साहसिक पर्यटक पर्खदै कुश्माको बन्जी पुल

आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहर अगाडि दैनिक एक सयको हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भयो । पहिलो लहरका कारण सञ्चालनमा ढिलाई भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोंचमा निर्माण भएको बन्जी र स्वीङ कोरोना कहरले बढी प्रभावित भएको छ ।

२०७७ कात्तिक १५ बाट सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहर अघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पखाईमा छ ।

झण्डै २० करोड भन्दा बढी लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसंगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ । दोस्रो लहर पछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसंगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

द क्लिफ प्रालि अन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लििङ र बागलुङ नगरपलिका–१४ नारायणस्थानमा द क्लिफ रिसोर्ट समेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्राथना हात लगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् ।

“अहिले २०÷२५ जना पुलको र रिसोर्ट अवलोकन गर्ने र ८÷१० जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्यका मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरेका छौं,” अध्यक्ष कार्कीले भन्नुभयो “दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला, पूर्ण रुपमा कोरोना साम्य नभए सम्म लक्ष्य अनुरुपको साहसिक पर्यटक आउन समस्या छ, हामीलाई मुस्ताङ जाने र म्याग्दी, मुस्ताङ लगायतका पदमार्ग खुल्ला भएमा बल्ल साहसिक पर्यटक आउनेछन्, अहिले साहसिक पर्यटकको पखाईमा छौं भन्दा हुन्छ ।” उक्त प्राली अन्तर्गतका साहसिक खेल र रिसोर्टमा ७० जना कर्मचारीले रोजगारी पाएका छन् । ५० प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरेको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटफुट आउन थालेको जनाएको छ ।

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत सहासिक खेल सन्चालन पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गासमै ढुङ्गा जस्तो भएको छ । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो भने पुल संगै रिसोर्टको निर्माण २०७६ मा सकिएको थियो ।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदीको ठीक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्म छ । खोला देखि पुलको उचाई २२८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दावी गर्दै आएको छ । नेपालका अन्य स्थान भन्दा अग्लो र फरक भौगोलिक वातावरणका कारण यहाँको बन्जी र स्विङ प्रति धेरैको आर्कषण छ ।

बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएका छ भने जोडी स्वीङको १२ हजार शुल्क तोकिएको छ । प्रालिको अर्को आर्कषण गुलेली पीङ समेत छ । कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो रहेको प्रालीको भनाई छ । प्रालीमा कार्की सहित अन्य पाँच जनाको लगानी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *