बागलुङ अदालतमा लक्ष्यको ५२ प्रतिशत मात्रै मुद्दा फछर्यौट

आदर्श अनलाइन, बागलुङ

जिल्ला अदातल बागलुङले कोरोना महामारीका कारण लक्ष्यको जम्मा ५२ प्रतिशत मात्रै मुद्दा फछ्र्यौट गरेको छ ।

कोरोना महामारीका कारण जिल्ला अदालत सम्म मुद्दा नआउनु र निषेधाज्ञाका कारण लक्ष्य अनुरुप फैसला हुन नसक्दा आर्थिक वर्ष २०७७/७८ मा जम्मा ३६८ मुद्दा फैसला भएको जिल्ला अदालत बागलुङले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को कार्ययोजना अनुसार ७८० मुद्दा पर्ने अनुमान गरिए पनि ६९९ मुद्दा दर्ता भएको थिए । जसमध्ये जम्मा ३६८ मुद्दा फैसला भएको जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका ३०३ मुद्दा थिए ।

गत आर्थिक वर्षमा ७२ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा ५८ मुद्दा फैसला भएका छन् भने १४ मुद्दा बाँकी छ । जसमध्ये पुरुषद्वारा दर्ता गरिएको सम्बन्ध विच्छेदका घटना बढी रहेको पाइन्छ ।
आर्थिक वर्षमा महिलाबाट ३२ मुद्दा दर्ता भएकोमा २६ वटा फैसला भएको र ६ वटा बाँकी छ भने ४० पुरुषद्वारा दर्ता गरिएका मुद्दामध्ये ३२ मुद्दा फैसला भएको र ८ मुद्दा बाँकी छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका १७० सम्बन्ध बिच्छेदका मुद्दा मध्ये १२२ मुद्दामा मिलापत्र भएको छ भने ८४ मुद्दा बाँकी छन् ।

अदालतले सम्बन्ध बिच्छेद गराएकालाई फैसला भन्दै आएको छ भने अदालतमा निवेदकहरु आपसी समझदारीमा कानूनी रुपमा अलग अलग बस्न चाहान्छौ भनेर आएकालाई मिलापत्र गरेर मुद्धा टुंग्याउने गरिएको छ ।

जिल्ला न्यायाधीश न्यौपानेका अनुसार बागलुङ जिल्लाको ढोरपाटन क्षेत्रको बढी मुद्दा पर्ने गरेको छ । “हत्या हिंसा, बलात्कार र ज्यान मार्ने उद्योग लगायतका मुद्दा अधिकांश पश्चिम क्षेत्रकै बढी पाएको छु, दुई वर्षको अवधीमा जिल्लामा बसेर काम गर्दा बढी अपराधका घटना समेत ढोरपाटन क्षेत्रमै बढी भएको छ” न्यौपानेले भन्नुभयो “पश्चिम क्षेत्रमा अशिक्षा, गरिबी, बैदैशिक रोजगारी र चेतनाको अभावमा बढी हत्या, हिंसा, बलात्कार र अन्य आपराधिक घटना भएको मेरो बुझाई छ ।” जिल्ला अदालतमा रहेका जम्मा मुद्दा मध्ये ५० प्रतिशत मुद्दा पश्चिम क्षेत्रको रहेको उहाँको भनाई छ ।

आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका जबर्जस्ती करणीका ४२ मुद्दामा २८ मुद्दा फछ्र्यौट भएको छ भने १४ मुद्दा बाँकी छ । बाल यौन दुरुपयोगका चार मुद्दामा चार वटानै फैसला भएको र आत्महत्या दुरुत्साहन मुद्दामा ५ मुद्दा मध्ये चार वटा मुद्दा फैसला भइसक्केका छन् ।

ज्यान सम्बन्धी अदालतका परेका २४ मुद्दामा ६ मात्रै फछ्यौट भएका छन् भने १८ बाँकी छन् । बिभिन्न प्रकारका चोरीका घटनामा दर्ता भएका १७ मुद्दामा १६ मुद्दा फैसला भइसकेका छन् ।
लागुऔषध सम्बन्धी परेका १९ मुद्दामा ७ फैसला भएको र १२ मुद्दा बाँकी छ । बोक्सीको आरोपमा दर्ता भएको एक मुद्दाको किनारा लागिसकेकोे छ । घरेलु हिंसाका ८ मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको, बैवाहिक बलात्कार मुद्दामा हाल सम्म तीन वटा मुद्दाको फैसला भएकोमा एकलाई सजाय सुनाइएको र दुई मुद्दालाई किनारा लगाइएको छ ।

नाबालक प्रतिवादी भएको १९ मुद्दामा ७ फछ्यौट भएको र १२ मुद्दा बाँकी छ । बालबालिका पीडित भएका २२ मुद्दामा १२ फैसला भएको र १० बाँकी रहेको, कसूर ठहर भई सजाय निर्धारण भएको ३७ मुद्दा किनारा लगाइएको र निरन्तर सुनुवाई भएका ५७ मुद्दामा ३२ फछ्र्यौट भएका छन् भने २५ बाँकी छन् । थुनुवा संख्या ९६ मा ६४ फछ्र्यौट भएको ३३ बाँकी छ । जसमध्ये ३ बालबालिका ४ पुरुष विदेशी समेत गरी जम्मा ५८ छ ।

अदालतले पछिल्लो समय मुद्दाको प्रकृतिका आधारमा समय निर्धारण गरी फैसला गर्न थालेको बताएको छ । जसमध्ये सरल मार्गमा ३३७, सामान्य मार्गमा ५५ र विशेष मार्गमा ४ वटा दर्ता भएकोमा १६७ सरल मार्गका र १० सामान्य मार्गका फछ्र्यौट भएको छ ।

फैसला कार्यान्वयन तर्फ परेका निवेदनहरु ०७६/७७ बाट जिम्मेवारी सरी आएको ५० निवेदन ७७/७८ मा थप भएको ४७ नयाँ गरी जम्मा ९७ निवेदन मध्ये ५२ फछ्र्यौट भएको छ । ९२ प्रतिशत कैद फछ्र्यौट भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *