शुभेक्षा पन्त
राज्यको कानूनबाट सञ्चालित हुन्छ । कानून विना समानता, सुरक्षा, अधिकार, कर्तव्यको अनुभूति गर्न सकिदैन । विभिन्न प्रकारका कानून मध्ये सम्पत्ति, पद, प्रतिष्ठा, पारिवारिक, करार जस्तै विभिन्न विषय समेटेको कानून देवानी कानून हो । देवानी कानूनको उद्द.श्य व्यक्तिहरुको हक, अधिकार, कर्तव्य आदि नियमित र व्यवस्थित गर्नु हो । यस कानूनमा व्यक्तिको विवेक र प्रयास लागेको हुन्छ । पारिवारिक सम्बन्धहरु व्यवस्थित गर्ने पारिवारिक कानून र सम्पत्ति कानून अन्तर्गत पर्ने विषय नै स्त्रीधन र अपुताली हो । स्त्रीधन भनेको महिलाको एकलौटी सम्पत्तिलाई बुझिन्छ र अपुताली भन्नाले कुनै पनि व्यक्तिको मृत्यु पछि उसको सम्पत्ति उसको हकवालामा वा सरकारमा सर्ने काम हो ।
स्त्रीले पाएको चल, अचल सम्पत्ति, दाइजो वा पेवाबाट पाएको सम्पत्तिलाई स्त्रीधन भनिन्छ । स्त्रीधन स्त्रीले आफू खुसी प्रयोग गर्न पाँउछिन् । स्त्रीधनमा स्त्रीको अधिकार रहेको हुन्छ । विवाहका अवसरमा उनलाई उनको परिवार जस्तैः आमा, बुबा, पति, दाजु भाइ, मामा इत्यादिले दिएको धनलाई स्त्रीधन भनिन्छ । विवाह भएपछि पति, सासु वा ससुराबाट पाएको धन, उत्ताराधिकारी, खरिद, अंश वा अन्य किसिमबाट प्राप्त धन र छोडपत्र गर्दा पाएको धन, नातेदारहरुले दिएको धनमा स्त्रीको अधिकार रहने गर्दछ । धर्म शास्त्रहरुमा पनि स्त्रीधनको बारेमा चर्चा गरिएको पाइन्छ ।
त्यतिबेला कौटिल्य, मनु, याज्ञवल्क्य, शुक्राचार्यले स्त्रीधनको बारेमा परिभाषा दिएका छन् । नेपालमा स्त्रीधनको बारेमा मुलुकी ऐन, १९१० मा पनि केही व्यवस्था गरिएको थियो । यसैलाई अगाडि बढाउँदै मुलुकी ऐन, २०२० मा स्त्री धनको महलमा यसको व्यवस्था गरिएको पाइन्छ । अहिलेको मुलुकी देवानी संहितामा भने मुलुकी ऐन, २०२० को जस्तै गरि स्त्री धनको छुट्टै व्यवस्था नगरिए तापनि यसको व्यवस्थामा सम्पत्ति सम्बन्धी कानूनमा केही मात्रमा उल्लेख गरिएको छ । स्त्री धन स्त्रीको स्वामित्वमा हुने धन हो । यसमा निजको मात्र हक लाग्ने गर्दछ ।
स्त्रीको मृत्यु भए पछि स्त्री धन उसका उत्तराधिकारीमा सर्ने गर्दछ । जसमा सर्वप्रथम उनका अविवाहित कन्या छोरीमा जान्छ । उनी नभएमा क्रमशः विवाहित तर गरिब छोरी, धनी विवाहित छोरी, छोरीको छोरी, छोरीको छोरा, निज स्त्रीको छोरा, छोराको छोरा, पति, पतिको नातेदार, नीजको माता, पिता, पिताको सपिण्ड गर्दै कोही नभएमा त्यस्तो सम्पत्ति राज्यको हुने गर्दछ । यसको बारेमा मिताक्षरा सम्प्रदायमा व्यवस्था गरिएको छ । मिताक्षरा याज्ञवल्क्य स्मृति माथि लेखिएको भाष्य हो । यसका लेखक विज्ञानेश्वर हुन् । कुनै पनि व्यक्तिले आफ्नो ज्ञान, सीपबाट पाएको सम्पत्ति उसको नीज सम्पत्ति हुन्छ । दान, बकसबाट प्राप्त गरेको सम्पति, उपहार पाएको सम्पत्ति, बौद्धिक सम्पत्ति आदि कुनैपनि व्यक्तिको निजी सम्पत्ति अन्तर्गत पर्दछ । सोही सम्पत्तिको अपुताली विभिन्न हकवाला व्यक्तिले पाउने गर्दछन् । अपुताली भन्नाले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्यलाई बुझिन्छ । कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिनेछ । कुनै व्यक्तिको अपुताली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउनेछ । कुनै व्यक्ति नजिकको हकवाला हुँदा हुँदै आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउनेछ । त्यस्तो सम्पत्ति उत्ताराधिकारी भएमा उनीहरुमा सर्ने गर्दछ । स्त्रीकोधन कसले पाउछँ र अन्य व्यक्तिको सम्पति कसले पाँउछ भनेर कानूनमा व्यवस्था गरिएको छ । छोराछोरी नभएका व्यक्तिको सम्पत्ति नै अपुताली हो ।
कुनै पनि व्यक्तिको मृत्यु भईसकेपछि निजको सम्पत्ति सुरुमा पत्नी, पतिमा जान्छ र निजहरु पनि नभएमा छोरा, अविवाहित छोरी, छोराको छोरा आदिमा सर्दछ । यदि उनीहरु कोही नभएमा उसको सम्पत्ति विवाहित छोरी, छोरीको छोरा, छोरीहरुले पाँउदछन् । यदि उनीहरु पनि कोही नभएमा कानून बमोजिम अन्य हकवालामा सर्दछ । यसरी अपुताली हकवालाहरुले पाउँदछन् । यदि उनीहरु पनि नभएमा त्यस्तो सम्पत्ति राज्यको हुने कानुनी व्यबस्था छ । अपुतालीको व्यवस्था मुलुकी ऐन, २०२० मा पनि गरिएको थियो र हालको मुलुकी देवानी संहिताको भाग ३ को परिच्छेद ११ मा यसको व्यवस्था गरिएको छ । भिन्न बसेका हकवालाले पनि अपुताली पाउने व्यवस्था छ र कसैलाई पनि अपुताली स्वीकार गर्न कर लाग्दैन । अपुताली पाउने व्यक्तिलाई कानूनले नै अधिकार तथा दायित्व प्रदान गरेको हुन्छ । जसमा मृतक व्यक्तिको किरिया गर्नु पर्ने उसले लिएको ऋण तिर्नु पर्ने आदि हुन् । संविधानको धारा १८ मा समानताको हक अन्तर्गत पुरुष र महिला बिच विवाहित तथा अविवाहितका आधारमा विभेद नगरिने भनी संवैधानिक प्रत्याभूति दिइएको छ । सर्वोच्च अदालतलले कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने ठहर गरेको छ ।
नेपालको कानूनमा कानूनको स्रोतको रुपमा रहेको प्रथाको ठूलो भूमिका रहेको छ । नेपालको कानून धार्मिक कानूनसँग सम्बन्धित भएकाले पुर्खादेखि नै स्त्रीधन, अपुताली, उत्ताराधिकारीको व्यवस्था गरिएको छ । हिन्दु धार्मिक सम्प्रदायको दयाभाग, मिताक्षरा मध्ये नेपालमा मिताक्षरा सम्प्रदाय प्रख्यात रहेको छ । त्यहीँ सम्प्रदायमा आधारित भई नेपालको कानूनले यी विभिन्न विषयलाई अगाल्दै आएको छ । त्यसैले नीति, नियमको व्यवस्थासँगै, हाम्रा प्रथा, परम्परालाई सदैव आत्मसाथ गर्दै अगाडी बढ्ने हुनाले कानून महत्वपूर्ण अति आवश्यक विषय बनेको छ ।