सहकारी बैंकको चेक नचल्ने समस्या अब रहदैन: अर्थमन्त्री शर्मा

आदर्श अनलाइन, ललितपुर

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहकारी बैंकको चेक नचल्ने समस्या अबदेखि नरहने बताउनु भएको छ ।

सहकारीको चेक अन्य बैकमा भुक्तानी नहुने समस्या रहेको सहकारी क्षेत्रको गुनासो रहेको चर्चा गर्दै उहाँले सहकारी बैंकको चेक नचल्ने नीति हुन नहुने बताउनुभयो । यदी त्यस खालको नीति छ भने त्यसलाई खारेज गर्नु पर्छ र सहकारीको चेकलाई सहज रुपमा चल्ने वातावरण बनाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औ. वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन–२०७८ को उद्घाटन पछि बोल्दै अर्थमन्त्री शर्माले सहकारी जनतासंग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई सुधार गरेर अगाडि बढ्न सरकार तत्पर रहेको बताउनुभयो ।


गाउँ गाउँमा सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या छ, अर्थमन्त्री शर्माले भन्ुनुभयो–जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरु लगायतले पाउने सामाजिक सुरक्षा भत्तालाई सहज रुपमा वितरण गर्ने प्रणालीको व्यवस्था गर्न अध्ययन भैरहेको र त्यसका लागि सहकारी बैंक सहयोगी बन्न सक्ने उहाँको भनाइ थियो ।

मुलुकको अर्थतन्त्रको विकासका लागि तीन खम्बे अर्थनीतिको व्यवस्था घरजग्गा र गाडी खरिद गर्नका लिइने कर्जाको ब्याज कम हुने अवस्था कहिलेसम्म रहन्छ ? भन्दै मन्त्री शर्माले गरिवका लागि सहुलियत दरको कर्जा वितरणका लागि सरकार र सहकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । सहकारी क्षेत्रलाई रोजगारी वृद्धि, गरिबी न्यूनिकरण, उत्पादनमुखी अर्थव्यवस्था बढाउने गरी अगाडि बढाउनु पर्ने मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लिलानाथ शर्माले मुलुकको गरिवी निवारणमा सहकारी क्षेत्रको राम्रो संभावना रहेको र त्यसमा पनि सहकारी बैंकको भूमिका थप प्रभावकारी हुने भएकाले सोही अनुसारको योजनाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेडाकका अध्यक्ष सन्दिप नायकले नेपालको सहकारी अभियानलाई वित्तीय तथा प्रविधिका क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय सहकारी बैंकसंग समन्वय गरेर नेडाकले काम गरिरहेको बताउनुभयो । बैंकले सदस्य वृद्धि लगायत वित्तीय तथा अन्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको भन्दै नायकले सहकारी बैंकको थप प्रभावकारी भूमिका लागि समन्वय गरिने बताउनुभयो ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त विज्ञ शंकरमान श्रेष्ठले नेपालको अर्थतन्त्रलाई सबल सक्षम बनाउनका लागि लघुवित्तलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
२ दिनसम्म सञ्चालन हुने कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले गरिबी न्यूनिकरणमा सहकारी लघुवित्त, नेपाल सरकारको नीति तथा कार्यक्रम विषयक कार्यपत्र प्रस्तुत गर्नु भयो ।

कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशव बडाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सुझाव प्रस्तुत गर्नु भएको थियो ।

बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी बैंकको भावी कार्यदिशा तथा गरिबी न्यूनिकरणमा सहकारी संस्था, संघ र बैंकको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *