काठेखोलाले तयार पार्‍यो पालिकाको डिजिटल प्रोफाइल

काठेखोलाको डिजिटल प्रोफाइल सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष अमर थापा ।

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिकाले पालिकाको डिजिटल प्रोफाइल तयार गरेको छ ।

लामो समयको कोसिसबाट तयार गरिएको उक्त डिजिटल प्रोफाइल एक कार्यक्रमका बिच बिहीबार काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सार्वजनिक गर्नुभयो ।

डिजिटल प्रोफाइल तयार सँगै अब काठेखोला गाउँपालिकाको अत्यावश्यक सबै घरधुरीको तथ्यांक सहितको विवरण अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यसले पालिकाको हर विकास योजना निर्माणका लागि तथ्यांक संकलन र विश्लेषण गर्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । अब काठेखोलाका देश विदेशमा भएका हरेक नागरिकले आफ्नो पालिकामा कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात लगायतका हर क्षेत्रको पछिल्लो अवस्थाबारे बिद्युतीय माध्यमबाटै जानकारी लिन सक्ने अध्यक्ष थापाको भनाई छ ।

अब हरेक घटना र विवरण बुझ्न फाइल खोज्नुपर्ने बाध्यता धेरै हद सम्म अन्त्य हुने काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो । अहिले सर्वेक्षकहरुले संकलन गरेको तथ्यांक राखिएको र यो समय सापेक्ष रुपमा अपडेटका लागि कर्मचारी परिचालन गरिने उहाँको भनाई छ ।

प्रोफाइलमा हरेक घरधुरीको पारिवारिक विवरण देखि भौगोलिक अवस्था, पर्यटन, शिक्षा, कला संस्कृति लगायतबारे सहजै जानकारी लिन सकिनेछ । डिजिटल प्रोफाइलका लागि २५ लाख रुपैयाँमा कम्युटर इञ्जिनियरिङ टोलीलाई पालिकाले जिम्मा लगाएको थियो । यसअघि जिल्लाको गलकोट नगरपालिकाले डिजिटल प्रोफाइल तयार गरिसकेको छ ।

गण्डकी प्रदेशका सिमित पालिकाले सुरु गरेको डिजिटल प्रोफाइल काठेखोलाले आरम्भ गरेको र यसले योजना निर्माण र अवस्था विश्लेषणका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रोफाइल निर्माणको जिम्मा लिएको टीमका प्रमुख कम्प्युटर इञ्जिनियर गंगाराम रेग्मीले बताउनुभयो । अहिले सुरुवाती सर्वेक्षण रिपोर्टका आधारमा विवरण राखिएको र यो क्रमशः अपडेट गर्न सकिने बताउनुभयो । यसमा व्यक्तिको गोपनीयता र पालिकाको व्यक्तिगत विवरण सुरक्षित रहने गरी डिजिटल प्रोफाइल निर्माण गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नवीन शिशिर बिकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । डिजिटल प्रोफाइल सार्वजनिक कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख मनोज कार्कीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *