विभेदलाई प्रश्रय दिने शिक्षामन्त्रीको अक्षम्य कर्म

सम्पादकीय
राजधानीमा घरभाडा लगाउने क्रममा एक दलित युवतीलाई गरिएको जातिय विभेदको घटनाले देश तरंगित छ । सामाजिक सञ्जालहरु यही विषयको बहसले रंगिएका छन् । जातका कारण रूपा सुनारलाई कोठा नदिएको आरोपमा घरधनी सरस्वती प्रधान जाहेरी पश्चात पक्राउ परे पछि पक्ष विपक्षमा बिभाजित समेत छन् । कोठा नपाएर विभेदमा परेको विषय प्रहरीमा पुग्दा सामाजिक सञ्जालमा ब्राह्मण, क्षत्री समुदायका कतिपयले भने दलितले कोठा नपाउनु र ब्राह्मण क्षत्रीले कोटा (आरक्षण) नपाउनु उस्तै हो भनेर बहसमा ट्वीस्ट गरिदिए । यसमा पनि अहिले ठूलो मतभेद सहित सामाजिक सञ्जालमा समेत बहस जारी छ ।

सयौं वर्षदेखि जातिय विभेद जकडिएर बसेको नागरिकका बिचमा यस्तो बहस हुनु नौलो विषय थिएन । दलित समुदायले विभेद भोगेर न्यायको माग सहित आवाज बुलन्दित गर्दा पुरानो पुस्ताको टाउको दुख्नु सामान्य र स्वभाविक मानिन्थ्यो । तर, पछिल्लो घटनामा युवाहरु समेत उही पुरानो संकिर्ण मानसिकता सहित विभेदको पक्षपोषण गर्ने गरी खुल्ला मैदानमा देखिरहेका छन् । यसले विभेद सहजै मुक्त हुने देखिदैन । त्यो पनि अझ खतरा त जो जातिय विभेदको आरोपमा पक्राउ परेका छन् । उनकै संरक्षणमा शिक्षामन्त्री श्रेष्ठ देखिए पछि सिंगो राज्य नै यसमा सक्रिय छ भन्नेमा द्धिविधा रहेन । बुधबार प्रहरी थुनाबाट मुक्त भएपछि सरस्वती प्रधानलाई जसरी शिक्षामन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर घर पु¥याए, श्रेष्ठका लागि हात हल्लाएर छाति चौडा परेको भ्रम हुन सक्छ, तर त्यो दृश्य नेपाली इतिहासमा देशकै लागि दुर्भाग्यपूर्ण हो । जसको न्याय र समानताको आन्दोलनमा राज्यकै मन्त्रीको विभेदको पक्षपोषणको यो खराब उदाहरण बनेर लेखिने र देखिनेछ ।

यो निश्चित हो कि नेपाल समाजमा विभेद, विकृति, विसंगतिले वर्षौदेखि गाँजेको छ । यसबाट समाज बदलिन धेरै समय लाग्छ । व्यवस्थाहरु ऐतिहासिक रुपमा परिवर्तन भए पनि समाजका पात्र र पुरानो प्रवृत्तिको अवस्था अहिले पनि कुन अवस्थामा छ भन्ने बुझ्न यही घटना काफी छ । न्यायिक प्रक्रियामा रहेको मुद्दामा स्वयम् मन्त्री आफै पुगेर ‘हाइज्याक’ गरेको घटनाको चौतर्फी बिरोध र निन्दा भइरहेको छ । यो जति गरे पनि कम नै हुनेछ । देशको झन्डा हल्लाउँदै विभेदको पक्षमा मन्त्री श्रेष्ठले प्रहरी चौकी नै पुगेर आरोपितको पक्षमा किन यसो गरे भन्ने बुझ्न सकिन्छ, तर त्यसलाई क्षमा गर्न सकिन्न । पीडितको पक्षमा उभिनुपर्ने मन्त्री उसकै विरूद्ध उभिएको यो राज्यका तर्फबाट भएको अक्षम्य कर्म हो । -आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *