ठेकेदारको खोजी र खबरदारी

म्याग्दीको रणनीतिक सडक अलपत्र पारेपछि ठेकेदारको बिरोधमा राखिएको ब्यानर ।

सम्पादकीय
निर्माण व्यवसायी अर्थात् ठेकेदार चौतर्फी बदनाम छन्, आलोचित छन् । कारण ठूला साना कैयन आयोजना वर्षौदेखि अलपत्र छन् । कैयन कार्य हतारमा गुणस्तरहीन छन् । कति पूर्वाधार बनाउँदा बनाउँदै भत्केका छन्, भासिएका छन् । कति निर्माणको महिना नबित्दै उक्किएका छन् । कति कागजमा पुरा भएका छन्, काममा अधुरो छ । यसले गर्दा निर्माण व्यवसायीले गरेका सत्कर्म सत्प्रयासहरु पनि ओझेलमा परेका छन् । उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण नै खराब बनिरहेको छ । पछिल्लो समय यो अझ ब्यापक बन्न थालेको छ । तर, लामो समयदेखि मौनता साँध्ने गरेका नागरिकहरुमा तीब्र आक्रोश पैदा हुन थालेको छ । जसका कारण ठेकेदारको बिरोध प्रदर्शन देखि अरु पहल र दबाबमूलक कार्य समेत गर्न लागेका छन् ।

यसको पछिल्लो उदाहरण म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार प्रति स्थानीयले जाहेर गरेको व्यंग्य मिश्रित आक्रोश हो । बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभी दोलखाका सञ्चालक जिपछिरिङ लामाको तस्वीर कालो पोतेर सडक छेउमा झुण्डयाइएको छ । दुई पटक थपिएको सम्झौताको म्याद गत चैत महिनामा सकिएको बेनी–दरवाङ सडक आयोजनाको बेनीबाट सिमसम्मको पहिलो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ । यता, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको अझै कन्त बिजोगकै अवस्था छ । केही महिना पहिले बागलुङका स्थानीयले पनि सामाजिक सञ्जालमा ठेकेदारको फोटो राखेर बिरोध प्रदर्शनको अभियान चलाइयो । बिहुँका स्थानीय युवाले त अघिल्लो साता पनि आन्दोलनमा उत्रिएर वर्षौदेखि पाइरहेको सास्ती अब सह्य नहुने उद्घोष गरे र ठेकेदारलाई अघि राखेर अबको एक वर्षमा सक्ने कबुल नै गराए । अरु कैयन योजना, आयोजना पनि अलपत्र, ढिलासुस्ती, गुणस्तरहीन अवस्थामा देखिन्छन् ।

निर्माण व्यवसाय अर्थात् ठेकेदार सबै नराम्रा मात्र पनि छैनन् । समयमै काम सम्पन्न गर्ने, गुणस्तरिय रुपमा कार्य सम्पादन गर्ने इमान्दार ठेकेदार पनि धेरै नै छन् । तर, दुर्भाग्य योजना, आयोजना अलपत्र पर्नु, समयमा काम नहुनु सामान्य जस्तो हुन थालेको छ । यस्ता पात्रलाई सरकारले नियम अनुसार कारबाही गर्न सक्दैन । जसले गर्दा यस्ता पात्र र प्रवृत्तिले समाजमा प्रश्रय पाइरहेको छ । म्याग्दीको सडक मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डको अझै कन्तबिजोग छ । वर्षौदेखि सत्ता, शक्ति र चाकडीकै बलमा योजना आयोजना अलपत्र पारेर नागरिकलाई सास्ती दिने ठेकेदार विकासका बाधक मात्रै होइनन्, समग्र निर्माण व्यवसायलाई नै बदनामित गर्ने पात्र हुन् । अतः ठेकेदार खोजौं, सरकारलाई सोधौ, खबरदारी गरौं । खराब पात्र र प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *