कृषिता अधिकारी (निशा)
जीवनमा सपना हरेक मानिसले देख्ने गर्छन् । चाहे झुपडिमा बस्ने होस् या महल । सबैको आ–आफ्नै रहर सपना हुने गर्छ । सपना देख्नु, इच्छा चाहना सजाउनु सबैको अधिकार हो र मेरो पनि छ । सपना पुरा गर्नका लागि मानिस जिन्दगीभर भाग दौड गर्छन् । र म पनि सपनाकै पछि लागिरहे । त्यो सपना प्रायःजसो हरेक मानिसले देख्ने गर्छन् । गाउँघरमा जन्मेकि म जहाँ बनपाखा, घाँस, दाउरा, कुटो कोदालो संगै हुर्केकि म गरिबीको चपेटाले पिल्सििएको जीवन संगै संघर्षका यात्राहरु पार गर्दै गर्दा मेरा पनि बेग्लै रहर अनि चाहना थिए । तीनै चाहना पूरा गर्नुपर्छ अनि भविष्यमा राम्रो अनि असल मान्छे बन्नुपर्छ भन्ने मेरो अठोट थियोे । र घरमा आमा बाबाले पनि यसै भन्नुहुन्थ्यो ।
गाउँमा कक्षा १० सम्म मात्र थियो । उच्च शिक्षा हासिल गर्नको लागि सदरमुकाम झर्नुपथ्र्यो । समय बित्दै गयो, अब त एसएलसी पनि सकियो । घरको काम धन्दा, मेलापातमै बित्ने गथ्र्यो । विस्तारै समयले फड्को मार्दै थियोे । एसएलसीको रिजल्ट पनि आयो । म प्रथम श्रेणीमा पास भए तर कता–कता खुसी संगै निराशा पनि छाएको थियोे । उच्च शिक्षाका बजार आउनु पर्ने र त्यस माथि आर्थिक अवस्था कमजोर भएकाले मेरो परिवार राम्रो विषय पढाउन सक्ने क्षमता थिएन । तर पनि मेरा अभिभावक छोरीलाई शिक्षा दिक्षा दिनुपर्छ भन्ने सोच विचारको हुनुहुन्थ्यो । र मलाई ऋण धन गरेर भए पनि सदरमुकाम पढ्नका लागि पठाउने निर्णय गर्नुभयो । मेरो मन भने नरमाइलो लागेको थियो । किनकि आफ्नो परिवारबाट अलग हुनु पर्दा आफू खेलेको हुर्केको ठाउँलाई छाड्नु पर्दा अनि गाउँका साथीसंगी दौतरी संग अलग हुनु पर्दा साह्रै मन दुखेको थियो । तैपनि सपना एकातिर थिए, जहाँ पढेर राम्रो अनि असल मान्छे बन्नु थियो । बाबा आमाको सपना पुरा गर्नु थियो । त्यसैले पनि सपनाको पछि पछि झिस्मिसेमै नयाँ जीवनको यात्रा संगै सदरमुकाम झरे, त्यही डेरा गरि बस्न थाले । कलेजको पहिलो दिन के होला, कस्तो होला ? नयाँ साथी भेटिन्छन् कि भेटिदैनन् भन्ने तर्क वितर्क संगै म निद्रादेवीको काखमा लुटपुटिन थाले ।
साँच्चै नै जिन्दगी कति अजिब छ है । कहिले कहाँ लान्छ, जिन्दगीले कहिले कहाँ ? आज कलेजको पहिलो दिन धेरै नै रमाइलो अनि साथी संगको परिचय संगै मेरो कलेज लाइफ सुरु भयो । विहान कलेज जान्थे अनि दिउसो कम्प्युटर सिक्ने गर्थे । यसरी नै मेरो बिद्यार्थी जीवन चलिरहेको थियोे । पढाइ पनि निकै राम्रो भइरहेको थियोे । तर, आर्थिक अभावका कारण बिभिन्न बाध्यता विवशता उत्तिकै थियो । अर्कोतिर शहरिया परिवेशमा म गाउँले मान्छे साधारण पोशाक अनि गरिबी प्रत्यक्ष झल्किने गर्दथ्यो । यसैमा पनि खुसी थिए, यसकारण कि मैले उच्च शिक्षा हासिल गर्दैछु । बाबा आमाले सिकाएको आदर संस्कार संगै मेहनत र लगनशील पनि थिए । विस्तारै विस्तारै समय बित्दै गयो, अब त कलेज लाइफ पनि सकिन आँट्यो । मलाई भने पढाइ अनि घर परिवारकै चिन्ताले सताउन थाल्यो । जसोतसो पढेको थिए र सानोतिनो जागिरमा पनि प्रवेश गरेको थिए । जिन्दगी चाहे जतिसुकै जीवनको रथ अगाडि साह्रो त्यति नै डर चिन्ता भइराख्दो रहेछ ।
जिन्दगी जिउने क्रममा अनेकौं दुःख कष्ट झेल्दै अगाडि बन्नु कहिलै हार नखानु भन्ने बाबाको अर्ति बेलाबेलामा सम्झिरहन्थे । त्यसैले संघर्ष गरिरहन्थे, यसै क्रममा एकदिन अचानक मेरो मोवाइलमा नयाँ नम्बर आयो । तर पनि म पढाइमै व्यस्त भएकोले खासै ध्यान दिँदैनथे । हुन त कलेजमा नयाँ साथी नबनेका पनि होइनन् । साथीहरुको फोन नआउने पनि होइन । तर पनि प्रायःजसो कलेजमै भेट भइन्थो । अनि आफ्नै काममा व्यस्त पनि के गर्ने ? काम नगरिकन पनि त भएन । कोठा भाडा पढाइ खर्च जुटाउनु थियोे । त्यसैले पनि म आफ्नो काम प्रति लगाव राख्ने गर्दथे ।
यस्तै गरेर मेरो दिनचर्या बित्ने गर्दथ्यो । त्यतिकै मेरो मोवाइलमा एउटा नम्बर बारम्बार आइरहन्थो । फोन उठाउने मौका भने मिलेको थिएन । प्रायःजसो फोन आइरहन्थो, म आफ्नै कार्य व्यस्तताले फोन उठाउन भ्याउदिनथे अथवा मलाई अनावश्यक फोनमा आफ्नो समय खेर फाल्नु नै थिएन । यद्यपि, बारम्बार फोन आइरहँदा मनमा अनेक प्रकारको खुल्दुली संगै अनेक प्रश्न गर्दथ्यो । आखिर मनै त हो कलिलो बैँस संगै मनका इच्छा चाहाना हुने गर्छन् उमेर संगसंगै बैंश पनि चढ्नु स्वभाविक हो ।
साँच्चै नै बारम्बार आइरहने फोनले अन्ततः सार्थकता पायो । फोन उठाउने संयोग पनि जु¥यो । साथीत्वको साइनो परिचयबाट शुरु भयो हेलो म राजु अनि तिमी मुना । विस्तारै विस्तारै साथित्वको साइनो प्रगाढ हुन थाल्यौं । एक अर्कोलाई चिन्ने बुझ्ने अनि भावना साटसाट गर्ने हाम्रो बानी परेको थियोे । फोनमा घण्टौ बोल्थ्यौ अनि चिया कफीको साथमा एक अर्कोको कुरा सेयर पनि गथ्र्यौ ।
सायद यस्तै हुन्छ होला मित्र साइनो असल अनि सच्चा साथी जहाँ दुःख सुख पर्दा साथ सहयोग अनि हौसला दिने साँच्चै नै केवल केटी मान्छे मात्र साथी हुँदैनन् । केटा मान्छे पनि असल अनि सच्चा साथी हुन्छन् सायद मेरो बुझाइमा उनी असल इमानदार र सच्चा साथी बने ।
प्रायः म सोच्ने गर्थे । साथी होस् त राजु जस्तो, जसले हरेक दुःख सुखमा साथ दिन्छ । जसको प्रतिबिम्बले मेरो हृदयलाई आनन्द तुल्याउँछ । साँच्चै उनी मेरो हृदयमा बसिसकेका थिए । उनको सामिप्यताले मलाई हौसला प्रदान गर्दथ्यो । विस्तारै समय पनि परिवर्तन हँुदै थियो । हाम्रो असल मित्रता झाँगिदै थियोे । हामी बिचको सम्बन्ध यति नजिक थियोे कि एकछिन एकक्षण पनि छुट्न गाह्रो थियोे । सायद भोलीका दिनहरूमा के हुन्छ कुन्नि ? उनी अर्कैको म अर्कैको हुँदा के होला वा भनौ समय परिस्थितिले हामीलाई कुन मोडमा उभ्याउला ? अँह म जान्दिनथे, म सोंच्नै चाहान्थे कि हामी बिचको दूरी बढोस् । जिन्दगीका मिठा नमिठा पलहरु संगै काट्ने संगै जिउन इच्छा थियो र म यस्तै–यस्तै सोच्ने गर्थे । अब त म पनि क्याम्पस पढ्ने भैइसकेको थिए घर परिवारको जिम्मेवारी उठाउन सक्षम र सबल भएको थिए । बेला बेलामा गाँउ जान्थे, घरमा बाबा आमालाई सघाउँथे । मेरा बाबा आमाको आशाको भरोसा थिए म घरको जिम्मेवारी संगै मेरा सपना पनि पूरा गर्नुछ । मैले मलाई पढेर राम्रो असल मान्छे बन्नु छ साँच्चै नै सबैका ईच्छा चाहना हुन्छन् । भविष्यमा यस्तो बनु उस्तो बन्नु मलाई पनि धेरै पढेर डाक्टर बन्ने ठूलो इच्छा थियो । तर सोचे जस्तो चाहे जस्तो जिन्दगी हुँदो रहेनछ । जिन्दगी आर्थिक अभावले सामान्य विषय पढ्नु प¥र्याे तर मेरो सपना साना भाइबहिनीले पुरा गर्नेछन् भन्ने उद्देश्यले आज म दिनरात मेहनत गर्दैछु ।
तर भाग्य अनि समय बलवान हुनुपर्छ । साँच्चै नै कहिले आदर्शका कुरा कहिले गहकिला तर्क वितर्क गर्दै हामी बहसमा जुट्थ्यौ । भविष्यका स्वर्णिम सपना बुन्दै थियोे तर समय एकैनाश कहाँ पो हुदो रहेछ र ? एकदिनको कुरा हो । जुन आजसम्म पनि मेरो मानसपटलमा झल्किरहन्छ । मेरो स्मृतिको पानामा बारम्बार आइरहन्छ, जब उनले विदेश जाने कुरा गरे त्यो सुनेर साच्चिकै कता कता नरमाइलो लाग्यो मैले भने किन जानुप¥र्याे विदेश । यही स्वदेशमै केही गरे हुन्न र यही पाइन्छ नि जागिर । अनि उनले भने, अरुलाई त पाइन्छ क्यारे मुना तर हामीलाई पाइदैन जागिरको लागि त पढ्नुपर्छ, मेरो राम्रो शिक्षा छैन । विदेश नगई अरु विकल्प पनि त छैन । मेरो घर परिवारको पनि यही चाहाना छ, विदेश गएर पैसा कमाउ बाबा आमालाई सुख दिउँ, म केही बोलिन । हुन पनि त हो नेपालमा जागिर नै पाउन गाह्रो छ । चाहे जतिसुकै शिक्षा हासिल गरेता पनि खाडि मुलुकमा जानै पर्ने बाध्यता यो कस्ता देश र दशामा छौ ? हामी जहाँ बाच्न पनि गाह्रो । यो कस्तो समय अनि परिस्थिति यही समयले भेटाउँछ । अनि यही समयले छुटाउँछ उनी बुटवल म दाङ यसरी भेट भएको थियो फोन मार्फत । दैव सञ्जोग भनौ वा भावीको लेखा । उनी संगको यात्रा यति नै थियोे । अझ पनि याद छ मलाई, मंसिर महिना उनको फ्लाइट थियोे । उनले एयरपोर्ट छिर्नु भन्दा पहिले भेट भएर गहभरि आसु संगै उनले विदाइका हात हल्लाएँ । मलाई पनि कता कता नरमाइलो लाग्यो । मबाट उनी टाढा हुनु सायद भाग्यको लेखा थियो होला र त आज उनी टाढा भए तर पनि माया असाध्यै गाढा थियोे । साँच्चै नै एउटा असल साथीबाट सुरु भएको हाम्रो सम्बन्ध मायामा कति बेला परिणत भयो ? थाहै भएन । उनी पुग्ना साथ मलाई फोन गर्थे म आइपुगे भनेर । उनले बारम्बार फोनमा भन्ने गर्थे कि मलाई पर्खन्छौ नि है !
कि तिमी अर्कैको हुन्छौं र ? यस्तै–यस्तै केही समय सम्म त हाम्रो कुरा भइरहन्थो । विस्तारै समय अनि परिस्थिति नै बदलिदियो । हुन त उनले कयौं प्रयास गरे होलान् ? मेरो बारेमा खोजी नीति पनि गरे होलान् । सायद हामी बिचको चिनाजानी मोवाइल नम्बरमा सिमित थियो तर मेरो सिम बिग्रिदियो । मैले नम्बर परिवर्तन गरे । त्यसपछिका दिनहरु निकै नै परिवर्तन भइदिए । सायद मेरो गल्ती थियोे होला कि ? मैले उनलाई सम्पर्क गर्ने प्रयास गरिन, गरौ पनि कसरी ? अब त निकै ढिला भइसकेको थियो । उनी पनि परिवर्तन भए होलान् भन्ने लाग्यो, त्यसैले समय संगै जिन्दगीका यात्रा मोडिए । उनी कहाँ छन् ? के गर्छन् ? त्यो मलाई थाहै छैन । तर पनि म उनलाई अझै सम्झन्छु । उनले भनेका प्रत्येक शब्द अझै सम्झने गर्छु । दिन, हप्ता, महिना गर्दै समय अगाडि बढिरहेकोे छ । आज म गाउँकै विद्यालयको शिक्षकाभएको पनि चार वर्ष भइसकेछ । तर पनि उनलाई अझै बिर्सेको छैन । आज मेरो मन धेरै टाढा गयो, क्षितिज पारि पुग्यो । जहाँ पुग्ने हाम्रा सपना थिए ।