लकडाउनमा खुकुलोपन र सम्भावित संक्रमणको खतरा

सम्पादकीय
कोरोनाको दोस्रो भेरियन्टको प्रभाव अझै कायम छ । तेस्रो भेरियन्ट आउने खबर आइसकेको छ । कोभिड १९ को देशव्यापी संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि अधिक जिल्लामा लकडाउन कायमै छ । भलै आर्थिक वर्ष सकिने चटारो र राज्यले राजश्व संकलन गर्नै पर्ने बाध्यताका कारण लकडाउन निषेधाज्ञा गत वैशाख १६ गतेदेखि सरकारले खुकुलो बनाएको छ । राजधानी काठमाण्डौं सहित मुख्य शहरहरुमा धेरै खुल्ला गरिसकिएको छ । अधिकांश जिल्ला तहमा पनि लकडाउनलाई लुज डाउनमा रुपान्तरित गरिएको छ । क्रमशः बजारहरु खुल्ने क्रममा छन् । संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दा दैनिक करिब ९ हजारको हाराहारीमा संक्रमित थिए । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएपछि दैनिक संक्रमितको संख्या २२/२३ सयको हाराहारीमा देखिएको छ । कोरोना संक्रमण दर हेर्ने हो भने त्यतिधेरै सुखद अवस्था देखिदैन ।

अहिले कोरोना संक्रमणको दरलाई प्रतिशतमा हेर्ने हो भने स्वास्थ्य मन्त्रालयका अनुसार हाल संक्रमण दर १९.१ प्रतिशत छ । कोरोना संक्रमणको दर अझै करिब २० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम उच्च छ । विगत एक महिनादेखि कोरोना संक्रमण दर २० देखि ३० प्रतिशतको आसपास कायम रहँदा यो अवस्थामा पुग्नुमा धेरै हद सम्म लकडाउनकै कारण हो । यसमा अझै जोखिमपूर्ण के देखिएको छ भने देशभरको संक्रमित संख्यामा स्थिरता देखिन्न । अर्को तर्फ पछिल्लो समय पीसीआर परीक्षण पनि कम हुँदै गएको छ । बागलुङकै अवस्था हेर्ने हो भने पनि १ हजार बढीको सक्रिय संक्रमित संख्या अहिले ३ सय हाराहारीमा त आएको छ । तर, यो संख्यामा बेला बेलामा उल्लेख्य रुपमा बृद्धि हुने गरेको मात्रै छैन । तमानखोला जस्ता दुर्गम पालिकाहरुमा स्वास्थ्यकर्मी सहित ठूलो संख्यामा संक्रमण फैलिरहेको छ । र पालिकाको मुख्य केन्द्र नै सिल गर्नुपर्ने अवस्था सिर्जित छ ।

कोरोनाको अहिले घट्दो क्रममा छ । तर अझै रोकथाम, नियन्त्रण भएको भनेर ढुक्क हुने अवस्था छैन । सम्भावित तेस्रो भेरियन्टबारे पनि चनाखो हुनुपर्ने अवस्था छ । अझै गाउँ गाउँमा र सहरमै समेत कोरोना संक्रमित भएर पनि रोग लुकाएर बस्ने र जटिल भए मात्रै अस्पताल जाने प्रवृत्ति देखिन्छ । जसका कारण कतिको ज्यान समेत गएको छ । कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि अचुक उपाय भन्दै लकडाउन निषेधाज्ञा गरिएको पनि करिब दुई महिना हुन लागिसक्यो । नेपाल जस्तो देशमा यतिका लामो अवधि घर भित्रै कैद भएर दैनिक जीविका चलाउनु निकै कठिन कुरा हो । अब लकडाउन खुकुलो बनाउनु जरुरी भए पनि सरकार र सरोकारवालाको भूमिका प्रभावकारी देखिनु पर्दछ । नागरिक स्वयम् पनि कोरोनाबाट बच्न र बचाउन यथेष्ट सचेतता अपनाउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *