प्रविधिमैत्री बन्दै न्यायालय

आदर्श अनलाइन, बागलुङ

अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ ।
फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन । उच्च अदालत पोखरा बागलुङ इजलासको वेभसाइडमा अपलोड हुन्छ । जबकि २१ दिन भित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ । उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो समय आफूलाई प्रविधिमैत्री बनाएर न्याय सम्पादनमा चुस्तता प्रदान गर्न थालेको छ ।

जनतामा न्याय महङ्गो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्नका लागि न्यायालयले आफूलाई छिटो छरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसाथ गरिएको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेशी तथा फैसलाको सूची समेत वेभसाइटमा हुन्छ । कोरोना महामारीको समयमा एक दर्जन अत्यावश्यक मुद्दा भर्चुअल माध्यमबाटै बहस भएर छिनोफानो भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार तथा सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिनुभयो ।

“न्याय सम्पादन छिटो छरितो गराउन सकेमा मात्रै अन्यायमा परेकालाई न्यायको आभाष हुन्छ, अहिले न्यायालयहरु क्रमशः प्रविधिमैत्री बन्दै गएका छन्, मिसिलहरु स्क्यान गरेर कम्प्युटरमा राख्ने गरिएको छ” सुवेदीले भन्नुभयो “केही मुद्दाहरु कोरोना महामारीका बिच कानून व्यवसायीले आफ्नो फर्मबाटै भर्चुअल माध्यमबाट बहस गरेर अदालतबाट न्यायाधीसले फैसला समेत गर्नुभयो, मुद्दाका पक्ष विपक्षले फर्मबाटै फैसला सुने ।” रजिष्ट्रार सुवेदीका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम प्रयोग गरि छिटो छरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाउँ भनी निवेदन दिएको १५ मिनेट भित्रै उपलव्ध गराउने र दोभासेका लागि साङे्कतिक भाषाका लागि जनशक्ति तयारी समेत गरेको छ ।

आदालतको वेभसाइटमा प्रमाणिकरण भएका फैसला, दैनिक पेशी सूची, साप्ताहिक पेशी सूचि, पूरक पेशी सूची, मुद्धाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राखिएको छ । अदालतले जनतालाई सरल तरिकाले न्याय सम्पादन गर्नका लागि आफूलाई प्रविधिमैत्री बनाउदै लगेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायधीश द्वारिकामान जोशीले बताउनुभयो । मुद्दको विवरण सफ्टवयरमा भर्दा साथ मुद्दको फैसला गर्ने अवधी समेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मी संग निरन्तर अदालतमा भएको मुद्दा फछ्यौटको विषयमा अन्तरक्रिया गरिएको न्यायाधीश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दा दर्ता गर्ने समयमा मोवाइल नम्बर उपलव्ध गराएमा पेशीको जानकारी लगायतका सुचना एसएमएस मार्फत प्रदान गरिएको र फैसला वेभसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ ।
“न्यायालय प्रतिको परम्परागत जनधारणा बदल्न आवश्यक ठानेका छौं, पहिला जस्तो एउटा मुद्दा बसौं सम्म फैसला नहुने भन्ने हुँदैन, हाम्रो अदालतका २ वर्ष नाघेको मुद्दानै शुन्य अवस्थामा छ” न्यायाधीश जोशीले भन्नुभयो “न्यायालयहरु समेत विस्तारै जनमुखी र सेवा प्रवाहमा चुस्तता दिन प्रयास गरिरहेका छन्, जस्लाई प्रविधिले सघाउ पु¥याएको छ ।

उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेख समेत राख्न थालिएको छ । मिसिलहरु कुहिने, हराउने र बिग्रिने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । अदालतमा ५ हजार १६५ मिसिल कम्प्युटरमा इन्ट्री गरिएको छ । यस्तै, ७ सय ३८ वटा स्क्यान गरिएका मिसिल राखिएको छ । डिजिटल अभिलेख राख्न अन्य अदालतबाट मिसिल झिकाउँदा साथ डिजिटल कपी तुरुन्तै पठाउन समेत सहज भएको छ । जसका कारण अदालत बिच समेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलहरुको स्क्यान कपी राख्ने अदालतमा तयारी छ ।

उच्च अदालत पोखरा बागलुङ इजलासले आर्थिक वर्ष २०७७/०७८ मा १७७ मुद्दा फछ्यौट गरेको छ । २०७७÷०७८ मा जिम्मेवारी सरेर आएका १४९ मुद्दा र नयाँ दर्ता भएका २०३ मुद्दा गरी ३५२ मुद्दामा जम्मा १७७ मुद्दा फछ्यौट भएको हो ।

कोरोनाको कारण अदालतले लक्ष्य अनुरुपको मुद्दा फछ्यौट गर्न नसकेको उच्च अदालत पोखरा बागलुङ इजलासले जनाएको छ । गत आर्थिक वर्षमा ५०.२९ मुद्दा फछ्यौट गरेको छ भने १७५ मुद्दा बाँकी छ । उक्त मुद्दा आर्थिक वर्ष २०७८/७९ मा जिम्मेवारी सरेको छ । अदालतका सेवाग्राहीलाई मद्दत गर्नका लागि के म सहयोग गर्न सक्छु भनेर ज्याकेटमा लेखिएको एक जना सहयोगी समेत खटाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *