पञ्चकोटमा ‘मिनी ग्रेटवाल’ बन्ने

डम्मर बुढा मगर, बागलुङ
चिनमा रहेको विश्व प्रख्यात ग्रेटवाल जस्तै बागलुङ नगरपालिकाले ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने भएको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ५, ६ र ७ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा यो समावेश गरेको छ ।

पञ्चकोट क्षेत्रमा धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्राउने लक्ष्य राखेर पदमार्ग सहति ‘मिनी ग्रेटवाल’ निर्माण गरिने नगर प्रमुख जकनराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले पञ्चकोटदेखि संसारकोटसम्म निर्माण गर्न थालेको पदमार्गमा ग्रेटवालको स्वरुप दिने ‘मिनी ग्रेटवाल’ निर्माण गरिने नगर प्रमुख पौडेलको भनाई छ ।

नगरपालिकाले मिनी ग्रेटवाल सहित पदमार्ग निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको उहाँको भनाई छ । पौडेलले वालको के कति लम्बाई चौडाई हुन्ने भन्ने विषयमा इन्जिनियरिङ पछि मात्रै थाहा जानकारी दिइने बताउनुभयो । वाल निर्माणका लागि केही समयमै डिपिआर तयार गरि टेन्डर आह्वान गरिने नगर प्रमुख पौडेलको भनाई छ ।

‘पर्यटन प्रवद्र्धनका गर्न हामीले आगामी वर्ष पञ्चकोटदेखि संसारकोटको केही क्षेत्रमा ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने भएका छौँ, यसका लागि आवश्यक बजेट पनि विनियोजन भएको छ, मिनी ग्रेटवालसँगै पदमार्ग समेत निर्माण हुनेछ,’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘पदमार्गको केही भागमा ग्रेटवालको स्वरुप आउने गरि ‘मिनी ग्रेटवाल निर्माण हुनेछ ।’

पञ्चकोट बागलुङको छोटो समयमै स्थापित धार्मिक तथा पर्यटकीय क्षेत्र हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने क्रम बढ्दो छ । तर, अहिले कोरोनाका कारण प्रभावित बनेको छ । शिरमा पञ्चकोट र फेँदमा शालीग्राम संग्राहलयले बागलुङको परिचय र पर्यटन क्षेत्रको गरिमा बढाएको छ ।

नगरपालिकाले ‘मिनी ग्रेटवाल निर्माण गर्न थालेको क्षेत्रमा वन्यजन्तु बासस्थान समेत निर्माण गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । पदमार्ग, वन्यजन्तु बासस्थान र मिनी ग्रेटवालले बाह्य तथा आन्तिरक पर्यटकको आगमनमा वृद्धि हुनुका साथै स्थानीयको जीविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिने नगर प्रमुख पौडेल बताउनुहुन्छ ।

‘पञ्चकोट क्षेत्र आफैमा रमणिय क्षेत्र हो, यसले गर्दा पर्यटहरु त आइराखेका छन्, तर अहिले आइराखेका पर्यटकहरु भन्दा बढी भित्राउने हाम्रो लक्ष्य हो, पर्यटकको वृद्धिसँगै यहाँका स्थानीय र बागलुङवासीको जीविकोपार्जनमा परिवर्तन ल्याउने हाम्रो ध्येय हो,’ उहाँले भन्नुभयो ‘यस क्षेत्रको विकासका लागि गएका वर्षदेखि नै काम भइराखेका छन्, यसवर्ष थप नयाँ काम गर्ने योजना बनाएका हौँ ।’

योसँगै नगरपालिकाले पर्यटकीय स्थलको रुपमा परिचित भकुण्डेको पर्यटन प्रवद्र्धनका लागि भेगन ग्रुपको संस्थागत आगमन, मूलावारी–पाग्जाकोट पर्यटकीय पूर्वाधार निर्माण र अदालत चौपारी–भकुण्डे सडक निर्माणले होम–स्टेको विकाससँगै भकुण्डेको पर्यटकीय महत्वलाई स्थापित गर्ने भएको छ । यस्तै पर्यटकीय स्थलको रुपमा विकास भएका गन्तव्यहरुको विकास र प्रचार–प्रसारमा आवश्यक काम गर्ने नगरपालिकाले जनाएको छ ।

आगामी वर्ष प्रदेश सरकारसँगको सहकार्यमा नगर क्षेत्रमा होम स्टे प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने, पर्यटकीय स्थलसम्म पुग्न पर्यटकीय पदमार्ग निर्माण, नगर सरसफाईको अभियानलाई स्वच्छ, सफा, हरियाली नगर बनाउने नगरपालिकाले नीति कार्यक्रममा प्राथमिकता दिइएको छ । फोहोरमैला व्यस्थापनको क्षेत्र विस्तार गरी नगर विकास कोषसँगको सहकार्यमा आधुनिक फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापना गरिने उल्लेख छ ।

पर्यटकहरुको सहजताका लागि पर्यटकीय स्थलमा पार्किङ व्यवस्थापनको कार्य गरिने, वातावरण संरक्षणका लागि परम्परागत पोखरी र चौपारीको संरक्षण र प्रवद्र्धन गरिने नगर प्रमुख पौडेलको भनाई छ । नगरपालिकाले पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा यात्रा गर्ने, ढोरपाटन शिकार आरक्ष र मुक्तिनाथको जाने बाह्य तथा आन्तरिक पर्यटकलाई बागलुङ भित्राउन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नगर प्रमुख पौडेलले संघीय सरकार, प्रदेश सरकार र नगरको साझेदारीमा पाग्जाकोट–मुलावारी–भकुण्डे पर्यटकीय पूर्वाधार विकास कार्यक्रम, बौडेचोर–कोटघर–बौद्धगुम्बा पर्यटकीय पूर्वाधार, रामरेखामा फनपार्क निर्माण, दावगरा बसपार्कमा जग्गा व्यवस्थापन, पानी ट्याङ्की हटिया–वडा कार्यालय–एयरपोर्टसम्मको सडक कालोपत्रे समेत गरिने बताउनुभयो ।

यस्तै जल्केनी–पैयुँपाटा–अमलाचौर सडक, बुकेनी– वडा नम्बर ९को कार्यालय जोड्ने कालोपत्रे सडक, काठेखोला जलविहार परियोजना, पञ्चकोट–संसारकोट पूर्वाधार विकास, भान्सा–सातखोला–अल्छे सडक, विरेन्द्र ऐश्वर्य पार्क संघ र प्रदेशसँग दोहोरोपन नहुने गरी बहुवर्षीय ठेक्का पट्टा प्रणालीद्वारा सञ्चालनमा ल्याइने बताउनुभयो । यी सडकहरुले पनि जिल्लाका पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्नेछ ।

नगरपालिका भित्र रहेका अधिकांश सडकहरु पर्यटनसँग जोडिएको हुँदा यसको स्तरोन्नती र अन्य पूर्वाधार निर्माणमा पनि नगरपालिकाले जोड दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *