शुभेक्षा पन्त
नेपाली समाजको मान्यता र परम्परा अनुसार बाबु, आमाको सम्पत्ति अंशबण्डा गरी आफ्ना सन्तानलाई दिने व्यवस्था छ । सन्तान नहुने व्यक्तिले धर्मपुत्र, धर्मपुत्री राखी अथवा कसैलाई दान, बकस दिई सम्पत्ति हस्तान्तरण गर्न पाउने व्यवस्था छ । मुलुकी देवानी संहिता, २०७४ मा देवानी मुद्दा अन्तर्गत पर्ने अंशबण्डाको पनि व्यवस्था गरिएको छ ।
अंशबण्डा भनेको कुनै चल, अचल सम्पति अंश पाउने हक, अधिकार भएका अंशियारहरुमा बाँडफाँड गर्नु, भाग लगाउनु हो । सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई सम्पत्ति प्राप्त गर्ने हक, अधिकार भएका अंशियारहरू बिच बराबर भागवण्डा गर्नु, अंश छुटाउनु अंशबण्डा गर्नु हो । अंशबण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण कसैलाई घटी–बढी नगरी बराबर हिस्सा गरी बण्डा गर्नुपर्छ र अंशबण्डा गर्ने क्रममा विवाद परेमा र समाधान हुन धेरै समय लाग्ने भएमा त्यस्तो सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति भागबण्डा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
मुलुकी ऐन, २०२० अनुसार जीवित भएका व्यक्तिहरु बिचमा मात्र अंशबण्डा हुने व्यवस्था रहेको र सोही अनुरुप काम हुँदै आएकोमा मुलुकी देवानी संहिता, २०७४ ले अंशबण्डा गर्दा कुनै महिला गर्भवती भएमा र निजले जन्माउने शिशुलाई समेत भाग लगाई अंश छुटाउनु पर्ने व्यवस्था छ । त्यसरी जन्मने शिशुलाई अन्य अंशियार सरह भाग छुट्याएर अंशबण्डा गर्नु पर्दछ । तर, मुलुकी ऐन, २०२० मा जीवित व्यक्तिलाई मात्र अंशियार मानी अंशबण्डा गर्ने व्यवस्था थियो । अंशबण्डा गर्दा सबै अंशियारलाई सम्पत्ति र क्रृणको बराबर हिस्सा लगाउनु पर्दछ । कसैले पनि बण्डा लगाउने सम्पत्ति लुकाउनु हुँदैन । बाबुको पहिचान नभएका छोराछोरीले आमाको सम्पत्तिबाट अंश पाँउछन् । एक भन्दा बढी पत्नी भएमा पतिको भागबाट मात्र ंपत्नीहरुले अंश पाँउछन् । अंशबण्डा गर्दा अंशमा हक, अधिकार भएका सबै अंशियारको मञ्जुरी अनुसार अंश छुटाउनु पर्दछ । त्यसरी मन्जुरी नभएमा गोला हाली अंशबण्डा गरिन्छ । बाबुको पहिचान नभएका छोराछोरीले पनि आमाको सम्पत्तिबाट अंश पाउने व्यवस्था मुलुकी देवानी संहिता, २०७४ ले गरेको छ । घरायसी बण्डाले कानूनी मान्यता नपाउने हुँदा अंशबण्डा गर्दा कानूनी रित प्रक्रिया पुरा गरी लिखत पारित गर्नु पर्दछ ।
अंशियारहरुका बिच सम्पत्तिको भाग लगाउनु अंशबण्डा हो । पुर्खाबाट हस्तान्तरण हुँदै आएको सम्पत्ति अंशियारहरु बिच अंशबण्डा गर्नुपर्छ भन्ने कानुनी मान्यता छ । अंशबण्डा गर्दा सर्वप्रथम कुन कुन व्यक्तिमा त्यो अंश पाउने हक, अधिकार रहेको छ भन्ने कुरा बुझ्नु पर्दछ । बाबु आमाको सम्पति पाउने हक उनका छोराहरु र अविवाहित छोरीमा हुन्छ । छोराछोरीले आफ्नो दायित्व पूरा नगरे पनि आमाबाबुले अंश दिनुपर्ने कानुनमा व्यवस्था छ । छोराछोरीले अंश दाबी गरेमा अंश दिनैपर्ने बाध्यात्मक व्यवस्था ऐनमा छ । तर, दाबी नगरेमा वा लिन नचाहेमा भने अंशबण्डा गर्नुपर्ने बाध्यमत्मक हँुदैन । अंशबण्डाको लिखत गर्दा कानूनी रिट पक्रिृया पुरा गरी कानूनले तोकेको ढाँचामा लेख्नुपर्दछ । अंशियारहरु सम्मान हकका हकदार हुन्छन् । कुनै पनि व्यक्तिले अंश आफ्ना बाबु, आमा वा पतिको सम्पत्तिबाट मात्र पाइन्छ । एकाघरमा रहेका पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनका लागि अंशियार मानिएका हुन्छन् । सगोलमा रहेको सम्पत्तिमा प्रत्येक अंशियारको समान हक रहेको हुन्छ ।
अंशबण्डा अंश छोडपत्र लिखत, मानो छुटिएको लिखत, अंश चलन मुद्दा, अंशबण्डा लिखत गरी विभाजन गरिएको छ । कुनैपनि व्यक्तिले सम्बन्ध विच्छेद अथवा मानाचामल गरी छुटी सकेको भएमा, सम्पति लुकाएमा, विवाहित छोरी भएमा अथवा बाबा आमाबाट अंश पाइसकेको भएमा त्यस्तो व्यक्तिो अंशमा हक लाग्दैन र दाबी गर्न पनि पाँउदैन । कुनै व्यक्तिले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति नीजका छोराहरूको लागि पैतृक सम्पत्ति हुन्छ र त्यसमा पनि अंशियारको हक लाग्दछ । यस्तो अंशमा दाबी गर्ने अंशियारले पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ । बण्डापत्रद्वारा अंश हक प्राप्त गर्ने व्यक्तिले छुट्टिएका अन्य अंशियारको मन्जुरी नलिई अंशको जग्गा बेचबिखन दान वा बकस गर्न नपाउने भनि अदालतले नजिर बनाइ व्याख्या गरेको छ । पत्नीले पतिबाट अंश पाउन र छोराछोरीले पिताबाट अंश पाउनका लागि निज आफ्नो आमाबाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानुनबमोजिम धर्मपुत्र÷धर्मपुत्री राखेको हुनुपर्छ । सोबाहेक कुनै व्यक्तिले पत्नी र छोराछोरीको रूपमा अंशमा दाबी गर्न सक्दैनन ।
कुनै अंशियारले अंश लिन नचाहेमा आफ्नो अंश आंशिक रूपमा लिई वा अंशबापत केही नगद वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्दछन् । अंश छोडपत्र गर्दा अंशियारले आफ्नो पति, पत्नी वा उमेर पुगेका छोराछोरीको मञ्जुरी लिएर मात्र अंश छोडपत्र गर्नुपर्छ । आमाबाबुको नाममा भएको सम्पत्ति छोराछोरीको लागि पैतृक सम्पत्ति सरह हुन्छ । सो सम्पत्तिबाट अंश पाउनु छोराछोरीको नैसर्गिक हक, अधिकार हो । पतिको मृत्यु भएमा पनि एकल महिलाले आफ्नो अंश लिई भिन्न हुन सक्ने कानूनी व्यवस्था छ । नीजले अर्को विवाह गरेमा भने निजको अंशबापत पाएको सम्पत्ति अघिल्लो पतितर्फका छोराछोरी भएमा तिनहरुले पाउने र नभएमा निज आफैँले लिन पाउने व्यवस्था छ । दायित्व पूरा गर्नुपर्ने व्यक्तिले दायित्व पूरा नगरेमा, समान हैसियतका व्यक्तिमा असमान व्यवहार भएमा वा कुनै अंशियारलाई छुट्टै बस्दा सहज हुने भएमा त्यस्ता अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्छन् । सबै अंशियारबीच आपसी सहमति भएमा नीजहरुले जुन कुनै समयमा पनि अंश लिई भिन्न बस्न सक्ने कानुनी व्यवस्था छ ।
अंशबण्डा गरेपछि कुनै काम–कारबाहीबाट मर्का पर्ने व्यक्तिले नालिस गर्न सक्ने व्यवस्था छ । अंशबण्डा भएको मितिले तीन महिना भित्र, सम्पत्ति लुकाए वा छिपाएको थाहा पाएमा अंशियारको जीवनकाल रहेसम्म नालिस गर्न सकिन्छ । त्यसबाहेक अन्य अवस्थामा अन्तर्गत त्यस्तो काम–कारबाहीबाट मर्का पर्ने वा परेको व्यक्तिले ६ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा उजुरी गर्न सक्ने कानुनी व्यवस्था छ । अंशबण्डा गर्दा त्यसको लिखत तयार पारी साक्षी राखेर, लिखतमा साक्षी र अंशियारको सहीछाप गरी कानुनको रीत प्रक्रिया पुरा गरी सम्बन्धित कार्यालयबाट पारित गराउनुपर्छ र कसैले पनि बाटो निकास बन्द हुने गरी अंशवण्डा गर्नु हुदैन । अंशबण्डामा हक दाबी गर्ने व्यक्ति आफ्नो दायित्व र कर्तव्य पनि पुरा गरेमा कुनै बृद्दा आमा, बुबालाई आश्रम देख्नुपर्ने थिएन । त्यसैले हक र अधिकार खोज्ने व्यक्तिले कर्तव्य र दायित्वको पालना गर्न अति आवश्यक छ । यस्तो गरेमा समाजमा उचित सामाजिक व्यवस्थाका साथै देश विकासका लागि सहज हुनेछ ।