अब जैमिनीका सबै वडामा कृषि र पशु प्राबिधिक

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको जैमिनी नगरपालिकाले कृषि तथा पशुपालनबाट समृद्ध पालिका निर्माण गर्न सकिने ठहर गर्दै योजना कार्यक्रम तय गरेको छ । गत वर्ष ‘एक वडा, एक प्राबिधिक’ कार्यक्रम ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षमा त्यसलाई थप प्रभावकारी बनाउने भएको छ ।

यसअघि एक वडामा, एक प्राबिधिक राखेकोमा अब कृषि र पशुपालनका लागि छुट्टाछुट्टै प्राबिधिक राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले अब सबै वडामा एक जना कृषि र एक जना पशु प्राबिधिक राख्नेछ । कृषि र पशुपालमा उर्वर रहेको जैमिनीमा प्रर्याप्त दक्ष जनशक्ति नहुँदा कृषकहरुले समस्या भोगिरहेको अवस्थामा नगरपालिकाले ‘एक वडा, एक प्राबिधिक’ कार्यक्रम ल्याएपछि कृषकहरु उत्साहित भएका छन् ।

नगरपालिकाका सबै वडामा पुशपालन तथा कृषि क्षेत्रमा लगानी गर्दै आएको नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । उहाँले यस अघि १० वटामा कृषि प्राबिधिक ५ जना र पशु प्राबिधिक ५ जना रहेकोमा अब एकै पालिकामा पशु र कृषिका छुट्टाछुट्टै प्राबिधिक राखेर कृषकलाई सहायता दिने बताउनुहुन्छ ।

‘यसअघि पनि सबै वडामा प्राबिधिकहरु त हुनुहुन्थ्यो, तर कृषिको भएकोमा पशु र पशु भएकोमा कृषि प्राबिधिक थिएनन्, जसले गर्दा किसानहरुलाई सहज रुपमा सेवा प्रवाहमा जटिलता पैदा भइरहेको थियो,’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘अब सबै वडाहरुमा कृषि र पशु दुबैका प्राबिधिक रहनेछन् ।’

नगर प्रमुख पौडेलले नगरपालिकाका सबै वडा पशुपालन र कृषिका लागि सम्भावना बोकेको र धेरै नागरिकहरु यसैमा निर्भर भएकाले प्राबिधिक राख्न अपरिहार्य भएको बताउनुहुन्छ ।

‘हाम्रो पालिकाका अधिकांश जनताहरु कृषि र पशुपालनमै सक्रिय छन्, दक्ष जनशक्तिको अभावमा उहाँहरुले चाहे अनुसारको प्रतिफल प्राप्त गर्नु सक्नु भएको छैन,’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘उनीहरुलाई समय–समयमा ठूलो समस्या आइ पर्ने गरेको छ, त्यसबाट क्षति समेत बेहोर्नु परेको छ, यसैलाई मध्यनजर गरि हामीले ‘एक वडा, एक प्राबिधिक’ कार्यक्रमलाई थप प्रभावकारी बनाउन ल्याएका हौँ ।’

यो कार्यक्रमले कृषि तथा पशुपालनमा आबद्ध हुदै आएका कृषकहरुलाई ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसले किसानहरुको आयआर्जनमा समेत टेवा पुग्ने र जैमिनीबासीलाई कृषि र पशुपालनमा लाग्न थप प्रेरित गर्ने नगरपालिकाले जनाएको छ ।

जैमिनीमा अघिल्लो वर्षबाट नगर प्रमुख कृषि परियोजना र नगर प्रमुख पशुपालन परियोजना संचालनमा आएको छ । यो कार्यक्रम निकै प्रभावकारी बन्दै समेत नगरपालिकाको दाबी छ । यसबाट धेरै कृषकहरु लाभान्वित भएको भन्दै युवाहरु पनि व्यावसायिक कृषि र पशुपालनमा लाग्न थालेका छन् ।

नगरपालिकाले आगमी वर्षदेखि एक गाँउ, एक उत्पादनका लागि पकेट तथा ब्लक कार्यक्रमलाई प्रदेश र संघीय सरकारको सहयोगमा संचालन गर्ने कार्यक्रम समेत बनाएको छ । नगरपालिकामा कफी, कागती, सुन्तला, अलैंची र मह उत्पालनमा जोड दिइनेछ ।

आगामी वर्ष नगरपालिकाले नगर प्रमुख पशु परियोजना र नगर प्रमुख कृषि परियोजना साथै कृषि पशु आयोजना संचालन गर्ने नीतिलाई परिमार्जन गरि थप मोडेल फर्मको रुपमा विस्तार गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वेसहारा महिला पुरुषलाई जिविकोपार्जनमा टेवा दिनका लागि छोराछोरी वा सासु ससुराको सेवालाई निरन्तरता दिएका श्रीमान् वा श्रीमतीसँग सम्बन्ध विच्छेद भएका, श्रीमान् वा श्रीमतीले अर्को विवाह गरेर अपहेलित हुन पुगेका महिला पुरुषहरुका लागि कृषिसँग आवद्ध गरेर जीविकोपार्जनमा सहयोग गर्नेछ ।

नगरपालिकाले कम्तिमा एक वर्ष बाँझो रहेको कसैको जग्गा कमाउन अर्कोले निवेदन दिएमा व्यक्तिको जग्गाको स्वामित्व यथावत रहने गरी नगरपालिका आफैले बाँझो जग्गा निश्चित समयका लागि लिजमा लिई कमाउन दिने नीति लिएको छ । कृषि, पशु र पर्यटन विकास क्षेत्रको लागि स्नातक गरेका युवाहरुलाई न्युनतम ब्याजमा वित्तीय संस्था मार्फत ऋण स्वरुप रकम उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *