शिवशरण ज्ञवाली
एकदिन ऊ प्रहरी कारबाहीमा परिछ । त्यसभन्दा पहिला उसले प्रहरीलाई विभिन्न तरिकाले छल्दी रहिछ । कहिले श्याम सर त कहिले बलरामजीले उसको स्कुटर प्रहरीको चेकिङबाट कटाइदिनुहुँदो रहेछ । त्यसो त त्यतातिर चल्ने सवारी चालकहरुका बीचमा एक खालको सहकार्य पनि हुँदोरहेछ । आउने जानेहरुले प्रहरी चेकिङ छ कि नाइ भनेर सोध्दा रहेछन् । सही सूचना आदानप्रदानको उनीहरुको संयन्त्र प्रहरीको भन्दा बलियो हुँदो रहेछ । यो संयन्त्रलाई उपयोग गर्दागर्दै पनि ऊ प्रहरी चेकिङमा समातिइछ । एक हजारको चिट काटेपछि प्रहरीले छोडिदिएछ । लाइसेन्स नभए पनि एक हजार तिरेपछि चलाउन पाइने सुविधा आम जनस्तरमै छ ।
पैसाको मामलामा म भन्दा ऊ धेरै व्यवाहरिक हो । मैले त एक हजारदेखि दुर्घटना गराएर ९८ हजार तिर्दासम्म पनि लाइसेन्स लिएको थिइन तर उसले एक हजारको कारबाहीबाट नै स्कुटर चलाउन छाडेकी थिई । मैले कैयौँ पटक साथी नबोक्नु भने पनि मलाई उसले टेरेकी थिइन तर त्यो कारबाहीपछि भने उसले स्कुटर नै छाडिदिइ । अनि लाइसेन्सको लागि काठमाडौँ ज्वाइसँग सल्लाह गरिछ । ज्वाइले खुट्टा नटेके कसैलाई नभनीकन र टेकेमा भनसुन गरेर भए पनि लाइसेन्स निकालिदिने चाँजोपाँजो मिलाउनु भएछ । त्यही अनुसार उसको लाइसेन्सको फाराम ज्वाइले नै भरिदिनुभएछ । उनीहरुको आपसी सल्लाह बमोजिम शुक्रबार जाने र लाइसेन्स निकाल्ने कुरा उसले बिहीबार साँझ बताई । शुक्रबार बिहान गएर मैले साझा बसको नाइटको टिकट ल्याइदिएँ । ऊ त्यही नाइट बसमा काठमाडौँ जाने तयारीमा थिई तर अचानक छोरो बिरामी परेपछि त्यो कुरा स्थगित भयो । मैले साँझ गएर टिकट फर्काएँ । आइतबार छोरासमेत लिएर ऊ काठमाडौँ गई ।
बागलुङमा तिन पटक असफल भए पनि काठमाडौँमा भने उसले खुट्टा नटेकीकनै ट्रायल कटाइछ । कुन्नि ? ज्वाइको आडआधारले आत्मविश्वास जागृत भएछ कि ! लाइसेन्स निकालेपछि उसले आफन्तहरु लाई लड्डु बाँडिछ । काम सफल भए पछि ऊ फर्कने तयारीमा थिई तर मैले तिजको बेला भएकाले एक हप्ता काठमाडौँमा बसेर बहिनीहरु सँग रमाइलो गरेर फर्कन आग्रह गरे । सोही बमोजिम ऊ स्कुलमा बिदा हालेर काठमाडौँ बसेकी थिई । ऊ घुम्नकी एकदम सोखिन ! काठमाडौँ गई भने भान्जाभान्जी सबैलाई लिएर ऊ घुम्न जान्थी । उनीहरु एकदिन घुम्न जाने तयारीमा रहेछन् तर उसलाई अचानक नाकबाट सम्फोको जस्तो बास्ना आएछ अनि रिगटा पनि लागेछ । बागलुङमा एकाध पटक यस्तो भएको थियो तर खास समस्या भइसकेको थिएन । त्यस्तो गन्ध आए पछि उनीहरु घुम्न गएनछन् ।
त्यो कुरा मैले थाहा पाए पछि राम्ररी उपचार गरेर मात्रै बागलुङ फर्कन लगाएँ । उपचारका लागि उनीहरु टिचिङ हस्पिटल गएछन् । पेइङको टिकट लिनुभएछ ज्वाइले । साँझ गएर प्राध्यापक डाक्टरसँग भेटेर उनीहरुले चेकअप गरेछन् । ज्वाइले के जानेर माग्नुभयो थाहा भएन ? शायद त्यो एउटा संयोग होला ! दुर्भाग्यपूर्ण संयोग ! उहाँले न्युरोको विशेषज्ञ डाक्टरको टिकट माग्नुभएछ तर काउन्टरवालाले भने फिजिसियनसँग पठाएछन् । यो विषयमा ज्वाइ र ती टिकट काट्नेका बीचमा सवालजवाफ नै भएछ तर टिकट काट्नेका अघि ज्वाइको केही लागेनछ । शायद त्यसदिन न्युरोको डाक्टर भेट्न पाएको भए उसको जीवन अलि लम्बिने थियो होला । फिजिसियनले होलबडी टेस्ट गरेछन् । तर रिपोर्ट सब नर्मल ! गन्ध आउँछ भनिछ, त्यो आफै ठिक हुन्छ भनेछन् । दाहिने खुट्टाको कुर्कुच्चा दुख्छ भनिछ । जुत्तामा फर्म हालेर पठाइदिएछन् । ती ट्युमरका लक्षण रहेछन् भन्ने कुरा हामीले दिल्ली पुगेपछि मात्रै थाहा पायौँ । ब्रेनको दाहिनेतिर टयुमर भएकाले दाहिने खुट्टाको कुर्कुच्चो दुखेको रहेछ । तर त्यत्रो प्राणघातक रोगको पनि डाक्टरले लक्षणबाट कुनै सुँइको पाउन सकेनछन् । ज्वाइले शायद प्राइभेटतिर लानुहुन्थ्यो होला । मलाई नाध्न सक्नुभएन । सही कुरामा जसले जसलाई नाघे पनि हुन्छ तर त्यो निर्णयले तपाईंलाई सन्तुष्टि भने दिनुपर्छ । परिवारमा सही निर्णय लिदा न ठूलो सानो हुन्छ न पैसा भन्ने हुन्छ । तपाईंले ‘रिक्स’ मोल्न आँट चाहि गर्नैपर्छ । परिवार त एउटा गोलो पृथ्वी नै रहेछ जो परिवारका कुनै सदस्यलाई सङ्कट पर्दा मन वचन र कर्मले अङ्गुरको झुप्पो जस्तै हुँदोरहेछ । हामी बहिनी, ज्वाइ, ससुराली, घर सबै मन, वचन र कर्मले त्यस्तै झुप्पो भयौँ । खास डाक्टर त ज्वाइ नै बनिसक्नुभएको रहेछ । खाँचो अनुसन्धानको मात्रै रहेछ ।
हामी सुविधा खोज्दा पनि बिराउँदा रहेछौँ । भीडभाडमै आफ्नो उपचार गर्नुस् । तपाईंको सबैभन्दा ठूलो डाक्टर त तपाईं आफै हो । त्यसपछि भने तपाईको लाइनमा उभिएको साथी पनि हुनसक्छ । चिच्चाएर लाइन मिलाउने सुरक्षा गार्ड पनि हुनसक्छ । त्यहाँ अनुभव बाँडने समय पाउँदा कहिलेकाही तपाईं र साथीहरुले रोग पत्ता लगाउन सक्नुहुन्छ । यो भन्दै गर्दा मैले होम सरलाई सम्झिएको छु । भक्ति सरसँग गरेको कुरा होम सर भएको भए कुरा फरक पर्न सक्थ्यो । उहाँले मलाई अरु कसैको उसको जस्तै लक्षणका बारेमा भन्नुभएको थियो । आम मानिसको बुझाइ कस्तो हुँदोरहेछ भने पैसा भए पछि सबै कुरा हुन्छ । तर त्यस्तो होइन रहेछ । उनीहरु पाँच सय रुपैयाँको पेइङको टिकट नलिएर बिहान लाइनमा लागेर बीस रुपैयाँको टिकट लिएको भए अवस्था फरक पनि हुन सक्थ्यो । खोजेको डाक्टर पनि भेटिन सक्थ्यो । दुख त अलिकति गर्नैपर्छ सही परिणामका लागि । त्यसकारण पैसा र सुविधा मात्रै सबै कुरा रहेनछन् । जीवनमा श्रम ठूलो हो । पसिनाको मूल्य ठूलो रहेछ । रोगका अगाडि धनी गरिब बराबर हुन् । श्रमको आनन्द नै परिणाम हो । चरम आनन्दले नै सृष्टि चल्छ रे !
टिचिङले नर्मल भनेपछि पनि मैले उसलाई आर्युवेद अस्पताल पठाएँ । नरदेवीको आर्युवेद अस्पतालका डाक्टरले झन् के पत्ता लगाउँथे र ? तर मेरो मति बिग्रिएछ । अर्को अस्पताल पठाउनै थियो भने प्राइभेट अस्पताल पठाएको भए हुन्थ्यो होला नि ! आर्युवेद त गाउँले उपचार पद्धति ? यसो ग्याष्ट्रिय स्याष्ट्रिकको पो उपचार गर्ने विधि ? यही बनाएको छ राज्यले ! नभए सरकारले यसलाई महत्व दिएर अध्ययन अनुसन्धान कहाँ पो गरेको छ र ? अर्बुदको उपचार आर्युवेदमा जस्तो भरपर्दो अन्यत्र आजसम्म कही छ जस्तो लाग्दैन । तर के गर्नु त्यो विधि र पद्धतिलाई विकासै गरिएन । हामीले भेट्नै नसक्ने बनाइयो । तसर्थ मेरो क्रस चेकिङको प्रयास अपूर्ण रह्यो । टिचिङकै रिपोट हेरेर केही औषधी दिएर पठाएछ त्यो अस्पतालले पनि । त्यति गर्दा तिज पनि सकियो । तिज सकेर उसका आमाछोरा बागलुङ फर्किए ।
डाक्टरले नर्मल भनेपछि हामी पनि ढुक्क भयौँ । तर उसको व्यथा बढ्दै गयो । व्यथा बढेपछि बहिनीले उपचार ठूलो हो समस्या भए घर नजानुस् आउनुस् पनि भनेकी हो तर डाक्टरको विश्वासमा परेर हामीले उपचारमा ध्यान दिएनौँ । बा आमा क्यानडा गएकाले घर सरसफाइ गर्नुपर्ने थियो । उहाँहरु आउने बेला भएको थियो । आमाले एउटा रोटी पकाउने भाँडो लिएर आउन भन्नुभएको रहेछ । बजारमा उसले भाँडो किनिछ । मैले थाहा पाए नलैजा भन्छ भनेर थाहै नदिइकन उसले किनिछ । आमा बाले मुखबाट छोडिदिए हुन्थ्यो, उसले त्यो जसरी पनि पूरा गर्थी । पछि नलैजाऊ भनेथे हिड्ने बेला मानिन । बाटोमा हिड्न पर्न पनि सक्छ कसरी लैजाने भनेको पनि जिद्दी गरेर उसले त्यो भाँडो लिएर आई । संयोगले गाडी पाएर हामी शायद एक डेढ बजे नै घर आइपुग्यौँ । घरको सरसफाइ लगायतका सबै काम चलिरहेको थियो । सप्तमीको दिन साँझ अचानक उसलाई बेतोडले टाउको दुख्यो र बमिट भयो । पल्तिर माइली मुमासँग मागेर अमेरिकाबाट ल्याएको नदुख्ने औषधी ख्वाएँ तर त्यसले काम गरेन । दुखाइकै बीच कतिबेर ऊ निदाइछ । अनि बल्ल म पनि सुते । अष्टमीको दिन छाडेर नवमीको दिन पनि त्यस्तै भयो । नाकबाट गन्ध पनि आइरहेकै थियो । हामी ससुरालमा थियौँ । त्यसपछि त्रयोदशीको दिन ऊ बहिनी ज्वाइ सँग काठमाडौँ हिडी । अबेर हिडेकाले ज्वाइको र उसको बाटो फरक प¥यो । ऊ नेटाबाट गाडी चढेर बुटबल झरी । पाल्पासम्म उभिएर नै गइछ । केही समस्या भएनछ । बुटबलमा ज्वाइसँग भेट भएर उनीहरु भोलिपल्ट काठमाडौँ पुगे ।
काठमाडौँ पुगेको भोलिपल्ट दिउँसो उनीहरु फिल्म हेर्न गएछन् । साँझ काठमाडौँको दीर्घायुका डाक्टर गोपालरमणसँग उनीहरुले चेकजाँच गरेछन् । शारीरिक तन्दुरुस्तीका आधारमा ती डाक्टरले पनि पहिला त माइग्रेन होला भन्ने अनुमान लगाएछन् । तर पछि सिटि स्क्यान गर्दा टयुमर देखिएछ । त्यसपछि कुन्डलिनीमा गएर एमआरआइ गरेछन् । अनि टयुमर भएको पत्ता लाग्यो । भोलिपल्ट अबेर साँझ मात्रै ज्वाइले फोन गरेर मलाई काठमाडौँ हिड्न आग्रह गर्नुभयो । सोही बमोजिम भोलि बिहान म काठमाडौँतिर लागे । विष्णु सरको भाइको टाउकोको अप्रेसन भएको थाहा थियो विष्णु सरसँग फोनमा आवश्यक सल्लाह लिएँ । हटियाबाट गाडी चढेर केशव भाइसँग बुटबल झरियो । सुशीलाकोमा खाना खाएर साझाको नाइट चढेर भोलिपल्ट बिहान म काठमाडौँ पुगे ।
ज्वाइले भोलिपल्ट काठमाडौँका नामीनामी न्युरोका डाक्टरहरु भेट्नुभयो । टिचिङका डाक्टरहरुलाई पनि भेट्नु भएछ । कसैले प्वाल पारेर स्याम्पल निकाल्ने त कसैले टाउको खोलेरै निकाल्नु पर्ने बताएछन् । हामी दोधारमै थियो । मैले कुण्डलिनीको रिपोट नारायण भाइमार्फत उनको डाक्टर दाइलाई पठाएको थिएँ । उनीहरुको पहिलो सल्लाह नै अप्रेसन गर्नैपर्ने र त्यो अप्रेसन दिल्लीको राजिव गान्धीमा गर्नुपर्ने भन्ने थियो । मैले उनीहरुको सल्लाहलाई मानेको थिएँ । मोत्राका ठुल्दाइले दिल्लीका डाक्टर हकेटमार्फत ग्रान्डीको डाक्टर अमित थापालाई भेट्न भन्नुभयो । ज्वाइ र म गएर ती डाक्टरलाई भेट्यौँ । उनले एमआरआइको रिपोर्ट हेरेर निकै डरलाग्दो कुरा गरे । टयुमर टाउकोको धेरैतिर भएकाले त्यो शरीरमा पनि फैलिएको हुनसक्ने भन्दै ढाडको पानी पनि चेक गर्नुपर्ने उनले बताए । उनले दिल्लीको डाक्टरले जस्तै टाउको खोलेरै अप्रेसन गर्नुपर्ने बताएका थिए । उनको कुरा सुनेर म ग्रान्डीको बाहिर वेन्चमा बसेर बेस्सरी रोएको थिएँ । ज्वाइले पनि धन्न भाउजूलाई ल्याइएनछ नभए त यी डाक्टरले होस हवास उडाइदिने रहेछन् भन्नुभयो । ती डाक्टरलाई विदेशमा अप्रेसनको कुनै नवीन प्रविधि छ कि भनेर सोधेका थियौँ । त्यस्तो भएको भए त युरोप अमेरिकाका मानिसहरुले यस्ता रोगबाट मर्नै नपर्ने थियो भनेको थिए । उपचार रोकेर रामभरोसामा छ महिना बसे पनि भयो नभए उपचार छिटो गर भन्ने उनको भनाइ थियो । ग्रान्डीबाट फर्केपछि मैले आशा मारें । त्यही भर म जे हुन्छ हुन्छ नेपालमै उपचार गर्ने भन्ने निष्कर्षमा पुगे । पार लगाउन सकिन्न भन्ने मेरो मनमा लाग्यो । अत्तासिएको मनले फेरि हटिया नारायण भाइलाई फोन गरें । नारायणले दिल्लीमै उपचार गर्नुपर्ने सल्लाह दिए । त्यसपछि नै फेरि म दिल्ली जाने निष्कर्षमा पुगें । प्रमिला मेडमसँग पनि दिल्लीका बारेमा सल्लाह लिएँ । भाइबर मार्फत पठाएको रिपोट उहाँले आफ्नी छोरीलाई देखाउनुभएछ । उहाँले पनि टयुमर धेरै ठाउँमा देखिएको बताउनुभयो । टयुमर धेरै ठाउँमा देखिनु भनेको त्यो क्यान्सरको खतरनाक लक्षण रहेछ । दुई ग्रेडभन्दा माथिकै क्यान्सर मात्रै त्यसरी फैलिदो रहेछ क्यार !
घरमा तनाबपूर्ण अवस्था बन्यो । बहिनी रोएर बिपत्ता ऊ त बिरामी नै भई । रmने त भइहाली । हामी संकटमा रोएर मन हलुङ्गो गराउँदा रहेछौँ । पछिल्लो पटक दिल्लीमा ऊ रुदाँ म उसलाई एकछिन रुन दिन्थे । बा आमा दाइ भाउजू सबै विदेशमा हुनुहुन्थ्यो । जे गर्नुपथ्र्यो आफै नै सर्वेसर्वा थिएँ । आडआधार बहिनी र ज्वाइहरु ! साँझ दाइसँग फोनमा कुराकानी भयो । दाइले नेपालमै उपचार गर्ने सल्लाह दिनुभयो । मैले दाइसँग सवालजवाफ गर्न ठिक मानिन त्यसैले फोन काटिदिएँ । छोरो उसको मावल थियो । मलाई उसको बाहेक अरु कसैको चिन्ता थिएन । छोरो त जसरी पनि हुर्किहाल्छ भन्ने लाग्थ्यो । बाटामा जन्मिएका पनि हुर्किएर समाजका लागि योगदान गरेको पनि देखेको थिएँ । खानै नपाएकाहरुले पनि पछि थुप्रो सम्पति कमाएको पनि सुनेको थिएँ । एक दिनमा आमा गुमाउनेहरु पनि ठूला मान्छे बनेको कथा पढेको थिएँ । रुवाइ र संघर्षबाट नै मान्छे मान्छे बन्ने हो भन्ने मलाई राम्ररी थाहा थियो । फेरि एकछिनमा दाइले फोन गर्नुभयो । नम्र बोलीमा फोन नकाट कान्छा सल्लाह त गरौँ न भन्नुभयो । त्यसपछि दाइको कुरा मैले सुनें । दाइले दिल्लीमै गएर उपचार गर । पैसाको जिम्मा मेरो भयो भन्नुभयो ।
त्यसदिन रातभर ऊ मलाई अँगालो हालेर सुती । आँसुले सिरानी भिजेको थियो । निद्रा त आउने कुरै भएन । हामी सन्निकट भवितव्यको त्रासमा थियौँ । के हुने हो भन्ने डर नै थियो । भोलिपल्ट बिहान हामी दिल्ली जाने तयारीमा थियौँ । बिहान बहिनीले रातो टीका मुछेर बिदाइको टीका लगाइदिइ । हामी कोचाकोच गरेर टयाक्सीमा एयरपोर्ट गयौँ । ट्याक्सीमा मैले सिद्धिचरण श्रेष्ठको ‘सङ्कट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ ? असिना आई फूलबारीका फूलहरु पहिले झार्छ !’ भन्ने कवितांश सुनाएँ । ऊ हाम्रो घरको फूलबारी थिई र उसलाई असिनाले झार्ने कोसिस गरेको थियो । हामी असिनाका विरुद्ध लड्न कोसिस गरिरहेका थियौँ । हामीलाई छाड्न एयरपोर्टसम्म बहिनीहरु पनि गएका थिए कि ? प्लेन एक डेढ घन्टा डिले भयो । ऊ त्यहाँभित्र पनि रमाइ । उसलाई प्लेन चढ्ने खुब रहर थियो । म भने डराउँथे । प्लेन चढ्ने रहर एउटा दुर्भाग्यले पूरा गरेको थियो । उसले विभिन्न भावभङ्गिमाका फोटोहरु एयरपोर्टमा र प्लेनमा पनि खिची । शनिबारको दिन रहेछ । त्यसदिन दुई साढे दुई बजेतिर हामी दिल्ली एयरपोर्ट बाहिर पुगेका थियौँ । २०७६ मंसीरको ३ गते हामी दिल्ली पुगेका थियौँ ।
मोत्राका साइला दाईलाई यमुनाले कुरा गरिसकेकी रहिछ । उहाँले हामीलाई लिनका लागि राजुजीलाई गाडी लिएर एयरपोर्ट पठाइदिनुभयो । राजुजी आएर हामीलाई सिधै राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर लिएर गए । अस्पतालले एउटा फाराम भरायो । अन्तिममा फाराम भराउने कर्मचारीले बिरामी कुन देशको हो यहाँ मतलब हुन्न उसको स्वास्थ्य समस्यालाई ध्यान दिएर तागत लगाएर उपचार गरिन्छ भन्ने सन्देश सुनाए । त्यसपछि हामीले न्युरोको डाक्टरसँग भेट्न चाहेको बतायौँ । काउन्टरमा टिकट काटेपछि हामीलाई डाक्टरको रुममा पठाइयो । संयोगले ती डाक्टर न्युरो सम्बन्धी त्यो अस्पतालका प्रमुख रमनदीप जग्गी रहेछन् । उनी मेरुदण्डका पनि विशेषज्ञ रहेछन् । उनको कोठामा पुग्दा टेबल अगाडि दुई कुर्सी थिए । ती कुर्सीमध्ये एकमा ज्वाइ र एकमा ऊ बसेकी थिई । म र राजु उभिएका थियौँ । डाक्टरले काठमाडौँको रिपोट हेरेर ‘मल्टिपल’ जग्गामा टयुमर भएको कुरा बताए । तापनि उनले आफूले त्यहाँ एक एमआरआइ गरेर हेर्ने पनि जानकारी दिए । डाक्टरको कुरा सुन्दै गर्दा मलाई चक्कर लाग्न थाल्यो । अनि मैले ज्वाइलाई उठाएर म कुर्सीमा बसे । कुर्सीमा बस्दा पनि मैले थेग्न सकिन । अनि डाक्टरको टेबलमा पाखुराको सिरानी बनाएर टाउको अड्याएँ । अनि डाक्टरले ज्वाइसँग यसलाई के भयो भनेर सोधे अनि को हो यो मिनाको भनेर पनि सोधे । चक्कर लाग्यो भनेपछि बाहिर लगेर सुताउन र पानी ख्वाइदिन उनले भने । मलाई ‘घबराओ मत’ भनेर पनि सम्झाए । त्यो दृश्य देखेका डाक्टरले सधैं उसलाई भन्दा पहिला मेरो बारेमा कस्तो छ के छ कतिको आतिएको छ भनेर सोध्थे । अनि उसले र ज्वाइले मलाई पाखुरामा समातेर बाहिर ल्याइ पानी ख्वाए । अप्रेसनपछि डिस्चार्ज भएर रुममा आएपछि उसले मलाई बेलाबेलामा ‘घवराओ मत’ भनेर जिस्काएर हाँस्थी । यसरी हाँस्दा अप्रेसनको असरले प्यारालाइसिसका बिरामीको जस्तो उसको मुख बाङ्गो हुन्थ्यो । म भने उसको अवस्थाले गर्दा झन् पछि झन् आतिदै गएँ ।
ज्वाइले हामी टाढाबाट आएकाले एक दिन भए पनि छिटो उपचार सुरु गरिदिन डाक्टरलाई आग्रह गर्नुभयो । साढे चार भइसकेको थियो पाँच बजे अस्पतालका अन्य सेवाहरु बन्द हुँदा रहेछन् । तापनि डाक्टरले एमआरआइमा फोन गरेर हामीलाई एमआरआइ गर्न पठाए तर एमआरआइको अर्को डाक्टरले त्यसदिन कुनै पनि हालतमा एमआरआइ गर्न मानेनन् । त्यसपछि फेरि जग्गी डाक्टरलाई त्यो जानकारी उनीहरुले नै गराए । त्यसो भए आज तिनीहरुलाई पठाइदेऊ । सोमबारका दिन बिहान आएर एमआरआइ गरेपछि त्यो रिपोर्ट मैले उत्तिखेरै फिल्ममा हेरिदिन्छु भनेर डाक्टर जग्गीले भनेको कुरा त्यहाँका डाक्टरले हामीलाई बताए । हामी सोमबार दश बजेको समय लिएर राजुजीसँग साइला दाइको कोठामा गयौँ । साइला दाइले निकै मायाले हामीलाई स्वागत सत्कार गर्नुभयो । भोलिपल्ट आइतबार भएकाले हामी त्यही बस्यौँ । सोमबार हामीलाई ठुल्दाइले आफ्नो गाडीमा अस्पताल लिएर जानुभयो । अस्पतालमा एमआरआइ गरेपछि हामी डाक्टर भेट्न गयौँ । डाक्टर अप्रेसनमा रहेछन् । भेट हुँदैन होला भन्ने ठानेर हामी ठुल्दाइसँग आइटियोतिर लाग्यौँ । आइटिओ पुग्न जामको कारणले पनि होला दुई तिन घन्टा लाग्यो ।
कार्तिक मंसीरको समय भएकाले दिल्लीमा गर्मी थिएन । दाइको गाडीको अगाडिपट्टि ज्वाइ बस्नुभएको थियो । पछिल्लो सिटमा हामी बुढाबुढी थियौँ । ऊ मेरो काखमा सुतेकी थिई । सिसाबाट भित्र परेको घाम र गाडीको बिस्तारै हिडाइले म पनि झकाएछु । आइटियो पुगेर भाउजूलाई भेट्यौँ । त्यो भेट भाउजूसँग पहिलो थियो । मैले नसम्झे पनि सानोमा भाउजूले मलाई भेट्नुभएको रहेछ । भाउजूले रोटी तरकारी पकाइरहनु भएको थियो । अचानक फोन हेरेको त दुई तिन कल देखियो । मैले हिन्दी नजान्ने भएकाले ज्वाइलाई कल ब्याक गर्न लगाएँ । अस्पतालको रहेछ । डाक्टरले हाम्रो रिपोर्ट हेरिसकेकाले भेट्न खोजेको सन्देश पाइयो । अनि हतारहतार रोटी खाएर हामी फेरि अस्पताल फर्कियौँ । भाउजूले तिन चोटि टाउकोको अप्रेसन गरेर पनि मान्छे बाँचेको भन्दै उसलाई ढाडस दिनुभयो । ठुल्दाइले हामीलाई फेरि अस्पताल लिएर आउनुभयो ।
अप्रेसन थिएटरको बाहिर पट्टि आएर हामीले डाक्टरलाई आइपुगेको खबर पठायौँ । गेटमै बस्न भन्नु फुर्सदमा म भेट्छु भन्ने डाक्टरको सन्देश हामीलाई गार्डले दिए । हामी कुरेर बस्यौँ । शायद एक डेढ घन्टा कुरेपछि डाक्टरले हामीलाई भित्र बोलाए । हामी तिनै जना भित्र गयौँ । एउटा कुनामा कुर्सी र टेबल थियो । त्यही टेबलमा डाक्टरले कागजमा चित्र बनाएर उसको स्वास्थ्य अवस्थाका बारेमा बताए । पैसा जम्मा गर्न सक्ने भए आजै आफूले भर्ना गरिदिने डाक्टरको भनाइ थियो । पैसा पनि किस्तामा जम्मा गर्न सकिने जानकारी दिए । अप्रेसनमा तिन लाख ५९ हजार लाग्दो रहेछ । हामीले भर्ना गर्न भन्यौँ । त्यसो त नेपालबाट लगेका केही पैसा साइला दाइको कोठामा छाडेको थियौँ भने साइला दाइले खोजिदिएका केही पैसा हामीले लिएर आएका थियौँ । क्यानडाबाट दाइले पैसाको समस्या भए किरण वा किशोरलाई पैसा बोकेर नेपालबाट पठाउँछु भन्नुभएको थियो तर हामीले दाइलाई रोक्यौँ । राजुजीको एटिएम कार्ड पनि हामीसँग थियो । एटिएमबाट पैसा निकाल्न सकिएन । त्यसपछि ठुल्दाइ पैसा खोज्न कस्सिनुभयो । पैसा थोरै दिन्छु भन्नेलाई ठुल्दाइले फोनमै हप्काएको मैले सुनेको थिएँ । डाक्टरले भनेजति पैसा जम्मा गरेर त्यो दिन हामीले उसलाई भर्ना ग¥यौँ । भर्नाको प्रक्रियामा ऊ मेरो हात समाएर अस्पतालको रिसेप्सन अगाडि निकै बेर ओहोरदोहार गरी । ऊ के दैवले हाम्रो जोडी चुडाल्ला र ? भन्दै भौतारिइ रहेकी थिइ । मैले बारम्बार सक्दैन ढुक्क होऊ भन्दै उसलाई ढाडस दिन्थे । भर्ना भएर बेडमा गए पछि पनि खुब रोई । घाँटीको अप्रेसनका लागि गुल्मीबाट जानुभएकी एकजना ज्ञवाली मेडमले उसलाई खुब सम्झाउनुभयो । त्यो दिन पछि उहाँसँग मेरो फेरि भेट भएन । ज्वाइले तिन चार दिनसम्म उहाँलाई समस्या भयो रे भन्नु हुन्थ्यो ।
अप्रेसनका दिन बिहानै नर्सहरु आएर उसलाई नुहाउन र अप्रेशनको गाउन लगाउन दिए । गरगहनाहरु सबै झिक्न लगाए । मैले बाथरुम लिएर गएँ । उसले बाथरुमभित्र पसेर नुहाएर कपडा फेरी । म बाहिरै बसें । पछि तिलक सर आएर भेट्नुभयो । तिलक सर पनि मेडमको उपचारका लागि त्यही अस्पतालमा हुनुहुन्थ्यो । पछि फर्कदा सरले आफूसँग केही पैसा रहेकोले चाहिने भए राख्नुस् भन्नुभएको थियो । मलाई पैसाको खाँचो थिएन । मामा पनि शायद एक बहिनीसँग आउनुभयो । उहाँले ‘यस्तो भएर आइयो है’ भन्नुभएको म सम्झन्छु । उसलाई अप्रेसनका लागि लगेपछि ठुल्दाइले म्यालडाँडाका दाइलाई पनि लिएर आउनुभयो । उहाँ दाइले नै डेढ लाख रुपैयाँ ल्याएर अस्पतालमा जम्मा गरिदिनुभयो । पटकपटक पैसा लैजान अनुरोध गरे पछि महिना दिनपछि दाइले पैसा फिर्ता लिनुभयो । त्यो पैसा मैले खासै नचिनेको दाइले जम्मा गरिदिनुभएको थियो । सात बजेतिर हात हल्लाउँदै ऊ अप्रेसनका लागि भित्र गई । पछि डाक्टरहरुले अप्रेसन गर्ने ठाउँको कपाल काटिदिनका लागि अनुमति मागें । हामीले अनुमति दियौँ । त्यतिबेला चावला थरका डाक्टरले म त्यो अप्रेसनको टिममा छु । ढुक्क हुनु भनेका थिए । पछि बुझ्दा ठुल्दाइले आइटिओबाट नै डाक्टरलाई खबर गर्नुभएको रहेछ । ठुल्दाइ र म्यालडाँडाका दाइ दिनभर मसँगै बस्नुभयो । ज्वाई दिनभर अप्रेसन थियटरका बाहिर ढोकामा उभिनुभयो । हामी अस्पताल अगाडिको चौरमा बस्यौँ । दिउँसो हामीले तिन जनाले नब्बे रुपैयाँमा पेटभरी डोसा खायौँ । म्यालडाँडाका दाइले भाइ उनको पिठो सकिएको रहेनछ भने बाँच्छिन् नभए केही गरे नि बाँच्दिनन् भन्नु हुन्थ्यो । ठुल्दाइले फोनका हाँसीमजाका कुरा सुनाउनुभयो । साँझ छ बजेतिर अप्रेसन सफल भएको खबर आए पछि दाइहरु जानुभयो । दिनभरमा अप्रेसन सकियो ।
अप्रेसनका दिन राति आइसियुमा गएर ज्वाइले मात्रै उसलाई भेट्नुभयो । मैले भेटिन । राति ज्वाइ र म अस्पतालको वेटिङ रुममा बस्यौँ । एक जनालाई मात्रै बस्न दिने वेटिङ रुममा ज्वाइले गार्डलाई अनुरोध गरेर दुवैलाई बस्ने व्यवस्था मिलाउनुभयो । मलाई त भाषाकै समस्या थियो । बीस बाइस वर्ष पहिला एक महिना सुनौली दिल्ली र गुजरातको यात्रा गर्नु बाहेक म इन्डिया बसेको थिइन । राति म्यासेन्जरबाट घनश्याम अंकल र पवन दाइसँग कुरा भयो । पवन दाइले आफू त्यही नजिकै भएकाले भोलि बिहानै आउने बताउनुभयो । यमुनाले राजु दाइलाई पनि खबर गरिछ । नभन्दै भोलि बिहानै पवन दाइ आउनुभयो । बिहान दाइ, म र माइजूले आइसियुमा गएर उसलाई भेट्यौँ । आइसियुमा धेरैबेर बस्न नमिल्ले भएकाले उसको अप्रेसनपछिको अवस्था थाहा हुने कुरा भएन । एक दिनपछि जनरल वार्डमा सारेपछि भने भेटघाट सहज भयो । दाइसँग भेट भएपछि एक जना अस्पताल बस्ने अर्को एकजना दाइको कोठामा सुत्ने गर्न थाल्यौँ । अस्पतालमा प्रायशः रातमा ज्वाइ बस्नुहुन्थ्यो भने दिनमा म बस्थे । खासमा ज्वाइ नै धेरै बस्नुहुन्थ्यो । नभए म पवन दाइको अवान्तिकाको कोठामा सुतिरहन्थें । दिन रात बराबरै जस्तै थियो । निद्रा नै सबैभन्दा मिठो थियो । ब्युझँदा त उही तनाबै तनाबै थियो । मन कमजोर हुन खोज्थ्यो । बलियो गरि बाँध्थे । अप्रेसन त के हो र ? वायोप्सीको रिपोटको प्रतिक्षा थियो । त्यो नै उपचार प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कुरा थियो । डाक्टरहरुले अप्रेसनकै बेला स्याम्पलको ज्वाइको भाषामा ‘रफ चेक’ गरेर कुन तहको क्यान्सर भन्ने पत्ता लगाउँदा रहेछन् । ब्रेनको ग्रेड भन्दा रहेछन् । ज्वाइलाई डाक्टरले थ्रि ग्रेडको हुनसक्छ भनेका रहेछन् । पछि डाक्टरले घरबाट फोन गरेर मलाई मानसिक रुपमा तयार गरे । उसको श्रीमान्लाई सम्झाउनु यो त्यति सजिलो व्यथा होइन, प्रारम्भिक अवस्थाको क्यान्सर होइन भनेर डाक्टरले पहिल्यै मलाई सन्देश पु¥याएका थिए । वायोप्सीको रिपोट कहिले आउला भन्ने हामीलाई छटपटी थियो । सुत्ने उठ्ने गरिरहन्थे । ज्वाइले अस्पतालबाट फोन गर्दा पनि डर लागिरहन्थ्यो । अन्ततः रिपोर्ट डाक्टरले भनेजस्तै आयो । उसको थ्रि ग्रेडको क्यान्सर थियो । डाक्टरसँग रिपोर्ट बुझ्नका लागि मैले ज्वाइलाई र पवन दाइलाई पठाएँ । मलाई त्यो रिपोर्ट सुन्न डर पनि लाग्यो अनि डाक्टरले पनि मलाई देखेर निर्धक्क सबै कुरा नगरलान भनेर पनि उहाँहरुलाई पठाएँ । मान्छे आफ्नो विरुद्धको कुनै कुरा सुन्न चाहँदो रहेनछ तर म भोग्दै थिएँ । ज्वाइले किमो र रेडियसन चलाएर उपचार गर्ने हो रे भन्नुभयो तर पवन दाइले भने डाक्टरले भनेका महत्वपूर्ण कुरा मलाई सुनाउनुभयो । दाइका अनुसार डाक्टरले बुढाबुढी भएको भा त उपचार नगरे पनि हुन्थ्यो यो त उमेरकी छ भनेका थिए रे ! म दाइले सुनाएको डाक्टरको यो भनाइले बारम्बार तर्सन्थे । तर ज्वाइले किमो र रेडिसनले रोकियो भने ऊ आफ्नो उमेर पनि बाँच्न सक्छे तर त्यो दुई महिनापछि थाहा हुन्छ भनेका छन् भन्नु भयो । म त्यही आफ्नो उमेर बाँच्न सक्छे भन्ने कुरा समातेर नै आशावादी भएँ । उसलाई तिस बर्षकै उमेरमा थी ग्रेडको क्यान्सर भएको थियो । नेपाली समाजमा दुख्ने घाउ क्यान्सर हुँदैन भन्ने खतरनाक विश्वास छ । तर त्यो अस्पतालमा लगाइएको बोर्डमा ६५ प्रतिशत क्यान्सरका रोगीहरु दुख्यो भन्दै आउँछन्, त्यसैले दुखाइ क्यान्सरको लक्षण भएकाले समयमै उपचार गर्न भनिएको सूचना थियो । तर सुरुमा उसको टाउकोमा दुखाइ थिएन तर खुट्टाको कुर्कुच्चा त दुखेकै थियो ।
जनरल वार्डमा भेट्दा ऊ हिड्न सक्दिनथी । देबे्र खुट्टाले टेक्दो रहेनछ । मुख पनि बाङ्गो थियो । त्यो अप्रेसनको असरले रहेछ । अस्पतालमा त्यहीका नर्स र कर्मचारीहरुले उसको स्याहार सुसार गर्थे । अप्रेसनको एक हप्तामै डाक्टरले डिस्चार्ज हुन्छ भनेका थिए तर तिहारको बिदाले गर्दा दुई दिन ढिलो डिस्चार्ज भयो । तिहारमा त्यो हस्पिटलमा खुशी र उत्सव त नर्सहरुले मात्रै मनाउँदा रहेछन् । तिनै नर्सहरुले डाक्टरहरुसँग शुभकामना आदानप्रदान गरेको पनि देखिन्थ्यो । बिरामी र बिरामीका आफन्तहरुको मुख त निन्याउरा नै देखिन्थे । डिस्चार्ज हुँदा पवन दाइ सँगै हुनुहुन्थयो । त्यसभन्दा पहिला राजु दाइ र भाउजू आएर अस्पतालमा हामीलाई भेटिसक्नुभएको थियो । दाइले मलाई एक क्रेडिट कार्ड दिएर आवश्यक परे त्यसबाट तिन लाख रुपैयाँसम्म प्रयोग गर्न सकिने बताएर जानु भएको थियो । हुन पनि दिल्लीमा उपचार गर्ने पैसाको सबै जिम्मा राजु दाइले नै लिनुभयो । त्यो कार्ड पछिल्लो समय हामी दिल्लीबाट फर्कदा पनि कृष्ण दाइसँग नै थियो । दिन भ्याउनुभएको रहेनछ । हस्पिटलमा छँदा परशुराम अंकल, श्याम दाइका बुढाबुढी, ठुली भाउजू सबै आइसक्नुभएको थियो । ठूली भाउजूले ढक्कीभरी फलफूल राखेर माथिबाट रुमालले छोपेर भेट्न आउनुभएको थियो । कृष्ण दाइसँग रिसेप्सनमा बसेर चिया पनि खाएका थियौँ तर मैले दाइ आएकै कुरा बिर्सेको रहेछु । दिल्लीमा तमाम आफन्तहरु आउनुभयो । नातामात्रै घनिष्ट थियो तर भेटघाट घनिष्ट थिएन । एउटा दुर्भाग्यले हामीले दिल्लीका आफन्तहरुको न्यायोपन पाएका थियौँ । त्यो न्यायोपन काठमाडौँले दिन सक्दैनथ्यो । दिएन पनि !
डिस्चार्जको दिन सकेसम्म आफन्तको घरमै जाऊँ भने जस्तो कुरा आयो । मामाको घर जेटिभी नगर अलि टाढा छ । पवन दाइले आफ्नै कोठामा जाऊँ भन्नुभयो । दाइको कोठा तीन तला माथि थियो । मैले पैसाको कारण आशा पनि गरेको थिएँ आफन्तको घरमा बस्न पाए अलि सजिलो होला भन्ने । पवन दाइले अर्को विकल्प पनि ल्याउनुभयो । कृष्ण दाइको फ्ल्याट खाली छ । दाइ पनि खासै बस्नुहुन्न नजिक पनि छ त्यही जाऊँ भनेर । ज्वाइ र पवन दाइ मिलेर कृष्ण दाइसँग सल्लाह गर्नुभएछ । कृष्ण दाइलाई मैले अस्पतालमा भेटेको कुरा बिर्सिएछु । त्यसकारण मैले यही सोमबजारमा कोठा खोजिदिनुस् म बिरामी लिएर कसैकोमा जाँदिन भने । त्यसपछि दाइ र ज्वाइ गएर सोमबजारको लक्की जुस पछाडि कोठा खोजेर आउनुभयो । पवन दाइले गाडीमा उसलाई लिएर जानुभयो । म लगायत अरु रिक्सामा गयौँ कि !
कोठामा गए पछि साँझसाँझ हामी घुम्न निस्कन्थ्याँै नजिककै पार्कमा ! डाक्टरले उसलाई हिडाइ रहन भनेका थिए । मैले उसलाई प्यारालाइसिस भएको बिरामी जस्तै देख्थे । तर बिस्तारै त्यो ठिक हुँदै गयो । ऊ पनि आफ्नो परीक्षण आफै गर्थी । एकदिन ज्वाइले किचनमा अण्डा बसालेर सम्झाउनुहोला है दाइ मैले बिर्सन्छु भन्नुभयो । मैले हुन्छ भनेको हामी दुवैले बिर्सिएर पार्कमा पुगेका बेला उसैले सम्झाई । हामी नभएको बेला कतिकति बेला आफै हिड्थी । हामी गाली गथ्र्यौ । डाक्टरले टाँका खोलेको भोलिपल्टबाट उपचार सुरु गर्न खोजेका थिए । थप उपचार नेपाल गर्ने कि भन्ने कुरा आयो । म कुनै हालतमा नेपाल फर्कने पक्षमा थिइन । तर त्यहाँ जम्मा हुनुभएका आधा जति आफन्त नेपाल लगेर उपचार गरे हुन्थ्यो भन्नेमा हुनुहुन्थ्यो । ज्वाइ पनि नेपाल ल्याउन खोज्नु भएको थियो । ज्वाइलाई आफैले भाउजूलाई स्याहार सुसार गर्न पाए हुन्थ्यो भन्ने थियो । तापनि मैले कुनै हालतमा नेपाल नल्लाउने अड्डी कसें । कृष्णा आन्टीले पनि म यही छु तैले उपचार यही गर है म सघाउँछु भन्नु भएको थियो । विचरा पछि उहाँलाई डेंगु भएर मै भेट्न गएँ । विचरा ! मामा भने आशा मारेर नेपालनै जानुस् भन्नुहुन्थ्यो । डाक्टरले पनि फरक ठाउँमा रेडियसन गरिदिन सक्छन्, सकेसम्म यही गर भनेका थिए । पूजा सिस्टरले पनि यही गर्नुस् भन्ने सल्लाह दिइन् । डाक्टरले यदि नेपालै जाने हो भने उपेन्द्र देवकोटाको न्युरोमा गर भनेका थिए । उनले उपेन्द्र देवकोटाको नाम त लिएनन् । शायद नाम बिर्सेर होला । हामीले सम्झादिए पछि हो त्यही भने । हरिसिद्धिका डाक्टरहरु पनि आफ्नो अस्पतालमा अध्ययन तालिमका लागि आउने भएकाले त्यहाँ उपचार गरे पनि हुन्छ भनेका थिए । तर मैले अड्डी कसेपछि कसैको केही लागेन । क्यानडाबाट दाइले पनि तैले जहाँ भन्छस् त्यही उपचार गर्ने भनेपछि अन्ततः उही उपचार सुरु गरियो । राजु दाइले चिनजान गराइदिनुभएकी पूजा नर्सले पनि हामीलाई ठूलो सहयोग गरिन् । एक लाख सत्तरी हजार भनेको रेडियसन शुल्क उनी आफै गएर एक लाख तिस हजारमा झारिदिइन् । टेमजोल नामको औषधीलाई डाक्टरको सिफारिसमा तेत्तीस सय भारुमा दिने भनेको थियो । ती नर्सले म फलानो डाक्टरको सेक्रेटरी बोलेको भनेपछि अठाइस सय पचासमा दियो । पाँच क्याप्सुलको अठाइस सय पचास पर्ने त्यो औषधी त उसको आखिरी जीवनका पछिल्ला दुई महिना अघिसम्म निरन्तर चलेको थियो ।
दिल्लीमा उपचार चल्ने भए पछि ज्वाइलाई पालो दिन कान्छा ज्वाइ जानुभयो । कान्छा ज्वाइ पुगेकै दिन प्रकाश ज्वाइ फर्कनुभयो । ज्वाइ फर्कदाकै दिनदेखि उसको उपचार सुरु भयो । किमो र रेडियसनको असरले बमिट हुँदोरहेछ । उमेर अरु स्वास्थ्य समस्या नभएकाले त्यति धेरै बमिट भएन । सजिलै पचाइ । कपाल भने पुरै जराबाटै जाँदो रहेछ । गयो । त्यस्तो सुन्दर रुप कुरुप भएको थियो । उपचारकै क्रममा ऊ तङ्ग्रिइ सकेकी थिई । अब उसलाई कोही पनि साथी चाहिदैनथ्यो । आफै आफ्नो काम गर्न सक्ने भएकी थिई । एक महिनाको उपचार चलेको थियो । कान्छा ज्वाइले उसलाई अस्पतालबाट फर्कदा पार्कमा लैजानुुहुन्थ्यो । रोहिणी बडो व्यवस्थित सहर रहेछ । हरेक चोकचोकमा पार्क रहेछन् । ती पार्क दिनरात खुल्ला हुने । ज्वाइले पार्कमा भएका जिमका खेलौनाहरुमा उसलाई अभ्यास गराउन थाल्नुभयो । मलाई डर लाग्थ्यो तर ज्वाइ र उसले ती जिमखानाका सबै खेलौनाहरुमा आफ्नो शारीरिक अभ्यास गर्दथे । त्यसले उसलाई राम्रो पनि भएको थियो । ज्वाइ एक हप्ताभन्दा बढी बस्नुभएन । ज्वाइ फर्केपछि म दिल्लीमा एक्लै बस्नुप¥यो एकदिन । त्यसदिन राति उसले डर लाग्यो भनी । बेलाबेला डर लाग्यो भन्दै रुन्थी । शायद मृत्युकै डर होला । त्यो त आफ्नो वशमा रहेनछ । चाहेर पनि कोही बाँच्न र कोही मर्न पनि सक्दो रहेनछ । समय नै सबभन्दा बलबान् हुँदो रहेछ । पछि ससुरालबाट दाइ जानुभयो । दुई भाइ बहिनी मिलेर पार्कमा खुब खेल्थे । दुवैका पातला शरीर जिमका खेलौनाहरुमा मच्किन्थे । अब ऊ तदुरुस्त भइसकेकी थिई ।
सोम बजारका भाडामा बस्ने कोठा आफैमा एकदम महंगा र फोहर थिए । बसोबासका सबै सामग्रीहरु र हप्तामा छ दिने सफा गर्ने मानिसको पनि व्यवस्था मालिकले गरिदिदो रहेछ । पैसा पहिल्यै भुक्तानी गर्नुपर्ने रहेछ । एकदम निम्मस्तरका ट्वाइलेट, कोठाहरु पनि जताततै भत्किएका, तन्नाहरुमा रगतका टाटैटाटा, बाह्य दुर्गन्धसँगै भित्रै पनि दुर्गन्धित ठाउँमा जबरजस्ती बस्नुपर्ने बाध्यता रहेछ । त्यस्ता कोठाहरुको भाडा दिनको पाँच छ सय देखि हजार बार सयसम्म पर्ने रहेछ । पहिल्यै भाडा भुक्तानी पनि गरेका थियौँ हामी । ज्वाइहरुले अगाडिको कोठामा सर्ने भन्नुभयो । सुरुसुरुमा त ती भाडाकुँडाहरु सामान्य मानेर नै खाइयो । तर पछि बिरामीले प्रयोग गरेका भाडाकुँडा भन्ने भएपछि भने बहुत मुस्किल भयो । तर पवन दाइ, ज्वाइहरु, कृष्ण दाइ हामी सबै प्रायशः जुटेर सँगै खाने हुँदा खासै समस्या भएन । पछि हामी अलि राम्रो कोठा भनेर उही साहुको अर्को कोठामा स¥र्यौ । त्यो त अझ रद्दी परेछ । म फेरि नयाँ भाँडा प्रयोग गर्नुपर्ने भयले नयाँ कोठामा सर्न रुचि देखाएको थिइन । तापनि ज्वाइ र दाइहरुले भनेपछि हामी अर्को कोठा सरेका थियौँ ।
कान्छा ज्वाइले मलाई एकदिन मुरादावाद लिएर जानुभयो । निकै टाढा रहेछ त्यो ठाउँ । माइजुलाई ऊ सँग राखेर हामी गएका थियौँ । एउटा अनौठो गाडी पनि चढियो । पछाडि फर्केर खुट्टा झुन्डाएर गाडीमा बस्दा रमाइलो पनि लाग्यो । त्यो मुस्मिल बस्ती रहेछ । रोहिणीको जस्तो व्यवस्थित पनि रहेनछ । घना बस्ती रहेछ । त्यहाँ ज्वाइले ‘बडे हाकिम’लाई सोध्दै जानुभयो । जाँदाजाँदै हामी एउटा ठूलो बिल्डिङका अगाडि गएर रोकियो । त्यहीबाट हामीलाई भित्र छिर्न भनियो । भित्र त्यस्तो सफा पनि होइन, त्यस्तो फोहर पनि होइन । ठिक्कैको अवस्था रहेछ । अस्पतालमा राखिने जस्तै कुर्सी बेड बिस्ताराहरु राखिएका थिए । बिरामीहरु पनि भर्ना भएका रहेछन् । हामीले बडे हाकिमलाई कहिले भेट्न सकिन्छ भनेर सोध्यौँ । छोरोको बिहेका लागि एक हप्ता अस्पताल बन्द छ । एक हप्तापछि भेट्न सकिन्छ भन्ने जवाफ पाइयो । हामीले टिकट पनि खोज्यौँ तर उसैदिन आएर लिनु भन्ने जवाफ दिइयो । कुन ग्रेडको क्यान्सर हो भनेर सोधियो । हामीले थ्रि भनेपछि त्यसो भए उही गर भन्ने जवाफ पाइयो । राम्रो भएर उही गर भनेको हो या नराम्रो भएर उही गर भनेको हामीले बुझ्न सकेनाँै । हामी फर्कियौँ । गेटबाट बाहिर निस्केर रिक्सामा बसेका थियौँ । अर्को एकजना आएर हामीसँगै रिक्सामा बसे । उनी सुनौलीबाट आफ्ना ससुराका लागि औषधी लिन गएका भारतीय रहेछन् । मैले ज्वाइलाई हिन्दीमा सोध्न भनें । पछि तिमीहरु त नेपाली बोल्छौँ भने उनले । अनि हामी सबै हाँस्यौँ । अनि नेपालीमै कुराकानी भयो । के को औषधी भनेको क्यान्सरको भने । अस्पतालको फर्काएको बिरामीको त्यहाँको औषधी ख्वाउन थालेपछि अस्पतालले फेरि भर्ना लिएको उनले बताए । मैले उनको झोलाबाट औषधी पनि खोलेर हेरें । दुई तिन थरी मिसाएर खाने हो भन्ने कुरा पनि उनले बताए । उसको स्वास्थ्य अवस्था धेरै छिटो बिग्रिएकाले हामी त्यो विकल्पमा जाने अवसर पाएनौँ ।
हप्ताहप्तामा सिबिसी टेस्ट गर्नु पर्ने थियो । ऊ सिबिसीको रिपोर्ट आउँदा पनि मलाई ब्लड क्यान्सर भयो कि भन्दै डराउँथी । त्यो डर पनि कृष्ण दाइले नै हटाइदिनुभयो । कृष्ण दाइलाई एकपटक डेंगु लागेको रहेछ । त्यसैले सबै थाहा रछ । अनि उहाँले रिपोर्ट हेरिदिन थालेपछि बल्ल ऊ ढुक्क भई । एकदिन कृष्ण दाइ अस्पताल आउनुभएको थियो । रेडियसनको बाहिर बसिरहेका थियौँ । त्यहाँ उसले दाइसँग फेरि आउँदा त तपाईंको रुममा बस्ने हो दाई भनि जस्तो लाग्छ । दाइले फेरि आउँदा किन अहिले नै हिड भन्नुभयो । कति दिनको भाडा दिएका छौँ भनेर सोध्नुभयो । हामीले अझ पाँच सात दिनको भाडा दिएको बतायौँ । त्यसपछि भाडा नदिनु उतै जाने भन्नुभयो । हुनतः दाइ अस्पतालबाट डिस्चार्ज हुने दिन हामीलाई आफ्नो कोठामा लैजान गाजियावादबाट खाना नै नखाइ हिडनुभएको रहेछ । तर मैले अहिले कही नजाऊँ कोठा खोजौँ भनेकोले दाइ र ज्वाइले कोठा खोज्नुभएको थियो । ऊ सँग कुरा भएको पाँच सात दिनपछि दाइ आएर आफै कपडाहरु सामानहरु मिलाएर हामीलाई आफ्नो कोठामा लिएर जानुभयो । दाइले लगेपछि बहुत आनन्द लाग्यो । आफ्नै घर ढुक्क एकदम चिरिच्याट सफा बरन्डा सबै भएको फ्यालट रहेछ । दाइ हामीलाई छाडेर दुई तिन दिन बाहिर जानुभयो । दाइको काम नै अल इन्डिया घुम्ने रहेछ । दुई चार दिन दुई चार दिनमा आउनुहुन्थ्यो । वास्तवमा हामी आफ्नो काम आफै गर्दैनौँ । पकाउने र खाने जस्तो महत्वपूर्ण काम पनि आमा, श्रीमती, बहिनी नभए होटलका जिम्मामा छाड्छौँ तर दाइहरुले आफ्नो सबै काम आफै गर्नुहुँदो रहेछ । होटलमा खाने भन्ने कुरै हुँदोरहेछ । दिउँसोलाई टिफिन समेत घरबाट लिएर जाने आम इन्डियाको चलन रहेछ । कृष्ण दाइले आफै रोटी, तरकारी, अचार सबै बनाउनुहुन्थ्यो । दाइले मलाई पनि रोटी बनाउन सिकाउनु हुन्थ्यो । ऊ बिरामी भए बाहेक हामीलाई कुनै तनाब थिएन । अस्पतालका डाक्टर नर्स आफ्नै थिए । पैसा चाहिए राजु दाइको कार्ड थियो । बस्नका लागि कृष्ण दाइको घर थियो । कतै जान परे पवन दाइको गाडी थियो । आँखा चेक गर्न जाँदा होस् या दिल्ली गेट घुम्न जाँदा होस् वा ज्वाइहरु नेपाल फर्किदा नै किन नहोस् पवन दाइले नै गाडीमा लिएर हिड्नुभयो ।
एक आइतबार पवन दाइले दिल्ली गेट घुम्न जाने प्रस्ताव गर्नुभयो । ऊ घुम्नकी सौखिन भए पनि खै त्यस दिन ऊ घुम्न जान रुचि देखाएकी थिइन । तर हामीले उसलाई फकाएर दिल्ली गेट लिएर गयौँ । त्यसभन्दा पहिला उसको मेट्रो चढ्ने रहर कान्छा ज्वाइले पूरा गरिदिइ सक्नुभएको थियो । दिल्ली गेटमा क्यामराम्यानले पछ्याइहाले । कृष्ण दाइ, पवन दाइ, हरि दाइ, म र ऊ थियौँ । दुईचार वटा फोटा उसकै रहरमा खिचियो । मलाई त्यस्ता फोटो खिच्न कहिल्यै जाँगर चल्दैनथ्यो । तर ऊ बिरामी भए पछि उसका अगाडि म जे भने पनि मान्ने भएको थिएँ । ऊ दिल्ली गेटदेखि राष्ट्रपति भवनसम्म तिन चार किलोमिटर हिड्दा हामी निकै खुशी भयौँ । ऊ तगडा भएको आभास भयो । पवन दाइ र कृष्ण दाइले त्यहाँको प्रशासनिक भवनहरुका बारेमा बताउनुभयो । राष्ट्रपति भवनको नजिकैसम्म जान दिदो रहेछ । त्यत्रो सुरक्षा चुनौती भएको मुलुकले जनताका लागि भने त्यति खुकुलो व्यवस्था गर्दो रहेछ । तर हाम्रो बालुवाटार वा राष्ट्रपति भवन होस् या हिजोको दरबार त्यहाँ हे भित्र कस्तो छ जनताले देख्न मुस्किल छ । तर त्यहाँ त पूरै खुल्ला हुँदोरहेछ ।
त्यहाँबाट फर्कदा हामीले बाटोमा मम खायौँ । मम भनेको नेपालले निर्यात गरेको सिप र पक्वान रहेछ । नेपालीहरुले यसको निकै व्यापार पनि गरेका रहेछन् । बन्दा गोभी दिल्लीमा मंहगो हुनुको कारण नै यही मम रहेछ । पहिला फूलगोभी जस्तै बन्दा पनि सस्तो हुँदोरहेछ तर ममका कारणले बन्दाको भाउ बढेछ । जति पनि मम पसल रहेछ, ती नेपालीहरुका रहेछन् । नेपालीहरु पनि व्यापारी, साहेब भएर बसेको पाइयो । हिजोको अवस्था रहेनछ । सम्पन्न नेपालीहरु दिल्लीमा रहेछन् । अन्तिमपटक दिल्लीबाट फर्कदा सुनौलीमा नेपाल आउने गाडीको लाम देखेर एम्बुलेन्स चालकले नेपालबाट के जान्छ त नि भारत भनेर सोधे मलाई । मैले दिल्लीमा पाइने मम छ नि हो त्यो नेपाली हो र त्यो बनाउने प्रायः सबै नेपाली हुन् भनेको थिएँ । दिल्लीमा चौधरी गुप्रको चाउचाउ पनि भेटेका थियौँ हामीले ।
एक महिनाको उपचारपछि नेपाल फर्कने दिन आयो । शनिबार र आइतबार छाडेर तारिख लागेजस्तै हरेक दिन एक बजेतिर अस्पताल जाने, त्यहाँ पुगेर किमोको ट्याब्लेट खाने अनि रेडियसन गर्ने दैनिकी सकिएको थियो । हरेक शुक्रबार सिबिसीका लागि रगत दिने क्रम पनि स्थगित भएको थियो । ऊ पनि तगडा हुँदै गएकी थिई । कहिलेकाही उनीहरु दुई दाइ बहिनी मात्र अस्पताल जान्थे । म घरै बस्थें । उसले उपचार प्रक्रियामा धेरै पटक नेपाल जाने भनेर जिद्दी गरेकी थिई । छोराको साह्रै क्लेश थियो । पटकपटक तिमीहरुले मलाई बोरामा पोको पारेर लैजान्छौँ भन्थी । उसलाई जीवनप्रति त्यति धेरै आशा थिएन । हामी पनि निराश त थियौँ तर उसका अगाडि हामी केही भन्न सक्दैन थियौँ । अब सन्चो भयो भन्थ्यौँ तर डाक्टरले घर बसेर आए पछि मात्र औषधीले काम गरे नगरेको थाहा हुने बताएका थिएँ । अस्पतालबाट बिदा हुने बेला उसले डाक्टरसँग एउटा सेल्फी खिच्न खोजेकी थिई तर डाक्टरले ‘अभी नही’ भनेर फोटो खिच्न दिएनन् । पछि खिचौँला भनेका थिए । तर त्यो दिन कहिल्यै आएन । घर आउने दिन ब्याग आफै मिलाई । एउटा ब्याग आफै पनि बोकी । त्यसदिन पवन दाइ आउनुभयो कि ओला बुक गरिदिनु भयो मैले बिर्से । हामी नेपाल आउन साँझको बस चढेर हिड्यौँ । त्यो पुसको सात आठ गतेको कुरा थियो ।
भोलिपल्ट बुटबल बस्यौँ । पर्सिपल्ट उनीहरु दुई दाइ बहिनी अर्घाखाँचीतिर लागे । म भारी मन लिएर अचानक अल्पायुमै एक दिन व्यथा लागेर आन्टी बितेपछि शोकमा पर्नु भएका ढुण्डीराज अंकललाई भेट्नका लागि तम्घासको गाडी चढें । भारी मनले उहाँ लगायत सपरिवारलाई भेटे । भोलिपल्ट मेरो आफ्नो अंकलसँग फेरि उसलाई भेट्न अर्घाखाँची गयौँ । बाटोमा बुहारीको व्यथाको चिन्ता गर्दै आमा रोएको खबर धन दिज्युबाट थाहा पाएँ । बा आमासँग फोनमा कुरा त भएको थियो प्रत्यक्ष भेट भने भिनाजु र अंकलका साथमा भयो । बहिनीले बा रोएको कहिल्यै देखिकी थिइन् भाउजूको अप्रेसनका दिन रुनुभयो भनेर सुनाएकी थिई । त्यसैले भेटमा बा आमासँग मैले उसको कुरै गरिन । मुख हेरेर कुराकानी पनि गरिन । म भावुक बन्न चाहन्नथे । आजसम्म पनि बाआमासँग उसका कुरा गरेको छैन । भोलिपल्ट फेरि तम्घास गएर घर आए पछि बिस्तारै हामी सामान्य बन्दै गयौँ । घरमा बाआमा र म मात्रै थियौँ । केछ भन्दा ठिक छ भनेरै मैले बाआमासँगको भावुकतालाई जितेको थिएँ । पछि पालैपालो अर्घाखाँची गएर बा आमाले उसलाई भेट्नुभयो । त्यसपछि भने उहाँहरु पनि ढुक्क हुनुभयो ।
एक महिनापछि प्रकाश ज्वाइसँग पुनः दिल्ली गयौँ । कृष्ण दाइले रुमको चाबी दिनुभएको थियो । हामी उही गयाँै । उसको स्वास्थ्य अवस्था सुधारउन्मुख थियौँ । डाक्टरले दुई महिनामा आउनु भनेर फर्काएका थिए । दिल्लीबाट फर्कदा सुनौलीमा भारततिर कोरोनाको हेल्थ डेस्क राखिएको थियौँ । अनौठो लाग्थ्यो कोराना भन्दा पनि । म त्यो डेस्क ज्वाइलाई देखाएर हाँसे पनि तर घर आइपुग्दा नपुग्दै दुवैतिर लकडाउन भयो । औषधी जम्मा तिन महिनालाई मात्रै लिएर आएको थियौँ । दुई महिनामा औषधीको चिन्ता प¥यो । डाक्टरलाई फोनमा नेपालमा पाइने औषधीको विकल्प सोध्यौँ । उनले एउटा औषधी बताए । तर गणेश अंकलले त्यस्तो अवस्थामा पनि दिल्लीबाट औषधी घरै ल्याइ पु¥याउने व्यवस्था मिलाउनुभयो । औषधीको बिलहरु दिल्लीबाट राजु दाइले चुक्ता गरिदिनुभयो । करिब आठ दश महिना घरै बसेर औषधी खाई उसले । गएको दशैं र तिहारको बीचमा विष्णु मेडम, बाबु र हामी दुई कोराना त्रासका बीच दिल्ली पुगेर आयौँ । उसको किमोको औषधी निरन्तर चलिरहेकै थियो । दिल्ली जाँदा उसको अस्पतालको रोल नम्बर २६३५०८ लिएर गएका थियौँ । हामीसँग कुनै अरु रिपोर्टहरु थिएनन् । त्यही नम्बरकै आधारमा उसको थप चेकजाँच गरेर आएका थियौँ । सिर्फ एउटा कार्ड थियो गोजीमा । बोर्डरमा पनि त्यही कार्डका आधारमा हामी गएका थियौँ ।
अत्यन्त भयानक रोगको उसको एक वर्षे यात्रा सामान्य जीवनशैलीमै पूरा भएको थियो । निद्रामा बाहेक हामी बाका शब्दमा ‘त्रास र आशा’को समय काटिरहेका थियौँ । खै के जानेर हो बाले यो वर्ष केही हुँदैन भनेर भन्नुहुन्थयो । दशैँसम्म ढुक्क छ नै भन्नुहुन्थ्यो । उसका आमाछोरा घर माइत गरिरहेका थिए । यो वर्षका कुनै रात पनि म ढुक्कले सुत्न सकिन । ऊ कुसुत्त चल्दा पनि म उठेर हेर्थे । माइत गएका बेला राति अबेर वा बिहानै छिट्टै फोन आयो भने मेरो डर बढ्दथ्यो । कहिलेकाही फोन लागेन भने पनि मेरो सातो जान्थ्यो । एकाध पटक घरमा एकाघ पटक माइतमा अलिअलि टाउको दुख्यो भन्नु बाहेक अन्य समस्या आएन । एकपटक दाँत दुखेर अलि दुख पाई नभए अवस्था सामान्य थियो । तर क्यान्सर जस्तो दीर्घ रोगको सामना गर्दा हामी बेलाबेला निराश हुन्थ्यौँ नै । बस् ।