बागलुङमा ६६ घर उच्च जोखिममा


डम्मर बुढा मगर, बागलुङ

निरन्तरको वर्षाका कारण बागलुङ पछिल्लो दुई महिनाको अवधीमा ६६ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका वडा नम्बर २ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।

वर्षातको सुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी घर परिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीको आश्रय लिएर बसेका छन् । बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो ठूलो क्षति पु¥याएको छ ।

पहिरोमा २५ घर र ३ गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । निरन्तर वर्षाका कारण मानवीय क्षति हुने सम्भावना बढे पछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाई छ । बाढी पहिरोबाट यस अवधीमा डेढ करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

असार पहिलो साता नै बागलुङ नगरपालिका वडा नम्बर ७ पैरावारीमा घर माथिबाट झरेको पहिरोले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैसी पुरिएर मरेको छ ।

सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परे पछि परिवार विस्थापित भएको हवारीको भनाई छ । वर्षातका कारण बागलुङ नगरपालिका वडा नम्बर ४ स्थित नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको २ तले पक्की घर, माया जिसी कच्ची घर पहिरोको घर उच्च जोखिममा परेपछि विस्थापित भएको थियो । बागलुङ नगरपालिका वडा नम्बर १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडी र पछाडीबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो । बरेङ गाउँपालिका वडा नम्बर १ भ्युडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उनको परिवार पनि विस्थापित बनेको छ ।

त्यसैगरी गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाकी स्थानीय चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ । घर जोखिममा परेपछि उहाँको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाई छ ।

जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाको कारण जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ८ घर र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

वर्षाको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको छ । पहिरोको कारण तीन घर परिवारले आफन्तकोमा आश्रय लिएका छन् भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाई नै सरेको गिरीले बताउनुभयो । पहिरोको कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दिपक शर्माको परिवार आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् ।

असार पहिलो साता नै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन् । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानी सम्मको सडकमा माथिबाट खसेको पहिरोको सडक माथि र सडक मुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय मिनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको धुल्लुबास्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । धुल्लुबास्कोटको भिउँ डाँडामा ३ घर, लुगरुङमा ४ घर, थापाथरमा ३ घरगोठ, उर्लेनिमा ३ घर र धुल्लुबास्कोट मिलन चोकमा १ घर पहिरोको उच्च जोखिममा छ ।

वडा नम्बर २ को हुग्दीशिरमा ३ घर र वडा नम्बर ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाई छ । त्यस्तै जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा पनि ९ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *