्थान्तरण गर्ने भनिएका ठाउँहरु छन्, त्यहाँ निकै जोखिम छ, सिङ्गो गाउँनै पहिरोले चिराचिरा परेको छ, घरहरु चर्किएका छन्, बस्नको लागि निकै समस्या छ तर पनि स्थानीयवासीको ध्यान धरापमै पारेर बस्नु भएको छ,’ गौतमले भन्नुभयो ‘पानी नपर्दा त धेरै समस्या नपर्ला तर वर्षा भयो भने त ती ठाउँहरुमा निकै खतरा छ, सजगता नअपनाउने हो भने ठूलै क्षति हुन सक्छ ।’
यस वर्ष पनि धेरै बस्तीहरु जोखिममा पर्न सक्ने भन्दै उनीहरुलाई सजग रहन गाउँपालिकाले आग्रह गरेको छ । कमजोर भूगोलका कारण वर्षादको समयमा बाढी पहिरोबाट गाउँपालिकाका धेरै नागरिकहरु प्रभावित हुने गरेका छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दी गाउँका पहिरो पीडित पवनकुमार सिंजालीले पहिरोले गाउँलेहरुको उठिवास लगाएको र निकै ठूलो त्रासका बीच गाउँमा बसिरहेको गुनासो गर्नुभयो । सरकारले आफूहरुको समस्या बुझ्न र समाधानमा बेवास्ता गरेको उहाँको भनाई छ । पहिरोले गाउँ छिया–छिया भए पनि सरकारले नजर अन्दाज गरेकोमा स्थानीय आक्रोशित समेत छन् ।
‘पहिरोले गाउँनै जोखिममा परेको यतिका वर्षसम्म हामीलाई सरकारले राहत दिलाउन सकेन, पहिरोले कयौँको ज्यान लियो, धेरै पशुचौपाया मरे, हामी पनि कति बेला पुरिने हौँ पत्तो छैन’ उहाँले भन्नुभयो ‘सरकारका लागि चुनावमा मात्रै हामी चाहिने तर सरकार हाम्रो लागि कहिल्यै भएन, यस्तो विपत्तिमा पर्दा समेत निरिह बन्यो, यत्रो गाउँनै पहिरोले उजाडिँदै छ, सरकारलाई वास्ता छैन ।’
उहाँले पानी पर्दा दौडिएर जंगलमा जानु पर्ने अवस्था रहेको भन्दै आफूहरुका लागि सरकारले उचित व्यवस्थापन गर्नु पर्ने बताउनु भयो । जनता समस्यामा परेको बेला सरकार रमिते बनेको उहाँले गुनासो गर्नुभयो । यस क्षेत्रका बासिन्दाले हिउँदको समयमा जसोतसो जीवन निर्वाह गरे पनि बर्खामा गास, बास र कपासको ठेगान छैन ।
जोखिममा रहेका बस्तीलाई व्यवस्थापनका लागि गाउँपालिकाले केन्द्र सरकारसँग आग्रह गरे पनि अहिलेसम्म काम हुन नसेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुहुन्छ । अध्यक्ष पौडेलले पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाए पनि अहिलेसम्म पनि उनीहरुको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।
‘हाम्रो पालिकाको सबैभन्दा प्रभावित वडा नम्बर १ को हुल्दी गाउँ, देविस्थान खारा बजार, खाडु, बाहुन गाउँ, काँडा किटेनी हुन्, यहाँ वर्षौदेखि पहिरोले जनतालाई समस्यामा पारेको छ, पालिकाले पीडितलाई आवश्यक सहयोग त गर्दै आएको छ तर, बस्तीनै स्थान्तरण गर्ने क्षमता भने हुँदैन, यसका लागि केन्द्र सरकारलाई निरन्नतर घचघचाई रहेका छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘अहिलेसम्म काम नहुनु दुःखद हो, हामीले सरकारलाई भनिरहेका छौँ, छिटो व्यवस्थापन गर्नुप¥यो भनेर ।’
बस्ती जोगाउनका लागि विभिन्न स्थानमा ग्याबिन लगाउने लगायतका कार्य गरे पनि त्यो प्रभावकारी नभएको अध्यक्ष पौडेलले बताउनुभयो । उच्च जोखिममा परेका नागरिकहरुको जीवन रक्षाको विकल्प बस्ती स्थान्तरण नै भएको उहाँले बताउनुभयो । सरकारले जोखिममा परेकालाई अन्तै सार्नको लागि घोषणा गरे पनि कार्यान्वयन नगर्दा हरेक वर्षातका समयमा नागरिकले समस्या झेल्नु परेको बताउनुभयो ।
गाउँपालिकालाई बस्ती स्थान्तरणका लागि गाउँभन्दा तल्लो क्षेत्रमा जग्गा व्यवस्थापनमा समस्या भएको भन्दै माथिल्लो जंगल क्षेत्रभन्दा केही तल स्थानीय बस्न नरुचाएकाले समस्या देखिएको छ । ‘अहिलेको बस्तीभन्दा तल जग्गा पाउनै गाह्रो छ, माथिल्लो क्षेत्रमा स्थानीय मान्नु हुन्न, यसले गर्दा पनि अलिकति समस्या छ, केही बुढापाकाले माथिल्लो क्षेत्रमै भए पनि बस्ने चाहना देखाउनु हुन्छ तर युवा पुस्ताले त्यो मान्दैनन्,’ उहाँले भन्नुभयो ‘बस्ती स्थान्तरण गरेर मात्रै पनि भएन, त्यहाँ खानेपानी, सडक, बिजुली सबै चाहियो, केन्द्र सरकारले सहयोग गरेर कामलाई अगाडि बढायो भने पीडितलाई राहत मिल्ने थियो ।’