ढोरपाटन नगरपालिकाको बजेट ४४ करोड, ६५ लाख, १० हजार

आर्दश अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिकाको बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । उप्रमुख कर्मती पुनले ४४ करोड, ६५ लाख, १० हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई बढी प्रथामिता दिँदै शिक्षा, रोजगार, पूर्वाधार निर्माण र पर्यटनलाई समेत महत्व दिइएको छ । ढोरपाटन नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति कक्षमा बिरामी कुरुवाका लागि एसीसहितको क्याबिन निर्माण गरिने, डिजिटल एक्सरे जडान मेडिप्रो सिस्टम तथा डिजिज मनिटरिङ सिस्टमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने नगर प्रमुख देवकुमार नेपालीले प्रस्तुत गरेको नीति कार्यक्रमा उल्लेख छ ।

नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा मापदण्ड बमोजिमका खोप केन्द्र स्थापना गरिनेछ । नगरपालिका भित्रका अति विपन्न तथा फरक क्षमताले सक्षम नागरिकका १०० परिवारलाई ‘मेयर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत एक लाखको स्वास्थ्य बीमामा गरिने भएको छ ।
त्यस्तै ढोरपाटन वडा नम्बर ९ स्थित पाखाथरमा १५ शैयासहितको अस्पताल निर्माणको गर्ने भएको छ । पोषणयुक्त खानेकुराको अभावमा कुपोषणको शिकार भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सम्बन्धी कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।

त्यस्तै शिक्षालाई पनि नगरपालिकाले उत्तिकै प्राथमिकतामा राखेको छ । “मेयर शैक्षिक सुधार कार्यक्रम” अन्तर्गत विद्यालय व्यवस्थापन समितिको प्रतिवद्धताको आधारमा प्रत्येक वडामा “एक वडाः एक नमूना विद्यालय कार्यक्रम” लागु गरिने नीति कार्यक्रममा छ ।

नगर स्तरीय प्रतिभा पहिचान कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । सो कार्यक्रम मार्फत विद्यार्थीको प्रतिभा पहिचानका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ । नगरपालिकाले सञ्चालन गर्दै आइरहेको विद्यार्थी सिकाइ उपलब्धि परीक्षा, वार्षिक परीक्षा र कक्षा ८ को परीक्षा तथा मूल्याङ्कनलाई थप प्रभावकारी बनाइनेछ ।

त्यसैगरी नगरभित्रका पर्यटकीय स्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचार प्रसारका लागि स्थानीय सञ्चार माध्यमहरुसँग आवश्यक सहकार्य गरी प्राथमिकताका साथ प्रवर्द्धन जोड दिइनेछ । महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले डकुमेन्ट्री तयार गर्नेछ ।

नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने सञ्चार माध्यमहरुसँग सहकार्य गरी “मिडिया मिसन, गन्तव्य ढोरपाटन“ कार्यक्रममा सहकार्य गरीने नीति अवलम्बन गरिने कार्यक्रममा उल्लेख छ ।

कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिइनेछ । पर्यटन प्रवर्द्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्त्वपुर्ण स्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदल मार्ग निर्माण गरिनेछ ।

पर्यटनको क्षेत्रमा उच्च सम्भावना बोकेको यस क्षेत्रमा पर्यटन विकासका लागि पूर्वाधारको निर्माण, पर्यटकीय क्षेत्रहरुको पहिचान एवम् प्रचारप्रसार तथा पर्यटकमैत्री समुदाय निर्माणलाई विशेष प्राथमिकता दिइनेछ ।

पर्यटन क्षेत्रलाई रोजगारी एवम् आय–आर्जनसँग जोड्न बिभिन्न वडाहरुमा सञ्चालित होमस्टेहरुलाई व्यवस्थित बनाउँदै लगिनेछ । साथै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।

यसैगरी ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं. ४ स्थित रिखुवा महखोला झरना लगायतका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने नीति कार्यक्रमा समावेश छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *