२४ वर्षदेखि इलाका प्रशासन कार्यालय बुर्तिबाङ भवनविहीन

डम्मर बुढा मगर, बागलुङ
२०५४ साल अगाडि सम्म पश्चिम बागलुङको निसी, भूजी, तमान र बडिगाडमा हजारौँ नागरिक सामान्य प्रशासनिक कामका लागि हप्ता दिन लगाएर बागलुङ सदरमुकाम आउने गर्थे । नजिकमा प्रशासन कार्यालय नहुँदा वर्षौँदेखि समस्या भोग्दै आएका पश्चिम क्षेत्रका बासिन्दाका लागि लक्षित गरि २०५४ सालमा बुर्तिबाङ बजारमा इलाका प्रशासन कार्यालय सञ्चालन गरियो ।

इलाका प्रशासन कार्यालय संचालनमा आएपछि पश्चिम बागलुङका हजारौ नागरिकलाई बागलुङ आउनु पर्ने बाध्यता त धेरै हद सम्म ट¥यो । बुर्तिबाङ बजारबाटै नागरिकता वितरण लगायतका प्रशासनिक कामहरु सुरु भए पछि धेरै राहत भयो पनि । बिडम्वना वर्षौपछि संचालनमा आएको इलाका प्रशासन कार्यालय देशमा जनयुद्ध सुरु भए पछि भने द्वन्द्वकालमा विस्थापित हुन पुग्यो ।
प्रशासन कार्यालय विस्थापित भएपछि पश्चिम बागलुङवासीको पुरानै व्यथा बाध्यता दोहोरियो ।

देशमा शान्ति सम्झौता भए पछि २०६३ सालमा पुर्नस्थापित भयो । सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रह्यो । र पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित गरियो ।

२०५४ सालमा इलाका प्रशासन कार्यालयको नाम दिई स्थापना भएको यस कार्यालयको विभिन्न समयमा नाम परिवर्तन भए पनि सेवा भने निरन्तर प्रवाह गरिँदै आइएको छ । यस कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका जनताले नागरिकता, राहदानी लगायतका सेवा लिँदै आएका छन् ।

दुई दशक भन्दा बढी समय कार्यालय स्थापनाको अवधि हुँदा पनि आफ्नै भवन विहीन अवस्थामा छ । सम्बन्धित निकायको ध्यान नपुग्दा स्थापना भएको २४ वर्ष पार गरिसक्दा पनि कार्यालय भाडाकै घरमा राखेर सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

कार्यालयको आफ्नो भवन नहुँदा अहिले स्थानीय चमेली बोहराको घर भाडामा लिएर सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका सूचना अधिकारी लोकबहादुर कुवँरले जानकारी दिनुभयो । यसअघि बुर्तिबाङको उपल्लो बजारमा संचालन हुँदै आएकोमा हाल बिच बजारबाट कार्यालय संचालन हुँदै आएको छ ।

कार्यालयका लागि १० वटा कोठा भाडामा लिएर सेवा दिई राखेको कुवँरको भनाई छ । घरको मासिक रुपमा २० हजार रुपैडाँ भाडा तिर्दै आएको उहाँ बताउनुहुन्छ । भाडामा लिएको कोठामा कार्यालय संचालन गर्दा साँघुरो भएर कर्मचारीहरुलाई काम गर्न असहज भएको छ ।

‘कार्यालय संचालन भएको यतिका वर्ष भयो, अहिलेसम्म आफ्नो भवन छैन, घरको कोठा भाडामा लिएर कार्यालय संचालन गर्नु परेको छ,’ कुँवरले भन्नुभयो ‘सेवाग्राही बढी आउने हुँदा कर्मचारीलाई काम गर्न सकस हुने गरेको छ ।’ उहाँले हरेक २/२ वर्षमा १० प्रतिशत घर भाडा बढाउने सहमति भएको समेत जानकारी गराउनुभयो ।

कुवँरले आफ्नै भवन नहुँदै काम गर्न धेरै चुनौतिहरु भएको गुनासो समेत गर्नुभयो । भवन निर्माणका लागि अहिलेसम्म कुनै पनि छलफल समेत भएको छैन । ‘कार्यालय स्थापना भएर सेवा दिन थालेको यतिका वर्ष भयो, अहिलेसम्म आफ्नै भवन नहुनु दुखद हो, भवन निर्माणका लागि अहिलेसम्म पनि कुनै छलफल भएको पाइएको छैन’ उहाँले भन्नुभयो ‘आफ्नै भवनबाट काम गर्दा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न सकिने थियो, अहिले पनि सेवा त हामीले सके जतिको गरेका छौँ तर खुल्ला र फराकिलो स्थानबाट सेवा प्रदान गर्दा केही फरक त पक्कै हुने थियो ।’

दरबन्दी अनुसारको कर्मचारी समेत नहुँदा सेवा प्रवाहमा समस्या छ । आठ जना दरबन्दी भएको कार्यालयमा हाल करारका दुई जनासहित पाँच जना मात्रै कार्यरत छन् । ‘८ जना स्थायी कर्मचारीको दरबन्दी त हो तर अहिले तीन जना स्थायी र दुई जना करारका कर्मचारीको भरमा सेवा दिनु परेको छ,’ कुँवरले भन्नुभयो ‘निकै समस्या भएको छ, मेनपावर छैन, जर्बजस्त काम गर्नु पर्ने अवस्था छ, सेवा दिनु प¥यो नै ।

कार्यालयका आवश्यक कागजात बोक्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एक गाडीको समेत आवश्यक रहेको कर्मचारी बताउँछन् । यसका लागि सम्बन्धित निकायमा माग गरे पनि अझैसम्म माग पूरा हुन नसकेको कुवरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *