शिवशरण ज्ञवाली
‘दाई हजूरसँग ल्यापटप होला’ पवन दाईलाई मैले फोनमा सोधें । ‘छ भाइ म राति आठ बजेतिर लिएर आउँछु’ दाईले जवाफ दिनुभयो । ऊ राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबाट डिस्चार्ज भइसकेकी थिई । हामी थप उपचारका दिल्लीको रोहिणी सोम बजारमा कोठा भाडामा लिएर बसेका थियौँ । साँझ दाईले ल्यापटप लिएर आउनुभयो । त्यही ल्यापटपबाट मैले एमफिल थेसिसको काम सुरु गरें ।
शायद दिनबहादुर सरले एउटा सूचना पठाइदिनु भएको थियो । नेपाल खुला विश्वविद्यालयले विद्यार्थीहरुलाई थेसिसका लागि तोकता गरेको र गाइड रोज्न भनेको सूचना जस्तो लाग्छ । नेपाली फन्टको त्यो सूचना मैले मोबाइलमा डाउनलोड गरेर गुगलको फन्ट चेन्जमा गएर नेपालीमा हेरेको थिएँ । दाईले ल्याइदिएको ल्यापटपमा मैले नेपाली फन्ट हेरें । रहेनछ । दाइलाई नेपाली फन्ट किन पो आवश्यक र ? मलाई अहिले जापान बस्ने दीपकजीले एकपटक गुगलबाट प्रीति फन्ट कसरी डाउनलोड गर्ने भनेर सिकाउनुभएको थियो । मैले सोही तरिकाबाट कम्प्युटरमा सो फन्ट डाउनलोड गरेर इन्स्टल गरें अनि थेसिसको काम गर्ने निष्कर्षमा पुगें ।
उसको अवस्था सन्तोषजनक नै थियो । कतिबेला के हुने हो भन्ने त थियो नै । टाउकोको जटिल अप्रेसन थियो । मन मुटु झस्किरहन्थ्यो तापनि काम त गर्नै पथ्र्यो । ऊ हस्पिटल छन्जेल म तनाब बढेर खुब सुत्थे । उसको स्वास्थ्य सुधार उन्मुख भएकाले मेरो तनाब घट्दो थियो । तर मनमा दिल्लीमा आएर खाना पकाउने, भाँडा माझ्ने, कोठा सफा गर्ने जस्ता काम गर्नु परेकोमा दुख लाग्थ्यो । क्यान्डाबाट दाइले ‘अपराध गरेको होइन भाइ, यो चुनौतीलाई हामीले सहजै सामना गर्नुपर्छ, मिनाको स्वास्थ्यका अगाडि हाम्रा अरु कुनै कुरा मूल्यवान् छैनन्’ भन्नुहुन्थ्यो । ‘अपराध गरेको होइन’ भन्ने भनाइ त मैले अन्तिमसम्म पनि आफूलाई बलियो बनाउने हतियारका लागि प्रयोग गरें । बेलाबेला उसले ‘मैले के पाप गरें र यस्तो भयो’ भन्थी । तर मैले उसलाई दाईको यो भनाइका साथ उपेन्द्र देवकोटा, जगदीश घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, विपी कोइराला जस्ता महान् हस्तीहरुले पनि सोही रोगको सामना गरेको कथा सुनाउँथे । श्रीमद् भागवतको परीक्षित राजाको कथा त उसलाई मैले धेरैपटक सुनाएँ । तापनि म बलियो नभइ सुख थिएन । शायद प्रकाश ज्वाई र धनपति ज्वाई दुवै फर्किसक्नुभएको थियो । ससुरालीबाट दाइ पुग्नुभएको थियो क्यार ! त्यसपछि म अलि फुर्सदिलो पनि भएको थिएँ किनकी ज्वाईहरुं होउन्जेल खाना ज्वाईहरुले पकाए पनि भाँडा म माझ्थे तर दाइ गए पछि खाना पकाउने भाँडा माझ्ने दुवै काम दाइले गर्न थाल्नुभएको थियो । अनि मैले थेसिसतिर ध्यान दिन थाले । खै के आन्तरिक प्रेरणा जाग्यो, काम त निरन्तर गर्नैपर्छ भन्ने लाग्यो । त्यसैले म थेसिसमा लतारिएँ ।
मलाई थेसिस गर्ने रुचि अर्कै विषयमा थियो । नेपालमा अङ्ग्रेजी भाषालाई आजकाल माध्यमका रुपमा अपनाउन थालिएको छ । शिक्षकलाई नोट लेखेर नेपालीमा लेखिएका कुराहरु शिक्षकहरुले बच्चाका लागि भने अङ्ग्रेजीमा पढाउँछन् । तसर्थ अङ्ग्रेजीलाई माध्यम वा विषय कुन रुपमा पढाउने ? कुन उमेर समूहबाट अङ्ग्रेजी माध्यम सुरु गर्ने ? यी र यस्तै प्रश्नहरु मेरो मनमा धेरै अगिबाट खेलिरहेका थिए । दुई चारवटा लेखहरु र क्याम्पसमा आन्तरिक रुपमा छलफल पनि हामी यो विषयमा गरिरहन्थ्यौँ । कुनै पाठ्यक्रम छैन तर पब्लिकेसनले पुस्तकहरु प्रकाशन गर्छ, तिनै पुस्तकहरु लगाएर हामी अङ्ग्रेजी मिडियममा अध्ययन अध्यापन गराउँछाँै । पाठ्यक्रमको निर्माणको कुनै पनि प्रक्रियामा ती कलिला बालबालिकाको पाठ्यपुस्तकहरु पर्नु नपर्ने ? परीक्षण नै गर्नु नपर्ने ? पाठ्यक्रम नै नचाहिने ? गैरकानुनी कक्षामा गैरकानुननी किताबबाट नेपालीहरुको भविष्य कोरिदै गरेकोप्रति मलाई अध्ययन गर्न मन थियो । सरकारी स्कुलको पनि अवस्था यही छ । निशुल्क शिक्षा कागजमा सीमित छ । गरिब बालबालिकाका लागि नेपालका कुनै पनि शैक्षिक संस्थाका ढोकाहरु खुल्ला छैनन् । यसो शिक्षातिरका प्राध्यापकहरुका कुरा सुन्छु, पृथ्वीकालिन कविहरुको याद आउँछ ! अन्यत्रका प्राध्यापकहरुको कुरा सुन्छु उहाँहरु मानक र गैरमानकको अल्झोमा भुलिरहनुभएको छ । तर नेपाली भाषाको जरो यसरी काटिएको छ कि नेपाली संस्कृति, भेषभुषा मात्रै नभएर नेपाली बसोबास नै समाप्त हुने दिशामा पुगेको महसुस हुन्छ । डाक्टर मोहम्मद मोसिनको शैक्षिक राजनीति बदल्ने शक्ति कुनै पनि क्रान्तिले भेटाउन नसकेकोमा चिन्ता लाग्थ्यो । यिनै विषयको कुनै एक शीर्षकमा अध्ययन गरुला भन्ने मन थियो तर मनको धोको मनमै रह्यो ।
दोस्रो सेमेष्टरमा विश्वविद्यालयले स्वायत्त अध्ययन पढाएको थियो । त्यसको लागि एक प्रपोजल तयार गरेको थिएँ । ताराकान्त पाण्डे सरलाई पोखरामा एकचोटि त्यो प्रस्ताव देखाएको थिएँ । सरले दिएको सुझावलाई जानेसम्म समेटेर मैले त्यो प्रस्ताव मेरो स्वायत्त अध्ययनका लागि पेश गरेको थिएँ । अन्ततः म पवन दाईले ल्याइदिएको कम्प्युटरमा त्यही प्रस्ताव डाउनलोड गरें अनि म त्यसमै थेसिस गर्ने निधोमा पुगें । विद्यार्थीलाई दुई जना गाइडको नाम रोज्न भनिएको थियो तर मैले दिनबहादुर सरलाई मात्रै रोजेर नाम पठाएँ । अनि दिल्लीबाट बागलुङको पत्रकारितालाई लैङ्गिक कोणबाट अध्ययन गर्ने निष्कर्षमा म पुगे । अब अरु झन्झटतिर लाग्ने फुर्सद मलाई थिएन । अध्ययन अध्यापन प्राथमिकतामा थिएन । उसको स्वास्थ्य नै महत्वपूर्ण कुरा थियो । पछि हामी कृष्ण दाइको कोठामा स¥यौँ । त्यसपछि भने घरायसी वातावरण प्राप्त भयो । पवन दाइ, राजु दाइ, बुबाआमा, मामा माइजु आइ रहनुहुन्थ्यो । उसलाई ढाडस दिन कृष्ण दाई भए कोही चाहिदैनथ्यो । पवन दाइले पनि ऊ आतिएको चाल पाउनुभयो भने मलाई कृष्ण दाइ हुनुहुन्न र भन्नुहुन्थ्यो । त्यो वातावरणमा नै मैले दिल्लीबाट मेरो थेसिसको प्रारम्भिक काम सुरु गरें । बसाइको क्रममा एकदिन हामी गाजियावाद गयौँ । बुबाआमा हुनुुहुन्थ्यो त्यहाँ । राजु दाई भाउजु र छोरासँग पनि भेटघाट गर्ने मनसान थियो । राजेन्द्र अंकल र म त्यहाँ पुगेका थियौँ । दाइ र उसलाई मामाकोमा छाडेर हामी त्यहाँ गएका थियौँ । त्यसै दिन कुनै सूचना आएछ कि कुन्नि ? त्यहाँ मैले राजु दाइसँग कम्प्युटर मागेर एक सूचना हेरें जस्तो लाग्छ ।
माघतिर दोस्रोपटक हामी दिल्ली पुग्यौँ । मोत्राका ठूल्दाइले हामीलाई बोलाउनुभएको थियो । दाइ करिबकरिब मेरा बाको उमेरको हुनुहुन्छ । अरु दाइहरुसँग सानैदेखि हेलमेल भए पनि उहाँसँग भने निकै पछि चिनापर्ची भएको थियो । दाइले गुरुका छोराबुहारी भन्दै हामीलाई लिदैं हिड्नुभएको थियो । दाइकोमा जानभन्दा अगाडि हामीले भारु सत्र अठार हजारको औषधी किन्यौँ । त्यसपछि हस्पिटल नजिकैको चोकको खुल्ला ठाउँमा विरयानी खायौँ । ज्वाईंले र उसले मटन खाए भने मैले भेज खाएँ । अनि हामी मेट्रो चढ्यौँ । मेट्रोमा उसको अनेक भावभङ्गिका तस्वीर ज्वाईले खिचिदिनुभयो । शायद चालिस पचास किलोमिटर अगाडि पुगेपछि ज्वाईंले औषधी विरयानी खाएको ठाउँमा बिर्सिएको कुरा थाहा भयो । अनि ज्वाईं अर्को मेट्रोबाट फर्किनुभयो । ज्वाईले हामीलाई कुर्न लगाएको ठाउँबाट अर्कोतिर गएर हामी जान्ने भई मेट्रो चढ्यौँ । तर त्यो मेट्रो त आइटिओ जाँदो रहेनछ । अन्ततः हामी फेरि पुरानै ठाउँमा आएर ज्वाईको प्रतिक्षा ग¥यौँ । ज्वाईंले कसैसँग फोन मागेर औषधी पाएको र आफू आउँदै गरेको जानकारी गराउनुभयो । पछि ज्वाईं आए पछि आइटिओ जाने मेट्रो चढ्न हामी शायद सात आठ तला अन्डरग्राउन्ड गयौँ । अचम्म लाग्यो विकासको चमत्कार हेर्दा ! आइटिओ दाइकोमा गएर हामी खाजा खाएर उसलाई छाडी पुस्तक बजारतिर लाग्यौँ । पुस्तक बजारमा मैले क्याम्पसका लागि केही पुस्तकहरु किने । केही लैङ्गिकतासम्बन्धी किताब पनि किने ।
दिल्लीबाट फर्केपछि म बागलुङ गएँ । त्यहाँ गएका बेला प्रपोजलमा नपुग कुराहरु थपथाप गरे । घरमा बिरामी भएकाले बेलाबेला म घर आइरहनुपथ्र्यो । घर आएका बेला शायद प्रपोजलको भाइवा डिफेन्स गर्ने कुरा भएछ कि ! अनि म गणेश भाइसँग कुरा गरेर मैले पढेको स्कुल ईश्वरी मावि पुगे । गणेशले मलाई प्राविधिक कुरामा सघाए । दिनबहादुर सर क्याम्पसबाट अनलाइन आउनुभयो । नेपाल खुला विश्वविद्यालयबाट तिलक सर लगायत अरु सरुहरु पनि आउनुभयो । रमेश सर, रजनी मेडम पनि जोडिनुभएको थियो क्यारे ! भाइवा दिन केन्द्रमै आउनुभएका केही साथीहरु पनि हुनुहुन्थ्यो होला । त्यसको केही दिनपछि म फेरि बागलुङ फर्किएँ । इटालीतिर कोरानाले आंतक मच्चाउन थालिसकेको थियो । म काम सुरु गर्नुपर्ला भन्दै थिएँ तर चैतको आठदेखि देशव्यापी लकडाउन भयो । अनि म हंस सरसँग बाइक मागेर घर फर्किएँ । अरुलााई जस्तै मलाई पनि केही दिन त होला भन्ने लाग्यो । एक दिन दुई दिन गर्दागर्दै ६÷७ महिला बिते । मेरो थेसिसको काम ठप्प थियो । घरमा म भागवत पढेर र फिल्म हेरेर दिन बिताउँथे । अल्छी लागे यसो जंगलतिर जान्थे । मैले यो बिचमा शिक्षासँग सम्बन्धित तारे जमिन पर, आइ एम कलाम, चक डस्टर, गीता रानी आदिआदि थुप्रै फिल्म हेरें । नेपालीमा पनि पुराना फिल्मदेखि पछिल्लो फिल्म प्रसाद पनि हेरें । म आफूलाई हराउने एकमात्र माध्यम फिल्म बनाएको थिएँ । त्यसैले म करिबकरिब फिल्मको लतमा फसेको थिएँ । आज पनि मैले फिल्म नियमित जसो नै हेरिरहेको छु ।
दशैंपछि एकपटक म बागलुङ पुगें । त्यहाँ पुग्नभन्दा केही दिन पहिला बल्ल मेरो घैटोमा घाम लागेको थियो । शून्य समय धेरै लामो भइसकेको थियो । नेटमा खोजेर मैले थेसिससम्बन्धी काम थालेको थिएँ । अलिकति सैद्धान्तिक कुरा लेखेको थिएँ । एकाध लेखहरु पनि लेखेको थिएँ । बिस्तारै क्याम्पस सुरु भएपछि मेरो थेसिसले पनि गति लिन थालेको थिएँ । दिन सरको सल्लाह अनुसार प्रेम छोटाको पुस्तकलाई नमूनाका रुपमा लिएर काम अगाडि बढाएको थिएँ । भूपाल सर र पार्वती मेडमको सहयोग अतुलनीय थियो । पार्वती मेडमले त मेरा कपडा पनि धोइदिनु भएको छ । खाना त मैले सधै नै उहाँकोमा नै खाएँ । म थेसिसमा धोत्लिइरहेका बेला मेडमले खान बोलाउनुहुन्थ्यो । म काम चाँडै नै सक्ने प्रयासमा थिएँ । तिलक सरले एकपटक बाको मोबाइलमा फोन गरेर मलाई थेसिस समयमा सक्ने बारेमा सचेत गराउनुभएकै थियो । यत्रो तनावका बीच पनि पढ्न सक्ने भनेर मलाई हरि शर्मा सर हौस्याइरहनुहुन्थ्यो ।
अचानक माघमा उसको स्वास्थ्यस्थिति बिग्रियो । सब छाडेर म काठमाडौँतिर लागें । काठमाडौँबाट दिल्ली हुँदै म काठमाडौँ फर्किएको थिएँ । उसको अवस्था दिनप्रतिदिन जटिल हुँदै गइरहेको थियो । वीर अस्पताल र कोठाको चक्कर काटिरहेका थियौँ । भाउजू बहिनी, ज्वाइहरु र मैले उसको स्याहार सुधार गरिरहेका थियौँ । अवस्था पटक्कै सजिलो थिएन । तापनि लतारिनै परेको थियो । स्याहार सुधार गर्ने चार पाँच जना जतिबेला पनि भएकाले त्यस्तो व्यस्तता भने थिएन । त्यही बेला भूपाल सरले आफू काठमाडौँ आउन लागेकोले केही ल्याइदिनुपर्छ कि भन्नुभयो । मैले उहाँसँग थेसिसको लागि किताब र ल्यापटप मगाएँ । उसले पनि मलाई बिस्ताराबाट बारम्बार हौस्याउँथी । उसको सपना मेरो पिएचडी र प्रोफेसर थियो । ऊ सुतेकै बिस्तारको एक छेउमा बसेर म थेसिसको काम गर्थे । मलाई मेरो जिन्दगी सामना नगरी नहुने दुर्घटनाको सम्मुखमा छ भन्ने कुरा थाहा थियो । त्यसकारण काम छिटो सक्न मलाई हतार थियो । ज्वाईंले बारम्बार ‘दाइ तपाईंले सक्नुपर्ने काम सकिहाल्नुस् भाउजूसँग हामी छौँ’ भन्नुहुन्थयो । बहिनी मेरो छेउमा बसेर टोलाइरहन्थी । भाउजूले मैले त्यतिकै छाडेर हिडेका मेरो ल्यापटप र किताब बारम्बार स्याहार गरेर थन्काइ दिनु हुन्थ्यो । नन्दको स्याहार सुसारको अग्नि परीक्षामा खरो उत्रिनुभएकी भाउजूले मेरा सरसामानको पनि ख्याल गर्नुहुन्थ्यो भने मेरो समेत देखभाल गर्नुहुन्थ्यो । आधा घन्टा सम्पर्क बाहिर भए भाउजू फोन गरि हाल्नु हुन्थ्यो ।
दुर्भाग्यको कुरा म थेसिसको अन्त्यतिर आउँदा दिन सर र मेडमलाई पुत्रशोक प¥यो । प्रेमको असमायिक निधनले म पनि दुई तिन दिन डिस्टर्व भएँ । संसार डुबे पनि मेरो काम सक्नै पर्ने थियो । त्यसैले मैले पीडालाई पन्छाएर रातदिन काम गरिरहन्थे । भान्जा सङ्केत र भान्जी कृतिले पनि मेरा सामानहरु कुनै दिन छोइदिएनन् । साना सक्षमलाई त ¥याप शैलीमा कविता पढिदिनै पथ्र्यो । यस्तै तनाबका बाबजुद मैले थेसिसको काम सकेर दिन सरको मेलमा पठाइदिएँ । त्यसको केही दिनमा उसको मृत्युको सामना गर्नुप¥यो ।
अन्य तमाम सहपाठी साथीहरु, आदरणीय गुरुहरु, सहकर्मी मित्रहरुले मलाई थेसिसको क्रममा सघाउनु भएको छ । थेसिसमा सबैलाई धन्यवाद दिन नसकुँला तर सम्झनामा आउनुभएका र नआउनु भएका सबैलाई म हार्दिक आभार व्यक्त गर्दै यो सम्झना बिर्सनालाई बिट मार्दछु ।