फोहोरलाई मोहोरमा बदल्दै गलकोट


खेमराज गौतम, बागलुङ

२०७३ सालमा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बिच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ ।

प्रयाप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीब्र गतिमा भइरहेको छ । उर्वर भूमी रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेतहरु विस्तारै शहरमा परिणत हुँदै आएका छन् ।

बढ्दो शहरीकरणसंगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहोर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो । तर, पछिल्लो समय नगरपालिकाले जग्गा भाँडामा लिएरै फोहोरलाई मोहोरमा बदल्न थालेको छ ।

यसअघि हटिया बजारको फोहोर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहोर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहोर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थिए ।

नगरपालिकाले जग्गा अभावमा फोहोरको डम्पिङ साइड खोज्न नसके पछि जग्गा भाँडामा व्यवस्थापन गरेर अहिले फोहोर प्रशोधन केन्द्र स्थापना गरेको छ । गलकोट नगरपालिका–९ स्थित दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरि फोहोर प्रशोधन उपकरण जडान समेत गरिसकिएको छ ।

कोरोना कहरका कारण फोहोर प्रशोधनमा कर्मचारी खटाउन समस्या भएको र आगामी दुई महिना भित्रै नगरपालिकाले फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

फोहोर व्यवस्थापनका लागि लामो समयको प्रयत्न र पहलमा हटिया बजार भन्दा केही पर वडा नम्बर ९ मा तीन रोपनी जग्गा मासिक २० हजार भाँडा तिर्ने गरि व्यवस्थापन गरिएको जग्गामा पूर्वाधार निर्माण गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । “फोहोर फाल्ने डम्पिङ साइड पाएनौं, त्यसैले केही उपकरण खरिद गरेर फोहोर प्रशोधन गरि बिक्री गर्ने नगरपालिकाको नीति अनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माण संगै उपकरण जडान भएको छ” नगर प्रमुख शर्मा गैरेले भन्नुभयो “भाँडामा जग्गा लिएर कुहिने फोहोर व्यवस्थापन र नकुहिनेलाई प्रशोधन गरि प्याकिङ गरेर बिक्री गर्ने काम अघि बढेको छ, अब सबै तयारी सकिएकाले छिट्टै सञ्चालमा ल्याउने तयारी छ ।”

नगरपालिकाले तीन रोपनी जग्गामा सडक पु¥याउने, विद्युतीय रण गर्ने ट्रस्ट हाल्ने लगायतका पूर्वाधार निर्माणमा २३ लाख रुपैयाँ र उपकरण खरिद र जडानमा १० लाख खर्च गरिसकेको प्रशासकीय अधिकृत तुल बहादुर बिश्वकर्माले जानकारी दिनुभयो । अहिले नगरपालिकाले एउटा ट्याक्टरमा फोहोर संकलन गर्दै आएको छ । जिल्लामै तीब्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिदै गए पछि फोहोर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । संकलित कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गरिने छ ।

कुहिने फोहोरको मल बनाइनेछ भने नकुहिने फोहोरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि बिक्री गरिनेछ । नगरपालिकाले फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहोर प्रशोधन पछि बिक्री गरेर उठाउने लक्ष्य राखेको छ ।

नगरपालिकामा सार्विजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महङ्गो भएपछि भाँडाको जग्गामा फोहोर व्यवस्थापन गर्न थालिएको हो । फोहोरलाई मोहोर बनाएर बिक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पुरा हुन थालेको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण वसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *