पहिरो प्रभावित जिसीको गुनासो : ‘घर भत्केको छैन, मन भत्कियो’

डम्मर बुढा मगर, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ५९ वर्षीय बलबहादुर जिसी सोमबार मध्यान्ह जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा हुनुहुन्थ्यो । अनुहार केही मलिन, मैलिएकै खैरो माक्स, हातमा केही कागजात थिए । अनुहारको भावले कामको सकस र बेचैन झल्काउथ्यो । प्रशासन फाँटको भित्र कर्मचारीहरु भने आफ्नै धुनमा काममा व्यस्त देखिन्थे ।

घडीमा साढे १२ भइसकेको थियो । काम सकेर खाना खाने सोच लिएर प्रशासन आउनुभएका जिसी काम नबने पछि निराश मुद्रा देखिन्थ्यो । गत असार १ गते गाउँ जोड्ने सडकका कारण घरगोठ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित हुनु भएका जिसी सरकारबाट केही राहत पाउने आशमा प्रशासन कार्यालयमा आएको बताउनुभयो ।

वडा कार्यालयको सिफारिस बोकेर प्रशासनमा आउनु भएका जिसी दुई घण्टादेखि काम बन्ने प्रतिक्षामा हुनुहुन्थ्यो । जिसी कार्यालय खुल्दा साथ प्रशासनमा आए पनि साढे १२ बजेसम्म पनि काम बनेको थिएन । कर्मचारीहरुले फाइल ओल्टाई पल्टाई गराउँदै झुलाएको उहाँको आरोप थियो । धेरै बेर कार्यालयमा बस्दा समेत काम नभएपछि उहाँ प्रशासनको तल्लो तलामा झरेर टोलाई राख्नु भएको थियो ।

समयमै काम नबनेको भएर होला जिसीको अनुसार निरासाले भरिएको थियो । ‘पहिरोले घर धरापमा छ, अहिले अरुको घरमा बस्दै आएको छु, सरकारबाट केही सहयोग हुन्छ कि भनेर आएको हुुँ, अहिलेसम्म काम बनेको छैन,’ उहाँले प्रशासन परिसरमा भेटिएकासँग भन्दै हुनुहन्थ्यो ‘लौन हजुर भन्दिनु प¥यो, काम छिटो हुन्थ्यो कि ? विहानै घरबाट आएको अहिलेसम्म खाना पनि खाएको छैन, यहाँ चिनेको पनि कोही छैन ।’

घर नभत्किए पनि बस्न सक्ने अवस्था नभएकाले आफन्तको घरमा आश्रय लिनुभएका जिसीको परिवारमा एक छोरा र श्रीमति छन् । एक महिनादेखि अरुकोमा बस्दै आउँदा धेरै समस्या र अप्ठ्यारो भोग्नु परेको जिसीको गुनासो छ । आश्रय दिएका घरबेटीले आफ्नो घर खाली गर्न एक महिनाको समय सिमा दिएकाले त्यस बेलासम्म आफूलाई सानो टहरो भए पनि निर्माण गरिदिन अनुरोध गर्न आएको जिसी बताउनुहुन्छ ।

‘आफन्तको घरमा बसेको पनि महिना दिन भन्दा बढी भयो, उहाँहरुले यो महिना भित्र घर खाली गर्न भन्नुभएको छ, आफ्नो बस्ने घर पहिरोको मुखमा छ,’ जिसीले भन्नुभयो ‘घर त खाली गर्नै प¥यो, त्यसभन्दा अघि सानो–सानो टहरो भए पनि निर्माण गर्न पाए हुन्थ्यो, आफूसँग पैसा पनि छैन, सरकारले सहयोग गरे त हुन्थ्यो, जाली दिने भन्ने सुनेको थिएँ, त्यसले त के हुन्छ र ?’

जिसीले गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र सरकारी निकायका प्रतिनिधिहरुले आफ्नो भत्किन थालेको घरको अवलोकन गरे पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको दुखेसो पोख्नुभयो । ‘पहिरोले घर जोखिमा पर्दा साथ गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष ज्यूहरु हेर्न त पुग्नु भएको थियो, तर अहिलेसम्म कुनै पनि सहयोग गर्नु भएको छैन, अब त के खाउँ के लाउँ भन्ने समय आउन थाल्यो ।’ कुटो कोदालो गरि जीविका चलाउदै आउनुभएका जिसी परिवालाई पहिरोले थप समस्या थपिदिएको छ । उहाँले गाउँमा जोड्ने सडक जथाभावी रुपमा खन्दा आफ्नो उठीबास लागेको बताउनुहुन्छ ।

पहिरो पीडित जिसी घर जोखिममा रहेको भन्दै वडाको सिफारिस लिएर आर्थिक सहयोगका लागि आएको तर अहिले नै आर्थिक सहयोग गर्ने अवस्था नभएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विष्णु प्रसाद ढकालले बताउनुभयो । जिसीको कागजातहरु नमिलेको हुँदा तत्कालै आर्थिक सहयोग गर्न नसकिएको ढकालको भनाई थियो । प्रशासनबाट ग्याबिनका लागि जाली सहयोग गर्ने भने पनि जिसीले आफूलाई जालीको आवश्यक नभएको भन्दै फर्किएको उहाँले बताउनुभयो ।

काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछानेले जिसीको घर जोखिममा परेको र सहयोगका लागि आवश्यक पहल प्रक्रिया अघि बढाइने बताउनुभयो । आवश्यक खाद्यान्न लगायतको अभाव भए माग गर्न भनेको उहाँको भनाई छ । पहिरो पीडितहरुलाई गाउँको सामुदायिक भवनमा अस्थायी व्यवस्थापन गरेको र अवस्था हेरेर थप सहयोग गरिने अध्यक्ष जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *