सज्जन कुमार सिंह
यो पृथ्वी मेरो हो, तिम्रो हो, हाम्रो हो । अझै भनौ यो त युवाहरुको हो । उनीहरुको विशेष क्षमताले विश्व फेरिन्छ,दुनियाँ रंगिन्छ । युवाहरु परिवर्तनका संवाहक हुन् । जुन देशमा युवा संख्या बढी हुन्छ, त्यो देश सबै दृष्टिकोणबाट सशक्त हुन्छ ।
देशलाई हराभरा पार्छन् युवाहरुले । राष्ट्रको सकारात्मक विकासमा नयाँ योगदान दिन्छ । यसो पनि भनौ, युवाहरुको चेतले गलत प्रवृत्ति र संस्कार माथि प्रहार गर्छ । हरेक कुराको भित्री कारण खोज्छ र खोज्न अभिप्रेरित गर्छ । परेको बेला देशका लागि छाती थाप्छन् र देशका निम्ति मर्न,मार्न तयार हुन्छन् । देशका असली खम्बाहरु युवा हुन् ।
यी उद्दरण पेश गरिरहँदा हिजोआजका युवाको सोँच, कार्यशैली देखेर कताकता सबै खिन्न भएको हुनुपर्छ । युवाहरुको शक्ति र चेतले नयाँ सिर्जनशीलता दिन्छ, नयाँ उमंग दिन्छ । राम्रो नराम्रो खुटाउने मस्तिष्क पाएका सचेत युवाहरु कसैको लहलहैमा होमिएर विभिन्न उट्पट्याङ काम गरिरहनुले बेरोजगारी समस्यालाई त धरातलमा ल्याएको छ नै, यो संगै युवाहरुको चेतको अवस्था पनि कति उदेक लाग्दो र कमजोर छ भन्ने पनि प्रस्ट्याएको छ ।
उनीहरु अनुशासनहीन छन्, सम्मान संस्कार भन्ने उनीहरुले सिकेका छैनन् । जब अनुशासनहीन युवाले देश भरिन्छ अनि देश नेपाल जस्तो बन्छ । उनीहरुलाई यस्तो बनाउनुमा हाम्रो राजनीति, हाम्रो सोँच, परम्परा मान्यताले बल दिएको छ । किनकि ‘सिक सिक देउरानी घरै जेठानी’ हाम्रो मुलमा समस्या छ, तल खोला सङ्लो खोजेर पनि नहुने ।
नेपाली राजनीतिमा युवाहरु फगत प्रयोगका साधन मात्र भएका छन् । आन्दोलन,युद्द र जुलुसहरुमा गोली, ढुंगा र मसाल बोक्ने सबै युवा तर राजनीतिको केन्द्रमा बयोवृद्द मात्र ? कारण युवामा पनि दास मानसिकता छ । राजनीतिको मुल सफा गर्नुपर्ने युवा त्यही फोहोरको डंगुरमा पौडी खेलेर देशभर छिटा पारेका छन् ।
यति ठुलो युवा शक्ति बिभिन्न दल, विचारका नाममा समर्थनका नाममा विभक्त छन् । आफू आफूमै काटाकाट र मारमार गरिरहेका छन् तर आँखा खोलेर देशको अवस्था, दलहरुका कार्यशैली माथि सामूहिक बहस छेड्ने क्षमता राख्दैनन् ।
जब चुनाव हुन्छ, युवाहरुलाई नै प्रयोग गरेर शासनमा पुग्ने तर ती युवाको रोजगारी र विकास प्रति नेता गम्भीर छन् त ? छैनन् । किन छैनन् भने आफूले जति नै गल्ती गरे पनि दुई चार हजार युवा राँको लिएर सडकमा आउँछन् भन्ने युवा चेतको नाडी उनीहरुले छामेका छन् ।
विचारक मार्कस्को चाहना थियो–“मान्छेको जिन्दगी माथि उसकै अधिकार होस्, मान्छेको जीवन अरू कुरा भन्दा सर्वोपरी होस् ।“ तर, आफ्नो अमूल्य ज्ञान, उर्जा, क्षमता, उत्साह र तातो रगतलाई अराजकता, गलत व्यक्ति प्रवृत्तिका लागि खर्चिएर,उसैको दास बनेर हामी आफ्नो जीवन र भविष्य माथी अन्याय गरेका छौ । हामीले आफ्नो अधिकार र अवसर गुमाएका छौ ।
मान्छेहरू स्वतन्त्र होऊन् र मान्छे भित्रको सिर्जनात्मक क्षमताको विकास होस् तर स्वतन्त्रताको नाममा जे पनि गरेर जग हँसाउने काम नेपालमा हुँदै आए र अझै हँुदैछ । हिजो किल्ला काङ्गडामा तोपको मोहरी सजिने नेपाली युवाको शिर, हिजो देशका निम्ति अंग्रेजहरुको गोली निल्न तयार हुने नेपाली युवाको विर गोर्खाली परिचय बाँदर बनेर आज पतनको दिशामा देखिएको छ ।
विदेशी युवा नयाँ अध्ययन ,अनुसन्धानमा उत्पादनमा लागेर देशलाई विश्वमै एक नम्बरमा प¥ुयाउने होडमा लाग्दै गर्दा बाँदरबाटै विकसित भएका हामी नेपाली युवाहरु पुनः बाँदर बन्ने, भुत बनेर युवा जगतकै बदनाम गरिरहेका छन् । देशभरका युवालाई दुई वर्ष मात्र बाटो खन्ने, पुल बनाउने, कृषि उत्पादन र विकास निर्माणमा लगाउने हो भने देशले कायापलट नै हुन्छ ।
गलत प्रवृत्ति र आम मान्छेको पक्षमा, गरीब निमुखा, अन्यायमा परेका व्यक्तिको न्यायको निम्ति लड्नुपर्छ, क्षमता देखाउनुपर्छ नै तर केही व्यक्तिका स्वार्थका लागि युवा शक्तिलाई बलिबेटीमा चढाउनु गलत हुन्छ ।
सिर्जनशील युवाहरुले विरोध गर्दा पनि सम्बन्धित मान्छे लजाओस् । उनीहरुको विरोधमा नागरिकहरु खुसी हुन् अनि त्यो विरोधले सिर्जनाको केही फल दिओस् ।
कुनै शक्ति र भिडको पछि लागेर विरोध र कसैको समर्थनका नाममा युवाहरुले आफ्नो पढाई र चेतलाई कुरिकुरि गर्ने अवस्था आउनु हुन्न किनकि ठुलो भिडले हौसला त दिन्छ तर त्यसले आफ्नो पहिचान गुमाई पनि दिन्छ ।
हाल नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको छ । नेपालमा २० प्रतिशत बढी युवा पूर्ण बेरोजगार रहेका छन् ।
सबैभन्दा मुख्य समस्या बेरोजगार नै हो । जब कुनै युवा आफैमा स्वरोजगार छ र क्षमतावान छ भने उसलाइ कसैको पेट्रेल र दुइ प्लेट ममका लागि आन्दोलनमा जानु पर्दैन । जब मान्छे अभावमा हुन्छ । उसलाई राम्रो नराम्रो कुनै मतलब हुँदैन । भोकाएको मान्छेलाई पेट भर्न पाए भो । यही कारण युवाहरु सधै कसै न कसैको पछि लागेका छन् ।
केही विदेश गएका र यही बसेर पनि परिश्रम गरि कृषिमा सक्रिय युवाहरुको ५०.२ प्रतिशत छ । तर, देशको नीतिकै र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । आज बेरोजगारीको कारण युवाहरु प्रति वर्ष ५ लाख ३८ हजार रोजगारीका लागि विदेशिने गरेका र यी मध्ये ७४ प्रतिशत अदक्ष छन् । युवालाई सिप सिकाउने बाताबरण छैन ।
इतिहास र राजामहाराजाका जीवन पढाउने अव्यवहारिक शिक्षा छ । जसका कारण युवाहरु सिप विहिन र निरिह छन् । २४ प्रतिशत अर्ध दक्ष छन् । विदेश गएका डिग्री होल्डर पनि उही मस्काउने चम्काउने काम गर्नुपर्ने दुखद अवस्था छ ।
केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन् । युवा बिगार्नुमा र बिग्रिनुमा हाम्रा अभिभावकको पनि दोष छ । बाउबाजेको सम्पत्ति र पौरखमा हुर्कने कुनै जिम्मेवारी नै नदिने अनि छोराछोरीका लागि सम्पत्ति थुपार्ने प्रवृत्तिले युवाहरुलाई जिम्मेवारहीन बनाएको छ ।
सानै उमेरमा माया प्रेमका चक्करमा २० बर्षको नहँुदै युवाहरु मानसिक रुपमा निकै कमजोर बनेका छन् । अस्वस्थ खाना र बानी व्यवहारले वर्षेनी रोगी युवाहरुको उत्पादन बढेको छ । त्यसैले, युवाहरु आँखा खोल । किनकि यो दुनियाँ बदल्ने युवाले हो । सधैभरि कसैका लागि मसाल बाल्ने, आन्दोलन गर्ने, बाँदर र उल्लु बन्ने होइन ।
बरु नराम्रा मध्येबाट पनि राम्रो छानौ । सधै भ¥याङ बन्दै हिँड्ने होइन, नेतृत्वमा आउने आँट गरौ । गलत गर्ने आफ्नै बाउ भए पनि प्रश्न गरौ । राम्रो गर्ने पराई भए पनि सहयोग गरौ । किनकि हामीले गर्ने व्यवहार, हाम्रो योगदानले देश छिट्टै माथि जाने वा सधै थला पर्ने निक्र्यौल गर्छ ।