निसीखोलाको नयाँ कार्यक्रमः ‘स्वावलम्बी नारी, समृद्ध घरबारी’

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका करिब एक दशक अगाडिसम्म निकै दुर्गम मानिन्थ्यो । मध्यपहाडी लोकमार्गले पालिकाको वडा नम्बर ७ बाहेक सबै वडालाई छिचोल्दै पूर्वी रुकुमसँग जोडिए पछि भने यस क्षेत्रको पुरै मुहार फेरिएको छ । सडकको सहज सुविधा भए सँगै परम्परागत पेशा व्यावसायमा सम्बद्ध स्थानीय किसानहरु अहिले क्रमशः व्यावसायिक कृषि, पशुपालनमा सक्रिय हुन थालेका छन् ।

यसलाई अझ व्यवस्थित, व्यावसायिक बनाउन स्थानीयको क्षमता अभिवृद्धिसँगै स्वावलम्बी बनाउने उद्देश्यले निसीखोला गाउँपालिकाले ‘स्वावलम्बी नारी, समृद्ध घरबारी’ कार्यक्रम ल्याएको छ ।

महिलाहरुलाई परनिर्भरबाट आत्मनिर्भर गराउने यो नयाँ कार्यक्रमले टेवा पुग्ने भन्दै अब गाउँपालिकाका महिलाहरु आफै उद्यम तथा अन्य व्यवसायमा अग्रसर रहनेछन् । ‘स्वावलम्बी नारी, समृद्ध घरबारी’ कार्यक्रमलाई सार्थक बनाउन गाउँपालिकाले महिलाको नाममा दर्ता गरिएका व्यावसायिक प्रतिष्ठानमा लाग्ने करमा २५ प्रतिशत छुट दिनेछ । महिलाकै नाममा रहेको सम्पत्ती करमा पनि १० प्रतिशत छुटको व्यवस्था गर्ने गाउँपालिकाले नयाँ नीति ल्याएको छ ।

यस कार्यक्रम मार्फत महिलाहरुलाई थप स्वावलम्बी बनाउन प्रयास गरिने गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । अहिले पनि यहाँका महिलाहरु चुलो र चौकोमा सिमित बनेकाले उनीहरुलाई सामाजिक कार्यक्रममा सहभागी गराउनेदेखि आत्मनिर्भर व्यावसायिक बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पौडेलको भनाई छ ।

‘यसवर्ष हामीले महिलाहरुका लागि नयाँ कार्यक्रम तयार गरेका छौँ, यस कार्यक्रम मार्फत महिलाहरुको क्षमता अभिवृद्धि देखि उनीहरुको सबै गतिबिधिलाई समाजसँग जोड्न र समाजमा त्यसको सकरात्मक प्रभाव छोड्नका लागि मद्दत पुग्ने अपेक्षा लिएका छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘अहिले पनि धेरै महिला दिदीबहिनीहरु चुलो चौको र घर धन्दामै तल्लिन हुनुहुन्छ, यसले गर्दा उहाँहरुलाई समाजमा हुने विकास लगायतका गतिविधि थाहा हुँदैन र समाजिक कार्यमा कम सहभागिता जनाउनु हुन्छ, यो प्रवृत्तिलाई फेर्न यो कार्यक्रमले भूमिका खेल्नेछ ।’

निसीखोलाका महिलालाई व्यापार, व्यवसाय र अन्य उद्यमसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको र यस कार्यक्रमले पनि उनीहरुको जीविकोपार्जनमा मद्धत पुग्ने उहाँको भनाई छ । ‘महिलाहरुको पक्षमा हामीले सुरुका वर्षदेखि नै विभिन्न कार्यक्रमहरु ल्याएका छौँ, यसबाट उहाँहरुको व्यक्तित्व विकास र उद्यम तर्फ आकर्षण गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो ‘हाम्रो पालिकका महिलाहरु धेरैजसो कृषि पेशामै भएको हुँदा उहाँहरुलाई थप प्रोहोत्सान र प्रेरणाका लागि हामीले यो कार्यक्रम अघि सारेका हौँ ।’

यस्तै गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यावसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम तथा एक वडा एक कृषि स्रोत केन्द्र सञ्चालन गरिने भएको छ । प्रत्येक वडामा कृषि पकेट क्षेत्र घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग गाउँपालिकाको बिच भाग हुदै गएकोले सडकको दुवै तर्फ २०० मिटर तेस्रो जमिनलाई व्यावसायीक क्षेत्रको रुपमा विकास गर्ने, व्यापार व्यावसाय गर्ने तथा साना ग्रामीण उद्योग संचालन गर्ने २ सय मिटर देखि १ हजार मिटर सम्मको क्षेत्रलाई आवासीय क्षेत्रमा विकास गरी सो भन्दा माथिको क्षेत्रलाई कृषि क्षेत्र कायम गरी कृषि तथा पशुपालन क्षेत्रको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।

वडा वडामा सहकारी, घर–घरमा स्वरोजगारी मुल नाराका साथ स्थानीय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै विकासमा सहकारी संगको साझेदारी सहकार्यमा जोड दिइने छ । कृषि तथा गैर कृषि सहकारी संस्थाहरुको प्रवद्र्धन गरि उत्पादन बढाइने भएको छ ।

अर्गानिक तरकारी, फलफुल, आलु, धान, मकै, फापर, जौँ, खेती व्यावसायिक रुपमा गर्नेलाई कृषि यान्त्रिकीकरण सहित प्रोत्साहन गरिने भएको छ । स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरी स्थानीय गाउँवासीले रोजगारी पाउने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिईने गाउँपालिकाले जनाएको छ । प्लाष्टिक टनेलमा बेमौसमी तरकारी खेति गर्ने कृषकलाई ५० प्रतिशत अनुदान उपलव्ध गराइने गाउँपालिकाको नीति कार्यक्रममा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *