कोरोना संक्रमण दर घट्यो, जोखिम कायमै

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिए पछि बागलुङमा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणको दर अपेक्षाकृत रुपमा नघटे पछि कोभिड संकट व्यवस्थापन समिति (डिसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालयले पटक–पटक निषेधाज्ञाको अवधी थप गरिरहेको छ । तर, निषेधाज्ञा जारी गरे पनि जिल्लामा विद्यालय बाहेकका अन्य क्षेत्र संचालनमा खुकुलो छ ।

बागलुङ बजार क्षेत्रको पछिल्लो अवस्था हेर्ने हो भने निषेधाज्ञा नै नभएको आभाष हुन थालेको छ । सम्बन्धित निकायले यस तर्फ ध्यान नदिई अर्थहीन निषेधाज्ञा बढाई रहेको छ । सरोकारवाला निकायले निषेधाज्ञाको अवधी मात्रै बढाउने तर कार्यान्वयन फितलो बनाए पछि संक्रमणदर फेरि बढ्ने जोखिम देखिएको छ ।

बागलुङ बजार लगायत जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार, गलकोट, कुश्मिसेरा लगायतका स्थानमा सबै किसिमका व्यवसायहरु संचालनमा आएका छन् भने यातायातका साधनहरु पनि निर्वाध रुपमा संचालन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको निषेधाज्ञाको अवधीमा शैलुन, व्युटी पार्लर, खेलकुद स्थल, लगायतका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने भनिए पनि बागलुङ बजारमै यस्ता पसल व्यवसाय सञ्चालन भइरहेका देखिएका छन् । प्रहरीले केही कडाइ गरे पनि आँखा छलेर व्यापार व्यवसाय सञ्चालन गर्ने गरिएको छ ।

जिल्लामा पछिल्ला साता संक्रमणको दर केही घटे पनि जोखिम भने उस्तै छ । अहिले बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय ५१ छ । स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको तथ्याङ्कलाई हेर्दा असारको पहिलो हप्ता केही घटेको संक्रमणदर दोस्रो, तेस्रो र चौथो साता थप बढेको देखिन्छ । कोरोना संक्रमणको दर केही घटे पनि संक्रमणको जोखिम भने कम नभएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ बताउनुभयो ।

‘कोरोना संक्रमणदर केही त घटेको छ, तर अपेक्षा अनुसार घटेको छैन,’ गुरौले भन्नुभयो ‘हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अपनाउनै पर्छ, हेलचक्राइ गर्नु हुँदैन, नागरिक नै सचेत नभए सम्म संक्रमणको जोखिम कम हुने सम्भावना देखिन्न ।’

अझै पनि बागलुङका ९ वटा वडा कोरोनाको उच्च जोखिममा छन् । ३९ वडामा कोरोनाको जोखिम मध्यम खालको छ भने ३७ वडामा अवस्था सामान्य छ । पछिल्लो समय कोरोना परीक्षणमा संक्रमणको दर ५० प्रतिशत माथि रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरे बताउनुभयो । स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कमा बागलुङ नगरपालिकाको बजार क्षेत्र वडा नम्बर १, २, ३ र ४ उच्च जोखिम क्षेत्रमा छ ।

ताराखोला गाउँपालिकाको वडा नम्बर १ र ४, बडिगाड गाउँपालिकाको वडा नम्बर ५, बरेङ गाउँपालिकाको वडा नम्बर ३ र निसीखोला गाउँपालिकाको वडा नम्बर ३ उच्च जोखिम क्षेत्रमा रहेका छन् ।

काठेखोला गाउँपालिकाका सबै वडा मध्यम जोखिममा देखिएका छन् । बरेङ गाउँपालिकाको ३ बाहेक सबै वडा सामान्य अवस्थामा छन् । निसीखोला गाउँपालिकाको वडा नम्बर १, २ र ४ मध्यम जोखिम र अन्य सामान्य अवस्थामा छन् । ढोरपाटन नगरपालिकाको १, ३, ४ र ६ र ७ वडा मध्यम जोखिममा छन् । अन्यको अवस्था सामान्य रहेको छ । गलकोट नगरपालिकाको वडा नम्बर ३, ५, र १० मध्यम जोखिममा छन् । अन्य सामान्य अवस्थामा पुगेको छ ।

जैमिनी नगरपालिकाको वडा नम्बर ३, ५ र १० मध्यम जोखिममा देखिएको छ भने अन्य सामान्य अवस्थामा छन् । तमानखोलाको वडा नम्बर १ र ४ मध्यम जोखिममा रहेका छन् । यीनी वडाहरुमा एक,एक जना कोरोना संक्रमित छन् । अन्य वडाको अवस्था सामान्य रहेको छ । बागलुङमा कोरोना संक्रमणदर पनि बढि देखिएको छ । नेपालमा १९.२ प्रतिशत संक्रमणदर देखिएकोमा बागलुङमा २५.९ प्रतिशत संक्रमण देखिएको छ ।

अहिले बागलुङमा रहेका २५१ सक्रिय संक्रमितमध्ये १६ जना विभिन्न अस्पताल तथा सामुदायिक आईसोलेसनमा रहेका छन् भने अन्य होम आईसोलेसनमा रहेको घिमिरेले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट बागलुङमा अहिलेसम्म ५९ जनाको मृत्यु भैसकेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कोरोना संक्रामक रोग भएको हुँदा जिल्ला प्रशासन तथा जिल्लाको नेतृत्वले मात्रै प्रयास गरेर नियन्त्रण नहुने बताउनुभयो । प्रजिअ कार्कीले प्रत्येक व्यक्ति सचेत र जिम्मेवार भएमा मात्र कोरोना रोकथाम र नियन्त्रण सम्भव हुने बताउनुहुन्छ । ‘नागरिक स्तरबाटै कोरोना संक्रमण रोक्न लाग्यौँ भने मात्रै हामी सफल हुन्छौँ, अहिले बढी हेलचक्राई भएको छ, यसले थप समस्या निम्त्याउँछ,’ प्रजिअ कार्कीले भन्नुभयो ‘संक्रमित संख्या समय समयमा बढ्ने घट्ने भइरहेको छ, सबै सजग भयौँ भने संक्रमण रोकिन सक्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *