शुभेक्षा पन्त
समाजमा प्रचलित नियम र संस्कार अनुसार दुई विपरीत लिङ्ग महिला र पुरुष बीच विवाह हुन्छ र त्यसबाट नाताको विकास हुन्छ । त्यसैगरी धर्मपुत्र अथवा धर्मपुत्री बनाएर पनि नाता जोड्न सकिन्छ । हाम्रो समाजमा सन्तान नहुने व्यक्तिले अर्काको सन्तानलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने गरेका छन । कानुनी रुपमा पनि सन्तान नहुने वा छोरा वा छोरी नभएका व्यक्तिले अर्काको सन्तानलाई धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने व्यबस्था छ । छोरी नभएकाले धर्मपुत्री र छोरा नभएकाले धर्मपुत्र राख्न सकिन्छ । सामान्यतया आफ्ना छोरा वा छोरी नहुनेले अर कसैका बच्चालाई छोरा, छोरी सरह पाल्दछन, हुर्काउँछन र अंशबण्डा गरिदिन्छन । हाम्रो समाजमा सम्पतिको उत्ताराधिकारीका रुपमा यस प्रकारका नाता जोडिन्छ । हाम्रो समाजमा साधारणतया धर्मपुत्र वा धर्मपुत्री पाल्दा जात तथा धर्मलाई प्राथमिकता दिएको पाइन्छ । धर्मपुत्र र धर्मपुत्री प्रथा परम्परागत रुपमा तथा हिन्दु मान्यताको आधारमा पहिले देखि नै चल्दै आएको छ ।
२० औं शताब्दीमा देखापर्ने आधुनिक प्रणालीहरू व्यापक कानून र नियमहरूद्वारा शासित हुन्छन् । त्यसैले कोही व्यक्तिले पनि हक अधिकारबाट वन्चित नहुन भन्ने उद्देश्यले धर्मपुत्र, धर्मपुत्री राख्ने प्रचलन आएको हो । हिन्दू कानूनी प्रणाली अनुसार धर्मपुत्र वा धर्मपुत्री राख्नुको उद्देश्य चाहिँ छोरा वा छोरीको सामाजिक एवं धार्मिक खाँचो टार्न, बंश परम्परा चलाउन, अन्त्येष्टी आदि संस्कार गराउन, उत्तराधिकारी व्यवस्था गर्न, बृृद्धा अवस्थामा सहारा लिन हो भने अहिले बालबालिकाको सर्वोत्तम हित र कल्याणका लागि धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यवस्था गरिएको हो । जसले बालबालिकाको लागि बनेका विभिन्न ऐन, सन्धि, महासन्धिलाई पनि आत्मसाथ गर्दछ । कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिनेछ । कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई कानुनको रीत प्रक्रिया पुयाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेर राखेको व्यक्तिनै धर्मपुत्र वा धर्मपुत्री हो । धर्मपुत्र वा धर्मपुत्रीको रूपमा रहने नाबालकको धर्मपुत्र वा धर्मपुत्री राख्ने परिवारमा प्राकृतिक जन्म नभई कानुनी रूपमा जन्म हुन्छ ।
धर्मपुत्र वा धर्मपुत्री भई सकेपछि प्राकृतिक बाबु वा आमासँगको सम्बन्ध अन्त्य भई कृत्रिम बाबु वा आमासँगको सम्बन्धमा जोडिएको हुन्छ । धर्मपुत्र वा धर्मपुत्री बस्ने बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नुपर्दछ । धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुन्छ । यसरी धर्मपुत्र वा धर्मपुत्रीको रूपमा बस्ने व्यक्तिले आफूलाई जन्माउने माता पिताको हक तथा अंशमा दाबी गर्न पाउँदैन भने उसको सम्पूर्ण दाबी धर्मपुत्र वा धर्मपुत्री आमा बुबामा हुन्छ । कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानुनको रीत पुर्याई धर्मपुत्र वा धर्मपुत्रीको लिखत सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्दछ अनि मात्र यो कार्यले वैधता पाँउछ । धर्मपुत्र र धर्मपुत्रीको लिखतको रजिष्ट्रेशन पहिला मालपोत कार्यालयबाट हुने गर्दथ्यो भने अहिले जिल्ला अदालतबाट हुने व्यवस्था छ ।
मुलुकी देवानी संहिता, २०७४ मा छोरा वा छोरी नहुने व्यक्तिले अन्य बालबालिकालाई पालनपोषण, स्वास्थ्य, शिक्षा, तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि अदालतमा निवेदन दिन सक्दछ र त्यस्तो निवेदन जाँचबुझ गर्दा हैसियत रहेको देखिएमा अदालतले धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि अनुमति दिन सक्ने व्यवस्था छ । यस संहिता अनुसार धर्मपुत्र वा धर्मपुत्री रहने बालबालिकाको बाबु र आमा दुवै जीवित भएमा दुवै जनाको र कुनै एकमात्र जीवित भएकोमा उसको लिखित सहमति लिनुपर्दछ र यदि बाबु र आमा दुवै नभएको अवस्थामा त्यस्तो बालबालिकालाई पालनपोषण, हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिनु पर्दछ । १० वर्ष उमेर पुरा भइसकेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखित सहमति लिनु पर्ने व्यवस्था रहेको छ । मुलुकी ऐनमा धर्मपुत्र वा धर्मपुत्री राख्नेले मात्र धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने व्यवस्था रहेकोमा देवानी संहितामा भने धर्मपुत्र वा धर्मपुत्री राख्ने र बस्ने दुवै पक्षले धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने व्यवस्था गरेको छ । मुलुकी देवानी संहितामा अनुसार धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले आफ्नो दायित्व पुरा नगरेमा धर्मपुत्र वा धर्मपुत्री बस्नेले अंश लिइसकेकोमा बाहेक त्यस्तो धर्मपुत्र वा धर्मपुत्री बदर गर्न सक्ने व्यवस्था छ । मुलुकी ऐनमा धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्थाका साथै अन्तर्देशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी पनि व्यवस्था गरिएको थियो र अहिले मुलुकी देवानी संहितामा यी व्यवस्थाहरूलाई एउटै भाग अन्तर्गत छुट्टा छुट्टै परिच्छेदमा व्यवस्थित रूपमा उल्लेख गरिएको छ ।
धर्मपुत्र वा धर्मपुत्री राख्नुको प्रमुख उद्देश्य कुनै पनि व्यक्ति सन्तान बिना बेसहारा नहोस् भन्ने हो भने अर्कोतिर यसको उद्देश्य बेसहारा नाबालकको उचित हेरचाह र संरक्षण होस् भन्ने हो । बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रबिन्दुमा राखेर धर्मपुत्र वा धर्मपुत्री राखेमा बेसहारा बालबालिकाले पनि खाने, बस्ने आदिको हक अधिकार पाउन र सुनिश्चित गर्न सक्दछन् । विवाह भएको दश वर्षसम्म पनि सन्तान नहुने दम्पत्तिले धर्मपुत्र वा धर्मपुत्र राख्न पाउँछन् भने अविवाहित वा एकल व्यक्तिले पैँतालीस वर्ष पुरा भएपछि मात्र धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँछन् र छोरा नभएकाले छोरा र छोरी नभएकाले छोरीलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सक्दछन । धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा पच्चीस वर्षको फरक हुनु पर्नेछ । तर तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्दैन । बच्चालाई ग्रहण गर्नु भनेको त्यो बच्चाको लागि जीवनको लागि प्रतिबद्ध हुनु हो र उसको संरक्षणसँगै बढेसकालमा आफूलाई पनि साथ सहयोग लिने दोहोरा सहयोग, लेनदेनको वातावरण सही ढङ्गले गर्न सकेमा मात्र धर्मपुत्र धर्मपुत्री राख्ने व्यवस्थाले सार्थक रुप लिन सक्ने देखिन्छ ।
बालबालिका देशका खम्बा हुन् । बेसहारा बालबालिकालाई विभिन्न व्यतिm, परिवार, संघ, संस्थाले उनीहरुको हेरचाह, संरक्षण गर्ने गरेको पाइन्छ । त्यस्ता बालबालिकालाई सन्तान नहुने व्यक्तिले धर्मपुत्र, धर्मपुत्री राखेर उनीहरुको हक, अधिकारको संरक्षण गर्न सकिन्छ । मानव अधिकार अन्तर्गत बालबालिका सम्बन्धि सन्धिको नेपाल पक्ष राष्ट्र भएकाले बालबालिकाहरुको सुरक्षा, संरक्षण, हक, हित र अधिकारको सुनिश्चिताका लागि यो व्यवस्था गरेको छ । कानुनको पूर्ण कान्र्यान्वयन गरी उचित रुपमा बालबालिकाहरुको सुरक्षा, हक, हित र अधिकारको संरक्षणसँगै आफ्नो हक, अधिकारको लागि सदैव प्रयत्नशील हनन जरुरी छ । कानूनको आँखामा सबै समान हुने भएको सबैले कानुनको पालना गरौँ र आफनो हक, अधिकारको प्रयोग गर्दा अरुको हक, अधिकारको हनन हुने काम नगरौँ ।