मिश्रको प्रस्ताव, तरंगित देश र व्यवस्था

सम्पादकीय
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गरेको एक प्रस्तावले पुरै देश यतिबेला तरंगित छ । आन्तरिक छलफलका लागि अघि बढाएको नेपालमा संघीयता खारेजी गर्नुपर्ने र धर्मनिरपेक्षता माथि जनमतसंग्रह गर्नुपर्ने प्रस्तावले चौतर्फी बहस मात्र भएको छैन, यसले कैयन प्रश्न, संशय र चिन्ता पनि जन्माएको छ । हुन त यसअघि पनि संघीयता, धर्मनिरपेक्षताका सवालमा कैयन पटक सवाल उठेका छन्, उठाइएका छन्, आन्दोलन भएका छन् । तर, अहिलेको जस्तो देश तरंगित भएको अवस्था थिएन । अहिले केवल एक व्यक्ति या नयाँ वैकल्पिक शक्तिको रुपमा आफूलाई दाबी गरिरहेको राजनीतिक दलले राखेको प्रस्तावले अझ धेरै नागरिक ‘सरप्राइज’ छन् ।

हुन त वर्षौदेखि राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको आवाज उठाइरहेको छ । तर, संविधान र संघीयता कार्यान्वयनका सवालमा ऊ सामेल छ । धर्म निरपेक्षताका सवालमा पनि कयौले प्रश्न मात्र होइन, प्रदर्शन पनि गरिरहेका छन् । यो पनि स्वभाविक र सामान्य रुपमै लिइएको छ । तर, सोमबार रविन्द्र मिश्रको लामो दस्ताबेज सहितको प्रस्तावले किन यति ठूलो तरंग ल्यायो ? यसमा केही कारण अवश्य छन् । पहिलो त मिश्र वैकल्पिक सोच, एजेण्डा सहित आएको शक्तिको नेता हुन् । यसबाट आम रुपमा यस दल र नेता प्रति देशमा भएको ऐतिहासिक परिवर्तनबाट आर्जित व्यवस्थालाई सबल र सुदृढ बनाएर लैजाने अपेक्षा थियो । यो प्रस्तावले कतै प्रतिगामी दिशा तर्फ उन्मुख हुने बाटोमा त उनी लागेका होइनन् ? यसमा उनी कतैबाट परिचालित, प्रभावित भएर त यस्तो कुरा आएको होइन ? के लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था आफैमा खराब हो र ? यस भित्रका खराब पात्रहरुको समिक्षा, बहस, चिन्तन नगरि किन व्यवस्था माथि नै प्रश्न र खारेजी सम्मको सवाल उठाइयो ? यसले अनगिन्ती प्रश्न जन्माएको छ ।

मिश्रले भने जस्तो स्वभाविक संघीय व्यवस्थाले आर्थिक बोझ स्वभाविक बढाएको छ । सत्ता जोगाउने र गिराउने खेल हेर्दा र तीन तहको सरकारको अवस्था गतिविधि हेर्दा व्यथिति पनि असरल्ल देखिएका छन् । यसले नागरिकमा निराशा र आक्रोश बढाएको छ । मिश्रले जे प्रस्ताव राखेका छन्, त्यो उनको व्यक्तिगत अभिव्यक्ति जस्तो देखिन्छ । किनकि पार्टी भित्रैका नेताहरुले पनि असन्तुष्टि जाहेर गरिरहेका छन् । यद्यपि, मिश्रले प्रस्ताव गर्दैमा संघीयता, धर्मनिरपेक्षता खारेज हुने, धरापमा पर्ने पनि होइन । हाम्रो गणतन्त्र, व्यवस्था त्यति कमजोर धरालतमा उभिएको छैन । फेरि व्यवस्था आफैमा खराब होइन, हुँदैन । यसलाई खराब पात्र र प्रवृत्तिहरुले खराब बनाउने हो । अहिलेको संविधान र व्यवस्था नेपाली इतिहासकै सबै भन्दा उन्नत संविधान र व्यवस्था हो । यो कुनै एक दुई व्यक्ति समूहले भन्दैमा भत्किन्न । अतः अहिले उठेका प्रश्न, बहसहरुबाट सचेत रहेर बिद्यमान व्यथिति हटाउन एकतावद्ध बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *