सरोजराज पन्त
नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ जिल्लाको एक महत्वपूर्ण पालिका ताराखोला गाउँपालिका हो । जिल्लाको मध्य भागमा पूर्वमा काठेखोला गाउँपालिका, पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरपालिकाको बिचमा अवस्थित छ । पाँच वटा वडा रहेको यस गाउँपालिकामा साविकका अर्गल, अमरभूमी, हिल र तारा गाविस छन् । यस गाउँपालिकाको सबैभन्दा होचो भाग समुन्द्री सतहबाट करिब १४ सय मिटर देखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाईमा छ । यसको औसत लम्बाई १९०९१ मिटर र चौडाई ८६५३ मिटर रहेको गाउँपालिकाको कुल क्षेत्रफल १२८ं.२८८ वर्ग किमी रहेको ताराखोलामा जनसंख्या १२ हजार ९ रहेको छ । भौगोलिक तथा सास्कृतिक विविधता भएको यस गाउँपालिकामा जनजातीको बहुल्यता छ । आपसी श्रमविभाजन, श्रम साटासाट, हुद्दा, पर्मबाट कृर्षि कार्य गर्ने साझा चाडपर्व र स्थानीय उत्पादनमा जोड दिने, आधारभुत खाद्यान्न र घरेलु उत्पादनमा जोड दिने, आलु, भाँगो, भट्टमास, सिमी, मकै, जौ, कोदो, उवा आदि उत्पादन गर्ने, घरेलु वस्तुहरुमा डोको, डाली, सोली, काइयो, खुर्पेटो जस्ता वस्तुहरुको निमार्ण र प्रयोगगरी स्थानीय पहिचान दिनु, व्यवहारिक दैनिक समस्या सुल्झाउनु र एकताको भावना विकास गरि जिउनु यो क्षेत्रका मुख्य विशेषता हुन् ।
ताराखोला गाउँपालिका प्राकृतिक साधन र स्रोतमा धनी छ । यहाँ फलाम, तामा, स्लेट आदि खानीहरु लगायत जल, जङ्गल, जडिवुटी र जमिनको प्रचुर सम्भावना छ । तथापि, आर्थिक, सामाजिक, साँस्कृतिक स्रोत र मानवीय साधनहरुको समुचित प्रयोग र व्यवस्थापन नहुँदा अपेक्षित विकास हुन सकेको छैन । शिक्षा, स्वास्थ्य, यातयात, रोजगारी आदि आधारभूत आवश्यकताको परिपूर्ति शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि उत्पादनमा जोड दिई प्रतिव्यक्ति आयमा बृद्घि गर्न सकेमा छोटो समयमा यस पालिकाले विकासको फड्को मार्न सक्ने देखिन्छ । यसको लागि सवल र सक्षम नेतृत्व, प्रभावकारी प्रशासन, सचेतना, दीर्घकालीन यातायातको सुविधा, प्राकृतिक साधन र स्रोतको समुचित सदुपयोग, सामाजिक र साँस्कृतिक पहिचान र उपयोग तथा मानवीय श्रमको व्यवस्थापन गर्न अत्यन्त जरुरी छ ।
मगर जातिको बाहुल्यता रहेकोले सामाजिक र साँस्कृतिक परम्परामा आधारित माघी, असारे, भदौरे, भुसपोल्ने, सिस्नोखोस्ने आदि पर्वहरु र झाम्रे, गोपिचन, सोरठी, ख्याली आदि यहाँका मौलिक पहिचान तथा पर्यटकीय गन्तव्य गाईघाट झरना क्षेत्रमा स्वीमिङ्ग पुल, हामस्टे, होटेल, रेष्टुरेन्ट जस्ता पर्यटकीय पूर्वाधारहरु सार्वजानिक निजी साझेदारीमा स्थापना गरी सञ्चालन गर्ने सकेमा गाउँपालिकाले विकासको गति लिन ढिला हुने छैन ।
आलु र भाँगोका लागि प्रख्यात ताराखोला गाउँपालिका स्थानीय उत्पादनका लागि महत्वपूर्ण छ । बर्खे आलु फल्ने ताराखोलामा घरायसी मल र छापो गाँडेर आलु लगाउने, रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउ मात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैको रोजाई बनेको छ । हिउँदमा लगाएर वर्षाको समयमा उत्पादन हुने ताराखोलाको आलु बजारमा चर्चित छ । उच्च पहाडी भूभागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो छ । लामो समय माटोमुनि रहेकोले यहाँको आलु चिसोले तुरुन्त नबिग्रिने र कार्वोहाइडेड सङ्कलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुन्छ । बागलुङको ताराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ । आलुबाट नाम कमाएको ताराखोलाको पहिचान ‘आलु मीठो ताराखोलाको’ गायिका खिमा रोका मगर र गायक तथा सर्जक वसन्त थापाले गाएको लोकगीतमा जस्तै ताराखोलाको आलु स्वादिलो भएकाले बर्षेनि यहाँको आलुको माग बढिरहेको छ । यहाँका किसानले आलुको उत्पादन व्यावसायिक रूपमा गर्ने गरेकाले स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण गर्न जटिल नभएको र किसानलाई व्यावसायिक बनाउनका लागि ताराखोला गाउँपालिकाले योजना बनाएर ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरेकोले किसानलाई उत्साहित बनाएको छ ।
व्यावसायिक आलुको उत्पादन गर्ने किसानका लागि अनुदान दिएको, गत आर्थिक वषर्मा छ हजार तीनसय ओखरका बोटहरु रोप्न उत्साहित गराएको छ । गाउँपालिकाले पचास प्रतिशत अनुदान दिएपछि करिमेला र लावाङमा बिरुवाहरु रोपिएको छ । कृषिलाई व्यावसायिक बनाएर घरघरमा उद्यमी बनाउने अभियान सफल पार्न ती बिरुवा वितरण गरेर उत्पादनका लागि हौसला समेत दिएको छ । अनुदानमै अलैँची खेती विस्तार गर्न प्रेरित गरेको छ । खाद्यान्न बाली मकै, कोदो, जौँ, गहुँ, फापर, धान ,आलु, मूला, लसुन, प्याज, केराउ, भटमास, भाँगो, अलैँची, किबीजस्ता नगदे बाली पनि व्यावसायिक रूपमा उत्पादन गर्ने कार्यको शुरुआत गाउँपालिकाले गरेको छ । चालू आवमा ताराखोलाका पाँच वडामा आलु सात सय बाह्र, अलैँची तीन, भाँगो एक सय चौसठी, किबी २.५ मेट्रिक टन तथा ओखर १७० केजी उत्पादन भएको छ । बाख्रा फार्म १३, भेडा फार्म चार, बङ्गुर फार्म पाँच, भैँसी फार्म छ, कुखुरा फार्म सात एवं तरकारी टनेल ८१ वटा सञ्चालनमा छन् । प्लाष्टिक टनेल वितरण, बाख्रा फार्म सञ्चालन र पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । ताराखोलाकै पँधेराखोला र नाङीमा किवीको पकेट क्षेत्र विस्तार गरेको छ । आलु लगायत कृषि उत्पादनको बजारीकरणका लागि सङ्कलन केन्द्र स्थापना, भातखाने डाँडा, करिमेला र अर्गलमा भण्डारण केन्द्र निर्माणको काम थालिएकोले सङ्कलन केन्द्रको निर्माण पछि तत्काल बिक्री नहुने कृषि उत्पादनले फाइदा हुनेछ ।
कृषि उत्पादनसँगै मौलिक पहिचान बोकेका साँस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने देखिन्छ । यस क्षेत्रमा जटिबुटी र खानी प्रशस्त भएकोले अनुसन्धान केन्द्र स्थापना गर्न सकेमा, नेपाल सरकार र स्थानीय सरकारले आलु जोनसँगै तोकिएको स्थानमा पकेट क्षेत्र पनि सञ्चालन गर्न सकेमा, दीर्घकालीन योजना निर्माण, सोही अनुसार बजेट व्यबस्था गरी कार्यान्वयन गर्न सकेमा, लगानी र अनुदानको व्यवस्थापन गरेमा, शैक्षिक गुणस्तर बढाउन र आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउन प्राविधिक विषय पठनपाठन हुने क्याम्पस स्थापना गर्न सकेमा, योजनामा सामूहिक काम गर्ने, तालिम दिने र प्रविधिको उपयोगबारे सचेतना बढाउने, जनसहभागिता जुटाउन सकेमा र सामुहिक भावनाको विकास गरी काम गर्न सकेमा यस क्षेत्रको विकास निर्माणमा सहज हुने देखिन्छ ।
प्रधानमन्त्री कृषि परियोजनाले यस क्षेत्रलाई आलु, अलैंची र मकैको पकेट इलाका घोषणा गरेकोले यस कार्यक्रम मार्फत विकास गर्न सकिने सम्भावना छ । गाउँपालिकाको स्वामित्वमा जग्गा लिएको जमिनमा आलु र फापर खेती गर्ने र सामूहिक काम गरेपछि आउने उत्पादनको आम्दानीबाट कामदारलाई तलब दिने, कृषि कोष बनाउने र नयाँ किसान प्रवद्र्धनको योजना बनाइएको छ । दीगो विकासको लक्ष्यलाई आधार बनाएर ‘कृषि, वन, खनिज, उद्यमशीलताका लागि सवल पूर्वाधार, समृद्धि र समन्यायिक ताराखोला विकासको मूल आधार’ भन्ने दीर्घकालीन साेंच गाउँपालिकाले अघि सारेको छ । ताराखोलाले प्राकृतिक स्रोत तथा सम्पदाको व्यवस्थित उपयोग, मानवीय जनशक्तिको समुचित परिचालन र विद्यमान अवस्थामा समय अनुकूल प्रविधिको विकास गरेर कृषिमा व्यावसायिकीकरण गर्ने लक्ष्य लिएको छ ।
कृषि प्रदान देशमा ६ महिनाका लागि कृषि उपज उत्पादन गर्न नसकेको अबस्था छ भने उत्पादित उपजहरुको बजारीकरणका लागि किसानका खेतबारीसम्म सडकको पहुँच विस्तार नहुँदा किसान उत्साहित छैनन् र विदेश जानेहरु धेरै छन् । मुख्य पेशा कृषिमा किसान माटो सुहाउँदो बाली र उत्पादन, बाली सुहाउँदो व्यवसाय र सहज जिविकोपार्जन आजको आवश्यकता भएता पनि उत्पादनलाई आयआर्जनसँग जोड्न नसक्दा कृषि पूर्वाधारको विकास तथा कृषिमा यान्त्रीकरण प्रवद्र्धन कार्य अपेक्षित रुपमा हुन सकेको छैन । गाउँमा जग्गा बाँझो रहने अबस्था छ । त्यसैले खाली जग्गामा फलफूलका बिरुवा रोप्ने, जडिबुटी उत्पादन, बाख्राको उत्पादन बढाउन पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना कृषि तथा व्यावसायिक फार्म स्थापना गर्न सकेमा राम्रो हुने देखिन्छ । गाउँमा श्रमको संस्कृति हराउन नदिन पढेका युवा युवतीलाई व्यावसायिक र आत्मनिर्भर हिसाबले लघुउद्यम विकास गर्न तथा ग्रामीण श्रममा लाग्न उत्साहित गर्ने आर्कषक योजना बनाउन जरुरी छ । ताराखोला खनिज र खानीजन्य पदार्थका लागि उर्वर भूभाग भएकोले यहाँ रहेका स्लेट ढुङ्गा लगायतका अन्य खानीजन्य उद्योगको प्रवद्र्धन गर्ने, पर्यापर्यटन प्रवद्र्धन मार्फत स्थानीय उत्पादनमा बृद्घि र खपत गर्ने मात्र नभई रोजगार सृजना हुने भएकोले यसमा योजना बनाए आवश्यक छ ।
ताराखोला गाउँपालिका लोकपरम्परा मौलिकता, सामाजिक र साँस्कृतिक पहिचानका कारण धेरै सम्भावना बोकेको क्षेत्र भए पनि केही अन्धविश्वास बिद्यमान रहि रहँदा र आधुनिकताका नाममा मौलिक पहिचानलाई बिर्सदै पश्चिमी संस्कृतिको अनुसरण भएकोले बढेकाले हलो, पढेकाले हलो, युवाले थलो छोड्ने संस्कारको विकास भएको छ भने गाउँमा बुढाबुढी र भुराभुरी रहने अबस्था छ । विप्रेषणमा रमाउने समाजमा आएसँगै अनेकौ विकृति भित्रिएका छन् । जसमा जुवा तास, रक्सी ,चुरोट, खैनी, बजारका भड्कीला उत्पादन गाउँ भित्रिर्दे जाँदा लागू पदार्थको दुव्र्यसन समेत बढ्दो छ ।
कुनै पनि स्थानको आर्थिक विकास गर्न उत्तम किसिमको व्यवहारिक शिक्षा आवश्यक हुन्छ । तब मात्र प्राकृतिक साधन र स्रोतहरुको समुचित प्रयोग गर्न व्यक्ति लालायित हुन्छ । त्यसको सही व्यवस्थापन गर्न स्थानीय तह र राज्यको सबै स्तर लाग्न सक्नु पर्दछ । आर्थिक अवस्था असल भएमा मात्र अर्थोपार्जन र आर्थिक सामाजिक, साँस्कृतिक, मानवीय साधन र स्रोतको सही परिचालन हुन्छ । यिनै साधन र स्रोतको व्यवस्थित परिचालन हुन नसक्दा कुनै पनि व्यक्ति वा राज्य व्यवस्था गरिब हुने हुनाले सबै भएर पनि हामी गरिब बन्न विवश छौ ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग उत्पादनसँग, उत्पादनलाई समृद्धिसँग र समृद्धिलाई सन्तुष्टिसँग जोड्न नसकेको कारण आजको शिक्षाले अपेक्षित रुपमा काम गर्न सकेको छैन । शिक्षा केवल ज्ञान हासिल गर्न र कमाई खाने भाडो मात्र बनेकोले शिक्षा प्रति युवाहरूको नकारात्मक सोच बढेको छ । पढेर के काम विदेश गएर मात्र रोजी रोटी पाउन सकिन्छ भन्ने धारणा विकास हुनुले गर्दा आज देशमा पढेका मानिसको जीविकोपार्जन कमी बनेको उनीहरूको बुझाई छ । राज्यले प्राध्यापक, शिक्षकलाई हेर्ने दृष्टिकोण र व्यवहारको कारण पनि नेपालमा समस्या आएको छ । यी सबै कुराको आत्मसाथ गरी ताराखोलालाई आलु, फापर, भागो सिमीको पकेट क्षेत्रको रूपमा विकास गर्न, कृषिमा आधुनिकीकरण गर्ने बेमौसमी खेतीतर्फ उत्प्रेरित गराउने, बाख्रा, कुखुरा, कालिज पाल्न प्रेरित गर्न सीपमुलक तालिमहरु दिने आत्मनिर्भर बन्ने तालिमहरू सिलाई बुनाइर्, पलम्बर, इलेक्ट्रिसीयन, व्यूटिपार्लर, मिनिटेलर, मोबाइल, हेयर कटिङ, कम्प्युटर, ल्यापटप मर्मत तालिम, डकर्मी, सिकर्मी तालिम जडिबुटी उत्पादन, सम्बन्धी तालिम आदि दिन सकेमा स्थानीय युवा विदेशिने समस्या समाधान हुनेछ । र यसबाट स्थानीय रकम बाहिरिने समस्याबाट मुक्त हुने र आत्मनिर्भर बन्न सहज हुनेछ । स्थानीय उत्पादनको क्षमता अध्ययन गरी स्थानीय खाद्य वस्तु उत्पादन गरी आत्मनिर्भर बन्न सकेमा यसबाट छोटो समयमा ताराखोला आत्मनिर्भर बन्ने सक्ने देखिन्छ ।