निषेधाज्ञा खुकुलो सँगै लामो पुलमा बढ्यो चहल पहल


आदर्श अनलाइन, बागलुङ
बागलुङ र पर्वत जिल्ला जोड्ने गरि निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको पुनः चहल पहल शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको वर्षातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकहरुले पुल वपरको क्षेत्र भभिराउन हुन थालेको छ ।

कालीगण्डकी माथी निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दावी गर्दै गिनिज बुकमा नाम लेखाउन निवेदन समेत दिइसकेको छ ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर सहिदपार्क भित्रबाट पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीडनै लाग्ने गरेको छ । कोरोनाको पहिलो लहर पछि सर्वसाधरणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द गरिएको थियो । अत्यावश्यक काम बाहेक पर्यटकका लागि बद गरिएको पुल निषेधाज्ञा खुकुलो भएसंगै पुनः आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालको छ ।

निषेधाज्ञाले घर र कार्यालयमा मात्रै सिमित बागलुङ बजारका अमिट कार्की एक हप्तादेखि साँझपख लामो पुलमा घुम्न आउने बताउँनुहुन्छ । अहिले बागलुङ बजारबासी पुल तरेर पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने कालीगण्डकी किनारामा रमाउने गर्न थालेका हुन् ।कोरोनाका कारण घरभित्रै सिमित रहेका बागलुङ रपर्वतबासीहरु निषेधाज्ञा खुकुलो भए संगै पुलमा घुम्न आउने आन्तरिक पर्यटकमा बृद्धि भएसंगै पुलमा सुरक्षाको लागि प्रहरी समेत तैनाथ गरिएको छ ।
पुल निर्माण गर्दा अस्तव्यस्त बनेको शहिद पार्क बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा व्यवस्थित गर्ने कार्य अघि बढाए पछि पार्कमा समेत पर्यटकहरु बढ्न थालेका छन् । साविक धौलागिरी अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहिद पार्क र लामो पुल भएकाले पर्यटकको भीडनै लाग्ने गरेको छ । नियमित रुपमा मर्निङ तथा इभिनिङ वाक गर्नेले समेत पुल र पार्क भरिन थालेको छ ।


४० लाख रुपैयाँको लागतमा यही असारमा पार्कलाई थप आकर्षक हिसाबले व्यवस्थित गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “पुल निर्माण गर्दा पार्कमा क्षति पुगेकाले आलोचना समेत खेप्न परेको स्मरण गर्दै हामीले पुल निर्माण भएपछि पार्कलाई पुनः व्यवस्थित गरेका छौं” नगर प्रमुख पौडेलले भन्नुभयो “हराभरा पार्कको बिचमा लामो झोलुङ्गे पुल भएकाले पर्यटकीय दृष्टिले निकै आर्कषक भएकाले थप पूर्वाधार समेत बनाउदै लैजाने छौं ।” अहिले नगरपालिकाले पार्कमा एक जना हेरालु समेत राखेको छ । पुलमा दैनिक दुई सय देखि तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *