बढ्दो तेस्रो लहर र लापरवाही


सम्पादकीय

कोरोना भाइरसको आतंक दुई वर्ष यता निरन्तर जारी छ । बेला बेला कोभिड रोकथाम, उपचार प्रयासले नियन्त्रण भएको आँकलन गरिए पनि पुनः नयाँ नयाँ रुप धारण गरेर आइरहेको छ । जसले विश्व समुदायको जनजीवन प्रभावित छ भने अर्थतन्त्र पनि अनिश्चयको भूमरीमा छ । पहिलो लहर सकिए सँगै नियमित दैनिकी र लयमा फर्किन लागेको नेपालमा दोस्रो लहरले पुरै जनजीवन आक्रान्त बनायो । पहिलोको तुलनामा दोस्रो लहर बढी आक्रामक देखियो । जसबाट सयौंले ज्यान गुमाए, हजारौं नागरिक कोरोना संक्रमित बने, लाखौ नागरिक यसको भयावहबाट गुज्रिए ।

अझै पनि कोरोनाको रुप के कस्तो रुपमा देखा पर्दै जाने हो ? अनिश्चित छ ।
कोरोना महामारी रोक्न विश्वव्यापी रुपमा प्रयास जारी छ । तर, यसको अचुक उपाय र औषधि अझै पत्ता लाग्न सकेको छैन । कोभिड रोकथाम र नियन्त्रणका लागि अथक प्रयास बिच कोरोना खोप –भ्याक्सिन) आएको छ । त्यो प्रयाप्त भने हुन सकेको छैन । अहिले खोप लगाउनमा होडबाजी छ । देशका अधिकांश जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि लामो समयदेखि निषेधाज्ञा जारी गरियो । जनजीवन थप कष्टप्रद बन्दै जान थाले पछि पछिल्लो समय खुकुलो पारिएको छ । जोखिम कायमै रहेका बेला खुकुलो बनाए सँगै देखिएको हेलचेक्राइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो । १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ । जसबाट सरकारले १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ भने २२ जिल्ला उच्च जोखिम क्षेत्रमा राखेको छ ।

विज्ञहरुले अब तेस्रो लहर सुरु हुने बताइसकेका छन् । पछिल्लो परिदृश्य हेर्दा यसको केही रुप र संकेत देखिसकेको पनि छ । यसै साता नयाँ भाइरस फेला समेत परिसकेको छ । अर्को तर्फ कोरोनाको अहिलेको अचुक अस्त्र ठानिएको खोप लगाउने खोप केन्द्रमै स्वास्थ्य सुरक्षामा लापरवाही छ । मानिसहरुको भिड छ । खोपमा पहुँचवालाहरुको दाउपेच चलिरहेको छ । अझ सबै नागरिकलाई पुग्ने खोप कहिले आउने टुंगो छैन । खोप बाहेक सरकारको खासै अरु तयारी देखिदैन । यदि तेस्रो लहर हाम्रै लापरवाहीका बिच सुरु भयो भने गम्भीर भयावहको अवस्था ल्याउने खतरा छ । अब सरकारले जतिसक्दो छिटो सबै नागरिकलाई खोप सुनिश्चितता गर्नुपर्छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण परिपालना गर्ने तर्फ पनि सबै नागरिक सचेत र जिम्मेवार बन्न अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *