किन रोकियो बागलुङमा खोप अभियान ?

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसँगै नागरिकलाई कोरोना खोप दिन सुरु त गरेको छ । तर, नियन्त्रण उन्मुख ठानिएको दोस्रो लहरको कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । दुइ सय हाराहारीमा पुगेको कोरोना संक्रमित संख्या बुधवार सम्ममा ३ सय ५० बढी पुगेको छ ।

बागलुङमा सरकारले सुरु गरेको खोप अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनर र त्यसपछि ज्येष्ठ नागरिक लगायतलाई खोप लगाउन सुरु भएको थियो । जिल्लामा कोभिड शिल्ड खोपबाट लगाउन सुरु गरिएकोमा अहिलेसम्म विभिन्न देशबाट आएका खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

केही दिनदेखि बागलुङमा जारी रहेको कोरोना बिरुद्धको खोप अभियानमा पहुँचवालाहरुले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपको लागि लक्षित वर्ग नतोकेको कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिनुभयो ।

सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा खोप लगाई सकिएको र अब माथिबाट निर्देशन नआउँदा सम्मका लागि स्थगित भएको उहाँको भनाई छ ।
सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताउनुभयो । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उहाँले बताउनुभयो ।

‘सरकारले लक्षति वर्गका लागि खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा हामीले धेरैजसोलाई खोप लगाइ सकेका छौँ,’ खत्री भन्नुभयो ‘लक्षित वर्ग कोही छुटेको भए उहाँहरु सम्पर्कमा आएर लगाउन सक्नु हुनेछ, थप अभियान माथिबाट निर्देशन आएपछि मात्रै संचालन हुनेछ ।’

बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उहाँको भनाई छ । सरकारबाट नयाँ लक्षित वर्ग तोकिए पछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ ।

बागलुङमा अहिले सम्म कोभिड शिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोनसन एण्ड जोनसन ११ हजार बढी, भेरोसेल २२ हजार र कोभिड शिल्ड १४ हजार ६ सय ४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिनुभयो ।

जिल्लामा भेरोसेल खोपको पहिलो डोज २२ हजार २ जनालाई लगाइएको र दोस्रो डोज भने १८ हजार १२ जनालाई लगाउन बाँकी रहेको उहाँको भनाई छ । १२ हजार ६० डोज जोनसेन एण्ड जोनसेन खोप आएकोमा १० हजार ३ सय नागरिकलाई लगाइएको खत्रीको भनाई छ । बागलुङमा १८ वर्ष माथीका १ लाख १ सय ८१ जनालाई खोप लगाउनु पर्ने खत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *