तुइन तर्नु र मर्नु पर्ने कहिले सम्म ?

सम्पादकीय
विश्व समुदाय तीव्रतर गतिमा छ । विकास र समृद्धिका हिसाबले दैनिक फड्को मारिरहेका छन् । विज्ञान प्रविधिको नयाँ नयाँ आविष्कार र प्रयोगले दैनिकी र जीवन कति हो कति सहज बनिरहेको छ । मान्छेले घण्टौ लगाएर गर्नुपर्ने कर्म प्रविधिको सहाराले क्षणभरमै गर्ने अवसर प्राप्त छ । लामो दुरी पार गर्न कैयन दिन र घण्टा लाग्ने बाटो र गन्तव्यहरुमा केही समयकै रफ्तारमा पुगिने बातावरण छ । जीप, बस, विमान, रेल यस्तै नयाँ प्रविधिको विकासले जीवनहरु सहजता तर्पm उन्मुख छन् । तर, नेपाल यस्तो देश बनिरहेको छ, जहाँ अझै पनि जोखिमयुक्त तुइन समातेर नदी, खोला तर्नुपर्ने बाध्यतामा नागरिकहरु छन् । त्यसमा पनि छिमेकी देशको हेपाहा प्रवृत्तिले तुइन तर्दा तर्दै काटिदिएर बेपत्ता हुनुपर्ने, अकालमै ज्यान गुमाउनु पर्ने विवशता पनि छ ।

हुन त देशमा तुइन विस्थापनको घोषणा पटक पटक भएकै थियो र छ । तर, यसको कठीन दुर्दशाबाट कति नेपाली अझै मुक्त छैनन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे । चार वर्ष शासन पनि गरे, तर अझै तुइन विस्थापित भएनन् । देशमा अझै १२ वटा तुइन कायमै छ । महाकाली नदीमा मात्र चार तथा कर्णाली र कालीगण्डकीमा आठ तुइन रहेको तथ्यांक छ । सरकारी तथ्यांक अनुसार ०७२ मा मुलुकमा एक सय ४२ वटा तुइन थिए । तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने नीति लिइए पछि त्यसयता एक सय ३० वटा विस्थापन गरिएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले जनाएको छ । गत आव ०७७÷७८ मै सक्ने लक्ष्य भए पनि कोरोनाका कारण नसकिएको र आगामी चैतभित्र तुइन विस्थापन भइसक्ने विभाग बताइरहेछ ।

तुइन विस्थापित योजनामा जे जति कारणले ढिलाइ भए पनि अहिले दुई जना बेपत्ता छन्, कतिले ज्यान गुमाएका छन् । यो घटना र परिदृश्यले ढिलाई र बेवास्ता जति बढ्छ, उति नै अप्रिय घटनाहरुका पुनारवृत्ति हुने निश्चित छ । वर्षौदेखि भोग्दै देख्दै आएको यस्तो विवशतामा सरकारले प्राथमिक एजेण्डा बनाएर काम खोज्नु सकारात्मक विषय हो । तर, यस्तो संवेदनशील विषयमा समयमै काम नसक्ने, अनेक बहानाबाजी बनाएर निर्माण कार्यमा लापरवाही, ढिलाई गर्ने कार्य गम्भीर विषय हो । अघिल्लो सरकारले जुन प्रतिवद्धताका साथ काम गर्ने दृढता देखाएको थियो, भलै अझै १२ तुइन विस्थापित हुन बाँकी छ । अहिले सरकार फेरिएको छ । वर्तमान सरकारले पनि बाँकी स्थानको तुइन विस्थापित गर्ने योजनालाई अब समयमै सक्न आवश्यक निर्देशन र निगरानी गर्न जरुरी छ । अब नेपालमा तुइन तर्नुपर्ने र बिचमै खसेर मर्नुपर्ने बाध्यता र विवशता अन्त्य भएको हेर्न नागरिक आतुर छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *