आत्मनिर्भर बन्न सघाउँदै घरेलु

साधना पन्त, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर–१ निवासी अमृता राना छन्त्याल अहिले पनि घरेलु उद्यममा व्यस्त हुनुहुन्छ । घरको काम सक्न साथ ढाकाको साडी बुन्ने उहाँको दैनिकी जस्तो बनेको छ । ‘ढाकाको साडी, सल, कुर्था बुनेर बिक्रीबाट राम्रै आम्दानी हुन्छ, माग पनि राम्रै भएकाले घरमै बसेर ढाकाका लुगा बुन्ने काममा लागिरहेको छु,’ छन्त्यालले भन्नुभयो, ‘दुई महिने ढाका बुनाई तालिम घरेलु कार्यालयबाट लिएकाले निकै सहज भएको छ ।’

पहिले पनि ढाकाको सलहरु बुन्ने गरे पनि ढाकाका सल बुन्दा त्यति राम्रो नभएको र तालिम पश्चात राम्रो बनाउने सिप प्राप्त भएको उहाँको भनाई छ । घरेलुबाट प्राप्त तालिम र सिपले आत्मनिर्भर बन्न सिकाएको उहाँले बताउनुभयो ।

घरेलुले घरको भान्सामा मात्र सिमीत हुने महिला दिदीबहिनीलाई सिप सिकाउने मात्र नभएर ढाकाको सल, साडी बुन्नका लागी तान समेत दिएको छ । महिनाको २ वटा साडी बुन्ने गर्नुभएका छन्त्यालले महिनाको १५ हजार जति आम्दानी हुने गरेको बताउनुहुन्छ । यसले घर खर्चमा सघाउ पुगेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आर्थिक वर्ष ०७७/०७८ मा ३ सय ४५ जनालाई उद्यमशीलता र सिपमुलक तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो । महिला दिदी बहिनी र कोरोना महामारीले गर्दा बैदेशिक रोजगारबाट फिर्ता आएका युवाहरुलाई उद्यमशिलता र सिपमुलक तालिम संचालन गरेको उहाँले बताउनुभयो । घरको कामकाज सकेर फुर्सदको समयलाई सदुप्रयोग गर्नका लागि महिला दिदी बहिनीलाई ढाका बुनाई तालिम, सिलाई बुनाई तालिम, कारागारमा बस्ने महिलाहरुका लागि कृष्टल ब्याग तालिम, बैदेशिक रोजगारबाट फर्किएका दाजुभाइलाई मोबाईल, टिभी मर्मत, व्यावसायिक तरकारी तथा च्याउ खेती जस्ता तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

३४ लाखको बजेटमा १ सय ३० जना महिलालाई उद्यमशिलता विकास तालिम, २ सय १५ जनालाई सिप विकास तालिम दिए संगै ६ जना महिलालाई ढाका बुन्ने तान, ३ जना महिलालाई सिलाई बुनाईकोे मेसिन, १ जना पुरुषलाई काठ चिर्ने मेसिन, १ जना पुरुषलाई ग्रोन्डर मेसिन र ३ जना लाई थोपा सिचाई, मसरुम चेम्बर, माहुरी घार र मह दानी हस्तान्तरण गरेको शर्माले बताउनु भयो । उहाँले सिप मात्र सिकेर नहुने भएकाले व्यवसाय प्रवद्र्धनका लागि अत्याधुनिक उपकरणहरुको आवश्यक हुने र तालिम दिएका सहभागीलाई उपकरण वितरण गरिने बताउनुभयो ।

आर्थिक वर्षमा बागलुङका विभिन्न पालिकामा गएर मानिसहरुलाई सिपमूलक तालिम दिएको भन्दै परम्परागत र हस्तकला सिप भएका महिलालाई र कोरोना महामारीबाट प्रभावित भएर बैदेशिक रोजगारबाट फिर्ता आएकालाई प्राथमिकता दिएको शर्माको भनाई छ । उद्यमशिलता तालिम दिइएका ६ जना महिला दिदीबहिनीले आफ्नै ढाकाको उद्योग दर्ता गरेको उहाँले बताउनुभयो । तालिमबाट सिकेको सिपलाई व्यावसायिकरण गर्नु पर्ने भन्दै घरेलुले समय समयमा फ्लोअप समेत गर्ने गरेको कार्यालय प्रमुख शर्मा बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *