संस्थापकको स्मृतिमा विभाजित सम्झना

सम्पादकीय
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस बिहीबार मनायो । कम्युनिष्ट नेता कार्यकर्ताले औपचारिक अनौपचारिक कार्यक्रम गरेर दिवस मनाउँदै गर्दा कम्युनिष्ट पार्टीको देशको सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले विभाजित अवस्थामा छ । जसको यावत गतिविधि हेर्दा दुर्घटनाको औपचारिक घोषणा मात्र बाँकी छ । यसबिचमा एमालेको विवादमा विभाजित केपी ओली र माधव नेपाल दुवै समूहले नगर्नु पर्ने अक्षम्य कर्म र उद्घोष पटक पटक गरेका छन् । दुर्भाग्य भन्नुपर्छ, कि त्यही दुश्कर्म र हठले नेपालकै इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टीले दुई तिहाईको जनमतबाट बनाएको सरकार समेत साढे तीन वर्षमा ढलेको छ ।

पुष्पलालको स्मृति दिवस मनाउँदै गर्दा नेकपा एमाले आन्तरिक विवादले थिलथिलो अवस्थामा छ । पार्टी अध्यक्ष तथा आन्तरिक पार्टी राजनीतिको विवादले दुई तिहाइको बहुमत प्राप्त सत्ता बागडोर खोसिएका केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक अर्कोलाई सत्ते सराप गर्दै अझै सक्ने अभियानमा छन् । यही हठ र जुहारीमा सिंगो पार्टी नै सकिने खतरामा छ । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । पुष्पलाल भन्ने गर्थे, नेता होइन, पार्टीमा नीति प्रधान हुनुपर्छ । राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । त्यस्तो दुरदृष्टि, साहसिक, त्यागी संस्थापक नेताको सम्झना गर्दै गर्दा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता भन्ने केपी ओली र माधव नेपालले छुट्टाछुट्टै कार्यक्रम गरे ।

कम्युनिष्ट भावना र अभिमतलाई एकीकृत गर्ने संस्थापक पुष्पलालको सम्झना विभाजित मन मनस्थितिले स्मरण गर्नु र पार्टी विभाजनको सम्मुखमा कुनै पक्षले नसम्झिने अवस्था आउनु बिडम्बना हो । केपी ओली र माधव नेपाल पक्षले भिन्न–भिन्न स्थानमा कार्यक्रम गरेर एक अर्कोलाई गाली र सराप हालेर स्मृतिमा सम्झनु पुष्पलालको श्रद्धा र सम्मान होइन, अपमान हो । यद्यपि, स्मृति दिवसकै कार्यक्रममा गद्धार भनिएका स्पष्टिकरण सोधिएका नेताहरुलाई समेत अध्यक्ष ओलीले आम माफीको घोषणा गरेका छन् र पार्टीमा एकतावद्ध भएर जान आग्रह गरेका छन् । यो ओठे भक्ति मात्र होइन र दुवै पक्षले विगतमा भएका गम्भीर कमीकमजोरी प्रति समिक्षा र आत्मआलोचना सहित अघि बढ्ने हो भने मात्र पुष्पलाल प्रति मात्र सञ्चा श्रद्धा र सम्मान होइन, आम नेपालीको बिचमा क्षमायाचना सहित सच्चिएर जाने बाटो हुनेछ । नत्र जनताका अघि निर्वाचनमा जानु पनि लज्जाको विषय हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *