गलकोटमा अब १५ शैयाको नगर अस्पताल

–हरिचौरमा सुविधा सम्पन्न भवन तयार

खेमराज गौतम

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण गरिएको छ ।

गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ ।
गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा २०७३ सालमा निर्माण कार्य सुरु गरिएको सुविधा सम्पन्न भवन तयार भएको गलकोट प्राथमिक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका–५ का वडा अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउन गलकोट नगरपालिकाले सबै तयारी पुरा गरेको र स्वास्थ्य मन्त्रालयले स्विकृत मात्रै गर्न बाँकी रहेको उहाँको भनाई छ ।

“अहिले प्राथमिक स्वास्थ्य केन्द्रकै हिसावले सेवा दिइरहेका छौं तर नगर अस्पताल निर्माणका लागि जग्गा र भवन लगभग हामीलाई पुग्छ, सरकारको पनि एक स्थानीय तह एक अस्पतालको नीति छ” मल्लले भन्नुभयो “जिल्लाको गलकोट नगरपालिका सहित ताराखोलाका स्थानीयलाई समेत नगर अस्पताल निर्माण पछि सहज हुनेछ ।” अहिले केन्द्रमा निकै पुरानो जीर्ण भवन मात्रै रहेकाले सेवा दिन समस्या भइरहेको छ । अब सुविधा सम्पन्न भवन थपिएको र हस्तान्तरण हुँन बाँकी भए पनि उपभोग गर्न मिल्ने सहमति भएको मल्लले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको समयमा कोरोना अस्पतालको रुपमा समेत रहेको स्वास्थ्य केन्द्रले ६४ जना संक्रमणका बिरामीलाई भर्ना गरी उपचार गरिसकेको छ । तर, भवन नहुँदा आँखा अस्पतालको भवनबाट उपचार सेवा प्रदान गर्नुपर्ने बाध्यता अब सुविधा सम्पन्न भवन प्रयोगमा ल्याए सँगै अन्त्य हुने हुने स्वास्थय केन्द्र तथा प्रस्तावित नगर अस्पतालका डा. निक्सन डंगोलले जानकारी दिनुभयो ।

“कोरोना महामारीमा भवन अभावमा आँखा अस्पतालको भवनबाट संक्रमितलाई सेवा दिएका थियौं, अहिले त अस्पतालमा कोरोना संक्रमित भर्ना हुनुभएको छैन” डा. डंगोलले भन्नुभयो “अस्पताल भवन तयार भएको छ, अब सहज होला, तर नगर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति थप गर्नुपर्ने छ, जसका लागि नगरपालिकाले सबै कागजात मन्त्रालय र विभागमा पठाई सकेको छ, स्विकृत भएर आएमा जिल्लाकै पहिलो नगर अस्पताल यही हुनेछ ।”

२०७३ साल मंसिरमा दुई वर्षमा सक्ने गरी अमिट विल्डर्सले निर्माण थालेको उक्त भवन तीन वर्ष ढिलो गरी सम्पन्न भएको वडा अध्यक्ष मल्लले जानकारी दिनुभयो । उक्त भवन पाँच करोड ४५ लाखको लागतमा निर्माण भएको हो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र ८ शैयाको भए पनि भवन निर्माण पछि १० शैयामा सञ्चालन आउने छ । नगर अस्पताल स्विकृत भएमा १५ शैयामा सेवा दिनेछ । अस्पतालको भवन बने पनि अस्पतालका लागि उपकरण तथा फर्निचरको काम भने बाँकी रहेको छ । गलकोट नगरपालिकाले इर्मजेन्सी सेवामा उपकरण तथा सेवा थप र जेनेटर खरिदका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तो विषम परिस्थितिमा भवन समयमा नबन्दा उपचारमा समस्या भएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । अहिले सेवा दिन मिल्ने गरी भवन प्रयोग गर्ने तयारी छ । नगर अस्पतालमा प्राथमिक स्वास्थ्य केन्द्रका लागि तोकिएकै दरबन्दी छ । दरबन्दी बढाउन समेत पहल भइरहेको छ । अहिले केन्द्रमा दरबन्दीको डाक्टर नभएको अवस्था छ । अहिले दुई जना डाक्टर भए पनि दुवै करारमा छन् । केन्द्रमा एक मेडिकल अधिकृत, एक स्टाफ नर्स, तीन जना अनमी, तीन जना अहेव र एक कार्यालय सहयोगीको मात्रै दरबन्दी छ ।

गलकोट नगर अस्पतालको रुपमा सेवा दिनका लागि भवन प्रयाप्त भए पनि दरबन्दी र उपकरण थप गर्न नगरपालिकाले पहल गरिरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *