बागलुङमा बागी सहित १० उम्मेदवार

आदर्श अनलाइन,बागलुङ

आगामी मंसिर १४ मा हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बागलुङमा १० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

देशव्यापी रुपमा रिक्त पदमा हुन लागेको प्रदेश सभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ का लागि आठ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

बिहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बामगठबन्धनबाट साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल लगायतका नेता, कार्यकर्ता र समर्थकतको सहभागिता सहितको ¥याली सहित उम्मेदवारी दर्ता गराएका हुन् । हो । शाहीको उम्मेदवार प्रस्तावकमा राजमो जिल्ला उपाध्यक्ष धर्म कुवर र समर्थकमा गौरीश्वर पाण्डे छन् ।
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रिय तहबाट गठबन्धन बनाएर बागलुङमा राजमोलाई सघाउने निर्णय गरिएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचनले उम्मेदवारी दर्ता गराए । शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ति समर्थक रहनुभएको छ । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहनुभएका शेरचन बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजमोका टेकबहादुर घर्तिसँग पराजित भए ।

उपनिर्वाचनमा संघीय र समाजवादी पार्टी एकता पछि बनेको समाजवादी पार्टीबाट अशोक बिक, राप्रपा संयुक्तबााट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगर र स्वतन्त्र रुपमा सन्तोष भण्डारी र शेरमान घर्तिले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तिको उपचारका क्रममा निधन भए पछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो । यस क्षेत्रमा ३६ हजार ९ सय मतदाता छन् ।
यसैबीच,बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि नेकपाका नेता शेरमान घर्तिले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रिय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएको थियो । बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णय अनुसार, राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो ।

तर, नेकपाका नेता शेरमान घर्तिले उम्मेदवारी दिए पछि गठबन्धन तोडिनेमा त्रास उत्पन्न भएको छ । पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तिले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धन बिरुद्ध बागी उम्मेदवारी दिएको बताए । घर्ति २५ बर्ष राजमोमा सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टी प्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए । ‘पश्चिम क्षेत्रलाई केन्द्र र जिल्लालाई जहिले पनि बार्गेनिङको बिषय बनाएर भावना माथि खेलवाड गरिरह्यो,’ उम्मेदवार घर्तिले भने,‘हामी जुन पार्टीको बिचार र कार्यदिशामा असहमति राखेर छोड्ने, अहिले त्यही पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने र भोट हाल्नु पर्ने ? अब दास नबन्ने सोचका साथ पार्टीको न्यायोचित निर्णय नभएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ ।’ उनले आँफ्नो उम्मेदवारी फिर्ता नहुने समेत दाबी गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *