बागलुङमा ९८ प्रतिशत रोपाई, उत्पादन बढ्ने अपेक्षा

आदर्श अनलाइन, बागलुङ
साउनको मध्यसम्म बागलुङ जिल्लामा ९८ प्रतिशत रोपाई सकिएको छ । यस वर्ष वर्षातका कारण समयमै खेत रोप्न किसानहरु सफल भएका हुन् । समयमै पानी परेका कारणले यस बर्ष छिटो रोपाई सकिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार यसवर्ष समयमै वर्षा भएकाले पहिले भन्दा छिटो रोपाई सकिएको हो । गत वर्षको तुलमामा यस बर्ष धेरै हेक्टरमा धान रोपाई समेत भएको छ । कोरोना महामारीका कारण घर फर्केकाहरुले बाँझो खेतमा समेत धान रोपेका छन् । गत वर्ष यही समयमा ८० देखि ९० प्रतिशतको हाराहारीमा मात्रै धान रोपाई भएको थियो ।

पहिलेका वर्षहरुमा मनसुन ढिला सक्रिय भएकाले रोपाईमा ढिला हुने गरेको थियो । अहिले छिटफुट स्थान बाहेक अन्यमा धान रोपाई सकिएको भट्टराइले जानकारी दिनुभयो । “यसवर्ष समयमै रोपाई सकिएको छ, कोरोना महामारीका बाबजुद किसानले माक्स लगाएरै भए पनि खेत रोपाइमा सहभागी भए, केही स्थानमा वर्षौदेखि बाँझो रहेको जग्गामा खेत रोपेको तथ्याङ्क आएको छ” भट्टराइले भन्नुभयो “समयमै पानी पर्दा किसानहरुले यस बर्ष धानको उत्पादन समेत बढ्ने अपेक्षा गरेका छन् ।”

जिल्लाको जैमिनी नगरपालिकामा कतै खेत रोप्न बाँकी रहे पनि अन्य ९ वटा पालिकामा खेत रोपाई सकिएको छ । मकै पाकेर खेत रोप्ने स्थानमा केही ढिला भए पनि अन्य स्थानमा खेत रोपाई चाँडो सकिएको हो । बागलुङमा हाल कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । हाल जिल्लाको करिब ७ हजार ७ सय बिस हेक्टर जमिनमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जानाकारी दिएको छ ।

कोरोनाको कहरका कारण धेरै व्यक्तिहरु गाउँमा फर्केर कृषि उद्यममा लागेको र समयमै पानी परेकोले गर्दा यस बर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको केन्द्रले जनाएको छ ।

बागलुङमा अहिले स्थानीय जातका धानलाई बिशेष प्राथमिकतामा राखेर लगाउने गरेको पाइन्छ । जिल्लामा अहिले गुडुरा, पोखरेली, जेठो बुढो लगायतका स्थानीय जातका धान लगाइने गरेको छ । तर, पछिल्लो समयमा उन्नत जातका खुमल चार, खुमल दश, राधा सात, जरन, माछापुञ्छ«े लगायतका धानहरुमा कृषकहरुको आकर्षण समेत छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *