‘आलु’ जस्ता गायक र ‘कछुवा’ जस्तो दोहोरी गीत प्रतिष्ठान

सज्जन कुमार सिँह

यसपालीको तीज बरै ख्या…..पुतली । यो गीतका गायक सर्जक तथा मोडेल दुर्गेश थापा हाम्रै बागलुङे हुन् । गीतकै कारण बेला बेलामा उनी कन्ट्रोभर्सीमा आइरहन्छन् । पहिले विवादमा आए पछि ‘आलु’ जस्ता गायक भनेर आफैलाई व्यंग्य गर्दैै गीत समेत निकाले । उसो त धेरै संघर्ष, हण्डर, ठक्कर खाएर दुर्गेशले मोडलिङमा आजको उचाई हासिल गरेका हुन् । मोडलिङमा चर्चा बटुल्न सफल दुर्गेशले अहिले गायनमा पनि ठुलो चर्चा बटुल्दै छन् । चर्चा अहिले उनको सकारात्मक र नकारात्मक दुवै हिसाबले भइरहेको छ ।

कोही उनलाइ बिरोध गर्दै ट्रोल बनाउन व्यस्त देखिएका छन् भने एउटा तप्का उनको ठुला फ्यान छन् । कसको स्वर राम्रो, कसको स्वर नराम्रो ? त्यो व्यक्ति अनुसार फरक हुन्छ । कागको स्वर मन परेर कोइलीको स्वर मन नपार्न पनि त पाइयो होइन र ? किनकि कसलाई कस्तो स्वर मनपर्छ, त्यो व्यक्तिको स्वतन्त्रताको कुरा हो ।

दुर्गेशले नेपाली गीत संगीत,रंगमञ्चको क्षेत्रमा टिक्नका लागि बार,रेष्टुरेन्ट र विभिन्न ठाउँमा ठुलो संघर्ष गरे । उनको आजको सफलता कसैले ला भनेर उपहार दिएको चाही अवश्य हैन । उनलाई समयले, संघर्षले र केही मेहनतले साथ दियो र अहिले सफल देखिएका छन् । यदि हामीले दुर्गेश थापाका गीत संगीत, गायनलाई मन नपराइदिएका भए, चर्चा, चासो र महत्व नदिएका भए, उनी आफै यस्ता गाउन तम्सने थिए त ? हामी श्रोता, दर्शकले नै उनलाई हिट बनायौ त दोष उनको मात्र कि दर्शक स्रोताको पनि ?

उनलाइ गाउने रहर लाग्यो । गाउँमा बच्चाकालमा गाउने गीतहरु,अन्य केही उत्पट्याङ गीतहरु उनले रेकर्ड गरे वा गाए । तर, उनले गायक बन्नका लागि भन्दा पनि सौखका लागि ती गीत गाएका थिए । उनकै खालका गीत उनकै शैलीको डिमाण्ड नयाँ पुस्तामा देखियो । संगीतको अध्ययन गरेर, अभ्यास गरेर जीवन सकेका गायकहरु गुमनाम तर उत्पट्याङ गीतहरु गाउने दुर्गेशहरु किन हिट भए भन्ने कारण खोज्ने कि दुर्गेश हिट भयो भनेर उसको खेदो खन्ने ? हिट केलाई भन्ने ? हिटको मापक के हुन् ? यतातिर पनि घोत्लिने कि ?

हो, गलत सन्देश जाने, समाजमा कसैलाई असह्य हुने, लाजघीन लाग्ने, जातिय क्षेत्रीय कुरामा आँच आउने, संविधान कानुन विरोधी,अरुलाई लज्जाबोध हुने सिर्जना कसैले गर्नुहुन्न । त्यस्ता विषयमा ‘ख्यास्स पुतली’ गाउने दुर्गेश होस् या ‘भुत्रो माया’ गाउने प्रिति आले होस् या त च्याप्प समाइ, झ्याप्प समाइ गीत गाउने लोकदोहोरी गायक गायिका सबै सचेत बन्नैपर्छ ।

प्रसंग दुर्गेशको ‘ख्यास्स पुतली’ को होला तर नेपाली गीत संगीत क्षेत्रमा प्रयोग हुने सिर्जना र यो क्षेत्र कसरी झन् झन् विकृत बन्दै छ ? यसको नियमनकारी निकाय कति निरिह छ ? अनि यसको सही समाधान के हो भन्ने प्रश्न चाहिँ अहिलेको मुख्य प्रश्न हो ।

दुर्गेश मात्र होइन, यहाँ चर्चामा आउनका लागि अनेकौ काण्ड, अश्लील दोहोरी, गीत गाउने मात्र होइन, मान्छे नै नाङ्गा बनेका छन् । केटा साडी लाएका छन् । रत्यौली पनि गाएका छन् ।
सत्य यही हो कि फाइदाका लागि यहाँ मान्छे जे पनि गर्न तयार छन् । पूँजिवादको मुल गुण नै यहि हो कि ऊ गहिराइमा होइन, सतह र आवरणमा रमाउँछ बाँच्छ । कहिलेकाही चर्चामा लगेर बिरोध गरिएकै व्यक्तिलाई फाइदा पुग्छ । दुर्गेशलाई जति गाली गरिन्छ, अहिलेको समयमा उनी झन् चर्चित बन्छन् ।

दुर्गेशको गीतमा प्रयोग भएको ख्या…स् पुतली शव्दलाइ लिएर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले दुर्गेशलाइ बहिस्कार गर्ने समाचार सार्वजनिक छ । प्रतिष्ठानको अनुशासन समितिले उनलाई कारबाही स्वरुप उनीसंग कुनै कलाकारले गीत नगाउने, कतै कार्यक्रममा जान नदिने जस्ता केटाकेटी कुरा गरेर झन् जग हसायो । आज एउटाले ख्या… निकाल्यो । भोलि अर्काले कोही व्यक्तिलाइ कुकुर भनेर गीत गाउला, अर्काले रिस उठेका मान्छेलाइ गधा नै भनेर गीत निकाल्ला । कतिलाई बहिस्कार गर्ने ? के समस्याको सही समाधान यही हो त ?

के अब दुर्गेशलाई बहिष्कार गरेर, बिज्ञप्ति निकालेर समस्याको समाधान हुन्छ ? समस्या टाउकोमा ओखती नाइटोमा जस्तो भएन र ? बरु यो त कसैको सफलता र चर्चामा डाह गरे जस्तो पो भयो कि ?

अहिले आउने दोहोरी गीत कति छाडा छन् ? कति लाजमर्दा छन् ? पूर्वतिर एउटा अर्थ लाग्ने शब्दको पश्चिमतिर अर्काे अर्थ लाग्छ । भाषिक र आञ्चलिकताको द्धन्द्ध जसरी राज्यमा निकायमा छ, त्यसरी नै गीत संगीतमा पनि छ । जसले जे भनेर पनि गीत गाएको छ । जसलाई जस्तो मन लाग्यो, उस्तै गीत, भिडियो निकालिएको छ । त्यसलाई रोक्न दिर्घकालीन रुपमा समाधान गर्न नीति, नियम र कानुन बनाउन दबाब दिने कि व्यक्तिलाई बहिष्कार गर्ने ?

भर्खरै गीत संगीतमा केही सुखद चाँदीका घेरा देखिदै छन् । युट्युव र अन्य प्लाट फर्मका कारण हिजो मुढो चिरे, भाडा माझे, खाना नपाएर भोकै बसे भन्ने गायकहरुलाई घर,बंगला र शानदार जीवन बाँच्ने अवसर दिएको छ । यो संगै नयाँ फरक खालको जीवनमा नयाँ पुस्ता रम्ने अवसर बढ्दै गएको छ ।

हिजोका दिनमा “मन हुँदा उराठ, पिउँछु माया देउराली चुरोट’’ भन्ने गीत आउँथे । अहिले अब देउराली चुरोट नै छैन, अब त्यही गित चाहियो भनेर हुन्छ ? देशले रगत मागे मलाई बलि चढाउनु, म झुक्दै नझुक्ने नेपालको छोरा, कस्ले भन्छ यहाँ क्रान्ति हुँदैन, जाग लम्क चम्क हे नौ जवान जस्ता शरीरमा काँडा उम्रने, शक्ति र उर्जा थपिने गी आए । त्यतिबेला यस्तै अवस्थामा देश थियो । गितमा राष्ट्र बाँच्थ्यो, अहिले नाइटो, आँखा र स्तनमा सरेको छ । गीत संगीत यसमा हामिले अहिले बाँचेको भोगेको समय प्रतिबिम्बित भएको छ ।

गीतले जागरण ल्याउन मात्र होइन, मन बुझाउन पनि सिकाउँछ । जस्तो कि बिमा कुमारी दुराको सुन फल्छ नि साइलो दाइ यही माटो चलाए, किन जानु साइलो दाइ हङकङ र मलाय । गीत संगीतमा माया प्रेम,मिलन विछोडका कुरा पनि हुने भए । नारायण गोपालले भने झै “तिमीलाइ म के भनु, फूल भनु कि जुन भनु ? एक समयमा यस्तो युग थियो गी संगीतमा अनुशासन थियो । अहिले मान्छेको बानी व्यवहार जस्तै गीत पनि छाडा भए ।

फूल, संगीत र सानो बच्चा सबैलाइ मन पर्ने चिज हुन् । संगीतले मनोरञ्जन मात्र होइन, जागरण ल्याउन, समाजलाई नयाँ शिराबाट बहस गराउन र विभिन्न विकृति विसंगतिको बिरुद्धमा नागरिकलाई बिउझाउन भूमिका खेल्छ । तर, त्यो अहिलेको पूँजिवादी मगजबाट निस्कने सिर्जनामा त्यस्तो पाइन्छ त ? कदापि पाइदैन ।


संगीतले कुनै पनि ठाउँ र देशको माटो र पहिचानलाई बोकेको हुन्छ । त्यसैले पनि गी संगीतको महत्व र महिमा निकै उच्च खालको छ । विभिन्न ठाउँ, क्षेत्र र जातजातीको संस्कृति र पहिचान बोकेका नेपाली गीत संगीतको फरक–फरक स्वादले त अझै हाम्रो विविधतालाई सुगन्धित बनाएको छ । गाइने दाइले सारंगी रेटेर गाउँ बस्ती ब्युझाउने जगबाट उठेको नेपाली गीत संगीतले व्यावसायिक रुपमा विस्तारै फड्को मार्दैछ र केही सकारात्मक झिल्काहरु पनि देखा परेका छन् ।
त्यसैले गलत गर्नेलाइ कुनै रिस, आवेगमा होइन कि नीतिगत रुपमा नियन्त्रण गर्नुपर्छ । गलत सन्देश दिने गीत संगीत र गायनको सेन्सर गर्ने बातावरण बनाउनु पर्दछ । संविधान कानुनको बिरुद्द छ भने कारबाही गर्ने गरि अघि बढ्नुपर्छ न कि आउँदा दिनमा कसैले पनि नियम उल्लंघन गर्न नपाओस् र यस्ता काममा सबैले साथ दिउन् । यो काममा मुख्य निकाय कछुवा जस्तो नबनुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *