वीपीको समाजवाद र कांग्रेस नेतृत्वको सरकार

सम्पादकीय
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार विशेष कार्यक्रम गरि मनाइएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा कोइरालाले कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको नेपाली समाजमा राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्व प्रभाव छ । जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि लडेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका वीपी २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुई तिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

आजको नेपाली राजनीतिमा पनि वीपीको राष्ट्रिय एकता, समाजवाद र मेलमिलापको नीतिको खुबै चर्चा हुन्छ । यो अझ विशेष गरेर कांग्रेस वृत्तमा बेला–बेला बहसको विषय बन्छ । नेपालमा राणा विरोधी आन्दोलनको नेतृत्वसंगै लोकतन्त्र स्थापनामा सफलता प्राप्ति पछि वीपीले आर्थिक र मौलिक अधिकारका निम्ति प्रजातान्त्रिक समाजवादको अवधारणा सार्वजनिक गरे । २०१२ सालदेखि कांग्रेसले समाजवादलाई आर्थिक सिद्धान्त बनायो । २०३३ सालदेखि राष्ट्रिय एकता र मेलमिलापको नीति अँगाल्यो । यी दुवै सिद्धान्त र नीतिको व्याख्याता वीपी कोइराला हुन् । जब ९० प्रतिशत गरिव एवं विपन्न जनताको प्रतिनिधि राज्यको नीति निर्माण तहमा पुग्दैन, तबसम्म जनता कुनै न कुनै रुपमा शोषित नै रहन्छन् भन्ने वीपीको निष्कर्ष थियो । त्यही कारण कांग्रेसले आफूलाई समाजवादी पार्टीका रुपमा उभ्याउनुपर्छ भन्ने स्पष्ट मान्यता थियो । र, त्यही मान्यताका आधारमा ०१५ सालमा जनताले कांग्रेसलाई दुई तिहाइ मत दिएका थिए । वीपीले पहिलो पटक सत्ता बागडोर सम्हाल्दा नै बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । तत्कालीन समयको जटिल घडीमा पनि कांग्रेस जति तेज थियो, पछिल्ला वर्षमा धुमिल भएको छ, कता कता अलमलिए जस्तो देखिएको छ ।

वीपी स्मृति मनाउँदै गर्दा सुखद संयोग मान्नुपर्छ कि देशमा दुई तिहाइको कम्युनिष्ट नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्वमै सरकार बनेको छ । पाँच वर्षका लागि प्रमुख प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएको उद्घोष गर्ने कांग्रेस आफ्नै सत्ता ढालेर एमाले वरिष्ठ नेता माधनव नेपालको नेतृत्वमा २२ सांसदले विश्वासको मत दिएका छन् । चुनावको डेढ वर्ष अगावै सत्ता बागडोर सम्हाल्दै गर्दा कांग्रेसले आफ्नो विगतको आदर्श, साख, मूल्य मान्यता भुलेको आरोप छ । वीपी जस्ता स्मरणीय राजनीतिज्ञको राष्ट्रिय एकता, समाजवाद र मेलमिलापको नीति आज झन् प्रखर भएर आएको छ । देश विश्वव्यापी कोरोना महामारीको भयावह र चपेटामा छ । यसबाट जोगाएर पुनः देशलाई माथि उठाउने सन्दर्भमा वीपीको इमान, आदर्श र मेलमिलापको बाटो वर्तमान नेतृत्वको सरकारले लिन सके मात्रै वीपी प्रति सच्चा सम्मान र श्रद्धा हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *