तमानखोलामा लक्ष्य अनुसार योजनामा प्रगति

डम्मर बुढा मगर, बागलुङ
कोरोना कहरका बिच जिल्लाको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्य सम्म आइपुग्दा ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा तमानखोलामा साना ठूला गरि ७३ योजना थिए ।

जसमध्ये ६ ठूला र ६७ वटा साना योजना थिए । ठूला ६ योजना मध्ये ४ वटा र साना योजना मध्ये अधिकांश सकिएको लामिछानेको भनाई छ । ‘चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकामा साना ठूला ७३ योजना थिए, अहिलेसम्म ९० प्रतिशत बढी योजना सम्पन्न भएका छन्,’ सूचना अधिकारी लामिछानेले भन्नुभयो ‘अब केही योजना बाँकी छन्, तिनीहरु मसान्तसम्म सकिनेछ ।’

पालिकाको चालु तथा पूँजीगत खर्च ८० प्रतिशत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस वर्ष ९५ प्रतिशत काम सक्ने योजना राखेकोमा मसान्तसम्म सबै योजना सक्ने तयारीमा रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा विशेष गरी, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लागयतका क्षेत्रमा काम भएको उहाँको भनाई छ ।

पालिकाले यस वर्ष प्रशासकीय भवन निर्माण गरेको छ । यस्तै, वडा नम्बर ५ को वडा कार्यालय, बोङ्गादोभान, बोङ्खानी–ढोरपाटन सडकको स्तरोन्नती, विष्णु आधार विद्यालय भवन, जनज्योति आधारभूत विद्यालय भयरभुङ्गा, जनजागृति मावि, धनगौ ज्योति मावि तमानको विद्यालय भवन निर्माण भएको उहाँको भनाई छ ।

यसवर्ष नागरिकको पहिलो आवश्यकता र मागलाई सम्बोधन गरि विकास निर्माणका काम भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले पूर्वाधार विकाससँगै यसवर्ष जनचेतना विकास तर्फ पनि गाउँपालिकाले काम गरेको बताउनुभयो ।

‘गाउँपालिकामा विस्तारै विकासको खाका तयार भएको छ, सोही अनुसार विकासले गति लिँदैछ, भौतिक विकास मात्रै भएर हुँदैन, मानविय विकास र चेतनाको विकासको जरुरी छ, त्यसले गर्दा यसवर्ष जनचेतामूलक कामहरु पनि भएका छन्,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘गाउँपालिकाले धेरै काम गर्न त बाँकी छ तर पनि यसवर्ष हामीले बनाएका योजना अन्तिम अवस्थामा छन्, हामीले राखेको लक्ष्य अनुसार पुरा हुने अपेक्षा छ ।’

यसवर्ष शिक्षा, स्वास्थ्य सडक लगायतमा बढी जोड दिएको सुनाउँदै सोही अनुसार काम समेत भएको बताउनुहुन्छ । अध्यक्ष बुढाले कोरोना महामारीका कारण पनि यस वर्ष योजना कम भएको र महामारी नियन्त्रणमा पनि आफूहरुले काम गरेको बताउनुभयो ।

‘यसवर्ष कोरोनाको कारण परिस्थिति अलिक कठिन थियो, तर पनि हामीले बनाएका योजना अनुसार काम ग¥यौ, केही हुँदैछन्, सम्भवतः असार मसान्तसम्म हामीले लक्ष्य पुरा गछौँ,’ उहाँले भन्नुभयो ‘कोरोनाबाट हाम्रो पालिका पनि अछुतो रहन सकेन, विकास निर्माणसँगै यसको नियन्त्रण गर्नु पर्ने थप चूनौति थपियो, यद्यपी सबै योजना सकिनेमा विश्वस्त छौँ ।’

चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकामा २८ करोड, १२ लाख २२ हजार ३५५ रुपैयाको बजेट विनियोजन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *