स्वास्थ्य टिप्सः गर्मी महिनामा कसरी स्वस्थ रहने ?

सरोज के.सी
हेल्थ असिष्टेन्ट
धौलागिरी अस्पताल, बागलुङ

गर्मी महिना सुरु भएसंगै मानिसहरुले स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसममा तापक्रम बढी हुन्छ, धुँवा धुलोले मानिसको स्वास्थ्यमा प्रभाव पार्न सक्दछ । गर्मी मौसममा बर्खायाम (झरी) पनि हुने भएकाले स्वास्थ्यमा थप समस्या हुने गर्दछ । यो मौसममा रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड, झाडापाखाला, फुड पोइजन, पेट दुख्ने, डिहाइड्रेसन हुने, भोक नलाग्ने, छाला सम्बन्धी विभिन्न समस्याहरु देखा पर्न सक्दछन् । झन् अहिले त कोरोना महामारीको समय भएका कारणले थप सतर्कता अपनाउनु पर्ने हुन्छ ।

यस्ता खालका समस्याबाट बच्नका लागि हामीहरुले दैनिक खाने खानेकुरा, जीवनशैली, रहनसहनमा ध्यान दिनुपर्ने हुन्छ । सामान्य लाग्ने रोगले ठूलो समस्या ल्याउन सक्ने भएकाले त्यसको समयमै उपचार गर्न जरुरी हुन्छ । अहिले देशभरीनै पानीले समस्या पारेको हुदाँ यो समयमा थप सजगता अपनाउनु पर्ने हुन्छ ।

गर्मी मौसममा दैनिक ३ देखि ५ लिटर सम्मा पानी पिउनु पर्ने हुन्छ । तर, पानी पिउँदा ध्यान दिनुपर्दछ । पानीलाई सधै उमालेर पिउने बानीको विकास गर्नुपर्ने हुन्छ । गर्मी महिनामा धेरै पसिना आउने र तिर्खा लाग्ने भएकाले हामीहरुले धेरै जसो चिसो पानी पिउन रुचाउने गर्दछौ । चिसो पानीले स्वास्थ्यमा असर गर्न सक्ने भएकाले सधै पानी उमाल्ने र चिसो बनाएर खाँदा राम्रो हुन्छ । हामीहरुले गर्मी महिनामा पेय पदार्थहरु जस्तैः कोकाकोला, जुस, लस्सी आदि पिउँने गर्दछौ । यस्ता खालको पेय पदार्थ सकेसम्म पिउनु हुँदैन । पिउनै मन लागेमा सफा र थोरै पिउनु पर्दछ । गर्मी मौसममा सके सम्म मोही, दही, मकै, गोलभेडा, गाजर, काक्रो, खरभुजा खाँदा राम्रो हुन्छ । सिजनल फलफूल, ताजा माछा मासु, हरियो सागपात र गेडागुडी खाँदा स्वास्थ्यलाई राम्रो गर्दछ ।

मानिसहरुले गर्मी मौसम होस् वा जाडो जुनसुकै मौसममा जंक फुड नखाएको राम्रो हुन्छ । जंक फुड स्वास्थ्यको लागी राम्रो हुदैन । अझ बढी गर्मी मौसममा जंक फुडले पेट दुखाउने, झाडापखाला, बान्ता, ज्वरो, टाइफाइड, फुड पोइजन जस्ता समस्या स्वास्थ्यमा आउँछ । हामीले खाने खानेकुरा स्वास्थ्यका लागी स्वस्थकर छ छैन ? भनेर बिचार गरेर मात्र खानु पर्दछ । सरसफाईमा सधै ध्यान दिनुपर्ने हुन्छ । बासी, सडे गलेको, चिल्लो पिरो, बढी मसालेदार खानेकुरा, चिया कफी जस्ता पेय पदार्थ खानु हँुदैन । चुरोट, रक्सी, सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरुलाई गर्मी मौसमा झन् बढी समस्या हुने गर्दछ । गर्मी मौसममा नियमित पानी पर्ने भएकाले हाम्रो घर वरपर सरसफाईको अत्यन्त जरुरी हुन्छ । गर्मी मौसममा डेंगु हुने सम्भावना धेरै हुने भएकाले आफ्नो घर वरपर सधै सरसफाई गर्ने, पानी जम्न नदिने, झारहरु सरसफाई गर्ने र सधै झुलको प्रयोग गरेर मात्र सुत्नु पर्दछ ।
गर्मी मौसममा खानपानको मात्र नभएर हाम्रो शरीरको छालाको पनि ख्याल राख्नु जरुरी हुन्छ । गर्मी मौसममा घामबाट हाम्रो छालालाई बचाउनका लागी सन प्रोटेक्सन क्रिम चिकित्सकको सल्लाह लिएर प्रयोग गर्न सकिन्छ । घर बाहिर निस्कदा छाताको प्रयोग गर्ने, हात खुट्टालाई राम्रो संग छोपिने गरेर लुगा लगाउने र गर्मी महिनामा सकेसम्म कटनको र सेतो कपडा प्रयोग गर्दा घामबाट बच्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *