कालीगण्डकीः पौराणिक महत्व, पर्यटनको आधार,दोहन र डाइभर्सन

–हिरालाल रेग्मी

पृष्ठभूमिः
विश्वमा धेरैजसो मानव सभ्यताको विकासक्रम ठूलाठूला नदीहरुको किनारबाट नै भएको पाइन्छ । इशा पूर्व ४००० वर्ष भन्दा पहिलेदेखि नै मानव सभ्यताको उत्पत्ति भएको मानिन्छ । इजिप्ट, भारत, मेसोपेटामिया, चीन आदि क्षेत्रहरुमा प्रारम्भिक सभ्यताहरुको विकास हुन थालिसकेको थियो । समयको विभिन्न कालखण्डमा विकसित भएका सभ्यताहरु समयको गतिसँगै उदय र अस्त भएका उदाहरणहरु पनि भेटिन्छन् । पाचौँ र पन्ध्रौँ शताब्दी सम्मको युगलाई मानव सभ्यताको पतन र उत्थानको युग मानिन्छ । यो समयमा पुराना सभ्यताहरुको पतन भई नयाँ सभ्यताको उदय हुँदै आएको पाइन्छ (मिश्र र दाहाल, २०५७) ।

हामीले धेरैजसो सुन्दै आएको सिन्धु घाँटीको सभ्यता (सरस्वती नदीको प्रसवण क्षेत्रमा विकसित भएको), मेसोपेटामियाको सभ्यता (दुई वटा नदीको बिचमा विकसित भएको), चीनको सभ्यता (ह्वाङ्वो नदीको तटीय क्षेत्रमा विकसित भएको) तथा मिश्रको सभ्यता (नाइल नदीको प्रसवण क्षेत्रमा विकसित भएको) ठूला नदीको तटीय क्षेत्रमा नै विकसित भएका सभ्यता हुन् । आर्य संस्कृतिसँग जोडिएको वैदिक सभ्यता गङ्गा नदी र यसको प्रसवण क्षेत्रमा विकसित भएको सभ्यता मानिन्छ ।

सिन्धु सभ्यतालाई हडप्पा अर्थात् मोहनजोदाडोको नगर सभ्यता पनि भनिन्छ । वर्तमान पाकिस्तानको सिन्ध प्रान्तलाई प्राचीनकालमा सिन्धु देश भनिन्थ्यो । यही सिन्ध प्रान्तमा विकसित भएको सिन्धु सभ्यता करिब आठ हजार वर्ष भन्दा पनि पुरानो मानिएको छ । महाभारतकालमा सिन्ध देशका राजा जयद्रथ थिए । यीनले धृतराष्ट्रकी छोरी दुशालासँग विवाह गरेका थिए र महाभारत युद्धमा कौरव पक्षलाई साथ दिएका थिए । महाभारतकालमा सिन्धु देशको सभ्यता चरम उत्कर्षमा पुगेको पाइन्छ । सिन्धु देश कला, संस्कृति, व्यापार एवम् वाणिज्यमा प्रख्यात थियो ।

एउटा अध्ययनले सिन्धु घाँटीको सभ्यता विनाश हुनुको मुख्य कारण जलवायु परिवर्तनलाई मानेको छ । सरस्वती नदीको जलाधार क्षेत्रमा आएको जलवायु परिवर्तनका कारण मनसुनी वर्षामा कमी आउन गई नदीमा जलस्तर घट्न गएका कारण हडप्पा संस्कृतिको विनास भएको मानिन्छ । यो संस्कृति आफ्नो कृषि कार्यका लागि पूर्ण रुपमा नदीको प्रवाहमा निर्भर थियो । सरस्वती नदीमा हिमालयको ग्लेसियरबाट पानी आउने नभई मनसुनी वर्षाबाट आउने पानी यसको मूल स्रोत थियो ।
नेपालमा पनि कालीगण्डकीको सभ्यता निकै नै पुरानो मानिन्छ ।

विभिन्न पौराणिक ग्रन्थहरुमा कालीगण्डकीको महिमाका बारेमा गरिएका वर्णन, यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानववस्तीका कारण यसको सभ्यता वैदिक कालसँग जोडिएको मान्न सकिन्छ । कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालग्रामबाट आकर्षित भई विभिन्न ऋृषिगणहरुले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्तहरु भेटिन्छन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।

कालीगण्डकीको पौराणिक र सांस्कृतिक महत्वः

नेपालका प्रमुख हिमनदी मध्ये कालीगण्डकी पनि एक हो । हिन्दुहरुको पवित्र तिर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति भई मुस्ताङ जिल्ला प्रवेश गर्ने यो नदी नारायणी नदीको एक प्रमुख शाखा नदी पनि हो । कालीगण्डकी उद्गम विन्दुदेखि देवघाटसम्म करिब ६३०.४० किलोमिटरको लामो दुरी पार गर्दै नारायणीमा मिसिन पुग्दछ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ ।

कालीागण्डकी पौराणिक तथा प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण सम्पदाका रुपमा रहेको छ । कालीगण्डकीको धार्मिक तथा पौराणिक महत्व त छँदैछ । यसको भरपुर उपयोग गर्न सक्ने हो भने साहसिक पर्यटन, नदीजन्य पदार्थको उपयोग र विद्युत उत्पादन गरी आर्थिक रुपले पनि प्रशस्त लाभ आर्जन गर्न सकिने नदीका रुपमा यो स्थापित छ । कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकोले यो नदीलाई कालीगण्डकी (कृष्णागण्डकी) भनिएको हो ।

पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकोले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ । यो नदीलाई शालग्रामी नदी, कालीनदी र काली आदि जस्ता नामबाट पनि चिन्ने गरिन्छ । विश्वका अन्य कुनै पनि नदीहरुमा नपाइने शालग्राम यस कालीगण्डकीमा मात्र पाइने भएकोले यसलाई शालग्रामी नदी वा चक्रनदी पनि भन्ने गरिएको हो । कालीगण्डकीलाई कृष्णभा नदी पनि भनिन्छ । यस नदीको महत्व र महिमा धेरै रहेको कुरा पुराणहरुले उल्लेख गरेका छन् । यस नदीको जल स्पर्श गरेमा मात्र पनि मानव शरीर पवित्र हुन्छ भने यहाँ स्नान, दान, तप, तर्पण, श्राद्ध आदि जस्ता कार्य गरेमा असङ्ख्य फल प्राप्ति हुन्छ र अन्तमा मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता छ । यस क्षेत्रमा मनाइने विभिन्न पर्वहरु जस्तैः वैशाखे सङ्क्रान्ति, जनै पूर्णिमा, श्रावण महिनाको सोमबार, एकादशी तिथि, माघे सङ्क्रान्ति, सूर्यग्रहण तथा चन्द्रग्रहण लागेका समय एवम् घरमा जुनसुकै यज्ञ–यज्ञादि गर्दा कालीगण्डकी स्नान गरेर यहाँको जल घरमा लैजाने चलन छ । यस नदीमा स्नान गर्ने मनशायले एकाग्रचित्त भई हिंडेमा पाइला–पाइलामा अश्वमेघ यज्ञ गरे बराबर फल मिल्दछ भन्ने विश्वास रहेको छ (शर्मा गौतम, २०६१) ।

कालीगण्डकी भू–वैकुण्ठका नामबाट चिनिने मुक्तिक्षेत्र र दामोदरकुण्डबाट उत्पत्ति भई दक्षिणतर्फ आफ्नो वहावक्षेत्र बनाइ गङ्गानदीमा मिसिन पुगेकी छन् । कालीगण्डकीको तटमा रहेका विभिन्न वेणी र घाटहरु प्राचीनकालदेखि नै व्यापारिक केन्द्रका रुपमा स्थापित थिए । भारत तथा लुम्बिनीबाट मुक्तिनाथ र दामोदरकुण्डको दर्शनका लागि जाने तीर्थयात्रीहरुले पहिला–पहिला कालीगण्डकीको किनारै–किनारको पदमार्गको प्रयोग गर्ने गर्दथे । मुस्ताङ, बागलुङ, म्याग्दी र पर्वत जिल्लाका अधिकांश गाउँका बासिन्दाले खस्यौलीको व्यापारका लागि यही मार्गको प्रयोग गर्ने गर्दथे । यस मार्गमा उतिबेलाका समयमा निर्माण गरिएका र हाल जीर्ण अवस्थामा रहेका पाटी, पौवा, सत्तल तथा चौपारीहरु छन् । सडक यातायातको विकास र विस्तारले गर्दा अहिले यो पदमार्गको प्रयोग हुन छाडेको छ । यही पदमार्गको अवधारणालाई पछ्याउँदै नेपाल सरकारले कालीगण्डकी कोरिडोर र लोकमार्गको निर्माण गरिरहेको छ । यो नदीलाई हिन्दू र बौद्धधर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्दछन् ।

कालीगण्डकी किनारको पुरानो मार्ग हिन्दू र बौद्ध संस्कृतिको पवित्र स्थान पनि हो । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुबैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । त्यसैगरी कालीगण्डकीको अर्को शिर दामोदर कुण्डलाई भूवैकुण्ठका नामबाट पनि मानिसहरुले विश्वास गरेको पाइन्छ । यस पवित्र ठाउँको दर्शन मात्रले पनि हिन्दूहरुले स्वर्गको ढोका उघ्रिने विश्वास गर्दछन् । बौद्ध धर्मावलम्बीहरुले कपिलवस्तुको दर्शनबाट यो पूण्य प्राप्त गर्दछन् भन्ने विश्वास गरिएको पाइन्छ । चीन र भारतमा यी दुबै धर्म मान्ने मानिसहरु ठूलो सङ्ख्यामा रहेकोले पौराणिक कालदेखि नै उनीहरु यही मार्गबाट ओहोर–दोहोर गर्दथे ।

त्यसैले पनि कालीगण्डकीलाई धार्मिक सहिष्णुताको सङ्गम स्थलका रुपमा पनि मान्ने गरिन्छ (उपाध्याय, २०७७) । नेपालमा सडक मार्गको विकास र विस्तार नहुँदै सम्म भारतको गोरखपुरबाट मुक्तिक्षेत्र जाने बाटो कालीगण्डकीको किनारै किनार भएको र भोट जाने प्रसिद्ध पाँच वटा मार्ग मध्ये यो पनि एक भएकोले व्यापार र धार्मिक दृष्टिले पनि यो क्षेत्र प्राचीन कालदेखि नै महत्वपूर्ण थियो भनी भन्न सकिन्छ । कालीगण्डकी किनारको धेरै ठाउँमा घना मानव बस्ती, व्यापारिक केन्द्र र विभिन्न पुराणहरुमा वर्णन गरिए अनुसारका धार्मिक क्षेत्रहरु रहेको हुनाले कालीगण्डकी सभ्यता निकै पुरानो सभ्यता मानिन्छ । नेपालको इतिहासको अध्ययन गर्दा लिच्छवीहरु भगवान बुद्धको महानिर्वाण पछि मगध राज्यमा राजा अजात शत्रुले वैशाली, कुशीवारा, कोसल तथा मल्ल राज्यलाई आफ्नो राज्यमा मिलाउन थालेपछि यही कालीगण्डकीकै बाटो भएर नेपालतिर प्रवेश गरेको मानिन्छ (शर्मा, २०७७) ।

नेपालमा हिन्दूधर्मावलम्बीका लागि श्रीमुक्तिक्षेत्र र कालीगण्डकी अत्यन्तै पूण्य एवम् पवित्र मानिन्छन् । हिमालय पर्वतबाट उत्पत्ति भएका नदीहरुको जलमा औषधीय गुण हुने भएकोले हिमनदीको पानीलाई नउमालिकन पिउनु राम्रो हुन्छ भन्ने भनाइ समेत रहेको पाइन्छ । हिमालय र हिमवत्खण्डबाट उत्पत्ति भई प्रवाहित हुने नदीहरुमा विभिन्न खनिज तत्वको रसको मिश्रण र हिमालय क्षेत्रमा पाइने जडिबुटीको समेत मिश्रण रहने भएकोले गण्डकीको जलको प्रयोगले मानव जीवनलाई स्वस्थ र विवेकी बनाउँछ भन्ने विश्वास छ (मिश्र,२०७७) ।

प्राचीन समयमा कालीगण्डकीको पानी पवित्र र शुद्ध थियो तर आजकल बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण जस्ता कारणले मानवजन्य फोहोरहरु नदीमा मिसाउने कुसंस्कारले गर्दा नदी प्रदुषित बन्दै गइरहेको र यहाँको पानी पिउनका लागि योग्य रहेको छैन । दामोदरकुण्डबाट उत्पत्ति भई पश्चिमपट्टिबाट वहने नदी नै कालीगण्डकी हुन् । सो क्षेत्रको प्राकृतिक भू–भाग कालो भएकोले माटो, बालुवा, गेगर आदि सबै कालो खालको रहेको छ । जसले गर्दा गण्डकीको जल कालो देखिन्छ । दामोदरक्षेत्रबाट आएको कालो जललाई बीचमा मिसिने कैयौँ ठूला साना तथा सेता नदीहरुले पनि परिवर्तन गराउन सक्दैनन् ।

पुराणहरुमा वर्णन भए अनुसार सबै नदीलाई तीर्थका रुपमा मानिएको पाइन्छ । यसमा पनि शालग्रामवाहिनी कालीगण्डकी अझै पवित्र मानिएकी छन् । अन्यत्रका सबै ठाउँमा देवत्वको ह्रास तथा क्षेय भए तापनि कालीगण्डकी र यसको प्रसवण क्षेत्रमा देवत्वको कहिल्यै विनास हुँदैन भन्ने पौराणिक कथन छ । स्कन्दपुराणमा बताइए अनुसार जहाँ–जहाँ कालीगण्डकी बहेकी छन्, त्यसको एक–एक कोष सम्म मर्ने किटपताङ्गादि समेत वैकुण्ठ जान्छन् (शालग्राम समिपेतु क्रोशमात्रं समन्ततः। कीटोऽपि म्रियते याति वैकुण्ठभवनं ध्रुवम् ।।)। त्यस्तै प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँ पटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकैपटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा पनि स्कन्दपुराणमा बताइएको छ ।

(प्रयागे शतधा स्नात्वा कुरुक्षेत्रे च नैमिषे । कृष्णाभायां सकृत्स्नात्वा फलं तुल्यं लभेन्नरः ।।¬) ।
कालीगण्डकीको महिमा यसकारणले महङ्खवपूर्ण छ कि यहाँ पाइने पाषाणहरु अर्थात् शालग्रामहरु भगवान विष्णुका मत्स्य, कुर्म आदि अवतारहरुले चिह्नित चक्रहरु भएका हुन्छन् र संसारका अन्य कुनै पनि नदीहरुमा यस किसिमका चक्रहरु भएका पाषाणहरु पाइदैनन् । यी शालग्रामहरुमा देवताको प्राणप्रतिष्ठा गर्नुपर्दैन भन्ने मान्यता रहेको छ । शालग्रामको पूजनबाट मात्र अनेकौँ तीर्थस्थलको दर्शन गरे बराबरको फल मिल्दछ भन्ने विश्वास छ । विश्वका कुनै पनि नदीमा नपाइने तर कालीगण्डकीमा मात्र शालग्राम पाइनुले यो स्वयम्मा हाम्रा लागि गौरवको विषय हो ।

शालग्राम बिना हिन्दुमार्गीका कुनै पनि तीर्थहरु तीर्थका रुपमा स्थापित हुन नसक्ने र देवयज्ञ तथा पितृयज्ञ गर्दा पनि शालग्राम पुजन अपरिहार्य मानिन्छ । पौराणिक कथनअनुसार भगवान विष्णुलाई जालान्धरकी पतिव्रता पत्नी वृन्दाले दिएको श्रापका कारण पिपल, कुश, तुलसी र पाषाण (शालग्राम) को अवतारमा वाध्यतावश अवतरित हुनुपरेको थियो । यी चारैवटा कुराहरु हिन्दूमार्गीका लागि अति नै पूज्य र पवित्र मानिन्छन् । पतितपावनी (पतितहरुको उद्धार गर्ने-अपवित्रलाई पवित्र पार्ने) कालीगण्डकीले आफ्ना जलस्पर्श र त्यसमा स्नान गर्ने भक्तहरुको चित्त शुद्धी गरी जन्मजरादि दुःखबाट मुक्त गर्दछिन् भन्ने प्रमाण पौराणिक वाङमयमा पाइन्छ । पुराणहरुमा उल्लेख भएअनुसार भागीरथी नदीलाई भगवान विष्णुकी पत्नी मानिएको छ भने कालीगण्डकीलाई आमाका रुपमा मानिएको छ । गण्डकी नामकी आमाका गर्भबाट भगवान विष्णु ह्ृषिकेश नामले शालग्रामका रुपमा प्रादुर्भूत भएको मानिन्छ (भट्ट, २०६४) ।

कालीगण्डकीको महिमा र पवित्रताबाट आकर्षित भई प्राचीन समयमा अनेकौँ ऋृषिगणले यही गण्डकी क्षेत्रलाई आफ्नो तपस्थली बनाएको पनि पाइन्छ । ऋृषभदेवका पुत्र भरत महाराजले आफ्नो राज्य त्यागेर यही कालीगण्डकीको क्षेत्र पुलस्त्य ऋृषिको आश्रममा आई शालीग्राम पूजन र गण्डकीस्नान गरी आफ्नो जीवन व्यतित् गर्नुभएको कथन श्रीमद्भागवत् महापुराणको पञ्चम स्कन्धको आठौँ अध्यायमा सविस्तार वर्णन गरिएको पाइन्छ । राजा भरत सांसारिक माया–मोहबाट विरक्त भएर आफूले आर्जन गरेको सम्पत्ति र राजगद्दी छोराहरुलाई बाँडिदिएर सन्यासी भई मुक्तिक्षेत्रको दर्शनका लागि हिमालयतिर आउने क्रममा शालग्राम शीलाले पूर्ण भएकी श्रीकृष्णागण्डकी निकटस्थ यो कालञ्जर पुलस्त्य क्षेत्रलाई पवित्र क्षेत्र मानी यहीँ आश्रम बनाइ बसेको पाइन्छ ।

यस आश्रमको उपवनको एकान्त स्थलका रुपमा परिचित कालञ्जर हम्पाल पर्वतको समिपमा एक्लै बसेर राजा भरतले अनेक प्रकारका पत्र, पुष्प, तुलसी, जल र कन्दमूल आदिद्वारा भगवान्को आराधना गर्दथे । महान र धर्मपारायण सम्राट महाराज भरतले एक मृग शावकको अत्याधिक आशक्तिका कारण एक जीवन मृग शरीरमा बिताउनुपरेको थियो जसलाई पछि मनुष्य जीवन प्राप्त भएको थियो भन्ने शास्त्रीय मत छ । मृगको रुपमा कालञ्जर पर्वतमा पैदा भएका र यहीँका जङ्गलमा विचरण गर्ने जड भरत आफ्नो जन्मस्थललाई छोडेर उनी पुनः पुलह आश्रममै फर्किए जहाँ बसेर उनले आफ्नो पूर्वजन्मममा ध्यान गरेका थिए (कृष्णकृपाश्रीमूर्ति, २०१५) ।

“इत्येवं निगूढानिर्वेदो विसृज्य मृगीं मातरं पुनर्भगवत्क्षेत्रमुपशमशीलमुनिगणदयीतं शालग्रामं पुलस्त्यपुलहाश्रमं कालञ्जरात्प्रत्याजगाम ।।” ३०।। तस्मिन्नपि कालं प्रतिक्षामाणः सङ्गाच्च भृशमुद्विग्न आत्मसहच। शुक्ष्कपर्णतृणवीरुधा वर्तमानो मृगत्वनिमित्तावसानामेव गणयन्मृगशरीरं तीर्थोदकक्लिन्नमुत्ससर्ज ।।३१।।” (हे राजन यस प्रकार आफ्नो वैराग्य भावनालाई लुकाइ उनले जसकी आमा मृगी थिई, त्यस मृगको स्मरण त्यागीदिए । तदनन्तर आफ्नो जन्मभूमि कालञ्जरबाट फेरि शान्तिशील मुनिको आश्रम शालग्राम तीर्थ जुन भगवानको पवित्र क्षेत्र हो, पुलस्त्य र पुलह ऋषिका आश्रममा गए । त्यहाँ बसेर तिनको त्यो मृग शरीर कालको प्रतीक्षा गर्न लाग्यो । त्यो मृग सबैको सङ्गतिबाट हटेर एक्लै नै डुल्ने गर्दथ्यो, सुकेका पात तथा घाँस खाने र झाडीहरुमा बसेर जीवनयापन गर्दै मृगयोनी प्राप्त गराउने प्रारब्धको क्षय हुने बाटो पर्खन लाग्यो । अन्तमा उनले त्यहीँ तीर्थ अर्थात् कृष्णागण्डकीको जलमा आफ्नो शरीरको आधाभाग डुबाएर त्यसैको जलले भिजेको आफ्नो मृग शरीर त्यागीदिए ) भन्ने श्रीमद्भागवत महापुराणमा उल्लेख भएको यो श्लोकबाट पनि यसको पुष्टि हुन आउँछ । कालीनदीको तटनिकट देहत्याग गर्नाले मनुष्यलाई पूर्वजन्मको स्मरण हुन्छ भन्ने प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।

आजकल पनि जीवनको अन्तिम समयमा गण्डकी नदीभित्र देहत्याग गर्ने गराउने (जलसमाधि गर्ने) प्रचलन छ । राजा जड भरतले वानप्रस्थी जीवन यही नदीका तटमा बिताएकोले कालीगण्डकी क्षेत्रलाई वानप्रस्थाश्रमीय एकताको क्षेत्र पनि मानिन्छ । मृगयोनिमा प्राप्त भएका राजमहर्षि भरतले कालीनदीमा देहत्याग गरेर अर्को जन्ममा ब्रम्ह्ज्ञान प्राप्त गरेको प्रसङ्गलाई आधार बनाइ जलसमाधि लिने परम्परा चलाइएको हुन सक्छ । यस क्षेत्रका धेरैजसो गाउँको घाट यही नदीको किनार हो । मानिसको मृत्यु भएपछि अन्तिम दाहसंस्कारका लागि यही नदीमा ल्याउने गरिन्छ ।

कालीगण्डकीको महिमाका बारेमा विभिन्न पुराणहरुमा आ–आफ्नै ढङ्गले कथा, उपकथाहरु प्रस्तुत गरिएको पाइन्छ । वराहपुराणमा कालीगण्डकीले पुत्र रुपमा आफ्नो गर्भमा बास गर्न भगवानसँग प्रार्थना गरेकीले भगवान नारायणले उनको प्रार्थना स्वीकार गरेको चर्चालाई यस प्रकार बताइएको छः– ‘‘उहिले गण्डकीदेवीले दश हजार वर्षसम्म घोर तपस्या गरिन् । गण्डकीले पहिले सुकेको पातको आहार र फेरी एकसय दिव्य वर्षसम्म केवल वायु मात्र पिएर तपस्या गरिन् । यस्तो किसिमको गण्डकीको कठोर तपस्याबाट प्रसन्न भई भगवान नारायण प्रकट भएर ‘तिमीले ठूलो कठोर तपस्या ग¥यौ, तिम्रो कठोर तपस्याबाट म प्रसन्न भएँ, वर माग’ भन्दा गण्डकी हर्षले विभोर भई बोल्न सकिनन् । मसँग सङ्कोच मान्नु पर्दैन भनेर भगवान नारायणले सम्झाएपछि गण्डकीले हजुर मेरो गर्भगत् भएर पुत्र भई रहनोस् भनी वर मागिन् । यसपछि भगवानले पनि म शालग्राम शिला रुपले सदा तिम्रो गर्भमा निवास गरिरहुँला भनी गण्डकीलाई वर दिनुभयो । यसैकारण पनि भगवान नारायण आज पनि शिला रुपमा गण्डकीमा रहनुभएको छ भन्ने जनविश्वास छ (टण्डन, २०६४) ।



वराहपुराणमा बताइएको अर्को कथनअनुसार सत्ययुगमा भगवान विष्णुले हिमालय पर्वतको मुक्तिक्षेत्रमा आएर ध्यानस्थ भई दीर्घकालसम्म तप गर्नुभयो । विष्णुको अभावमा असहाय बनी रिक्तताको अनुभव गर्ने सम्पूर्ण देवताहरु त्यहीँ आए । देवताहरुको होहल्लाले भगवान विष्णुका आँखा खुले । उहाँका निधार गालामा चिट–चिट पसिना आए । तिनै गाला (गण्ड) का पसिनाबाट नदी बगिन् । यी नदीलाई गण्डकी भन्न थालियो । यसकारण पनि गण्डकीका दायाँ र बायाँका तटमा पर्ने भू–भाग अत्यन्तै पावन र पूजित मानिन्छन् । यस्तै एक अर्को पौराणिक मान्यताअनुसार माता पार्वतीको पैतालाबाट निस्केको पसिनाले बनेको तलाउमा गण्ड ऋृषिले स्नान गरेकोले गण्डकै नामबाट गण्डकी नाम रहन गएको हो भन्ने जनविश्वास समेत रहेको छ (शर्मा, २०७७) ।

कालीगण्डकीः पर्यटन र विकासको आधार

कालीगण्डकीको पौराणिक र धार्मिक महत्व मात्र होइन कि यसको बहाव क्षेत्रको वरपरका गाउँवासीका लागि यो नदी जीविकोपार्जनको स्रोत समेत भएको छ । यही नदीमा माछा मारेर, नदी किनारको बालुवा चाली सुन निकालेर, ढुङ्गा तथा बालुवा बिक्री गरी आप्नो जीवननिर्वाह गर्ने माझी तथा बोटे लगायतका जाति छन् । यस नदीका नदीजन्य पदार्थहरु निर्माण सामग्रीका स्रोतहरुका रुपमा प्रयोग भइरहेका छन् । विगतमा साविक जिल्ला विकास समितिको र वर्तमानमा गाउँपालिका तथा नगरपालिकाहरुको राजश्वको प्रमुख स्रोत पनि कालीगण्डकी भएको छ ।

पर्वत जिल्ला स्थित फलेवास नगरपालिकाको विशेष पहलमा सुरु गर्न थालिएको कालीगण्डकी बहुउद्देश्यीय परियोजना निर्माणका लागि नेपाल सरकारले विस्तृत परियोजना विवरण तयार गर्नका लागि आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमार्फत् करिब सात करोड बराबरको बजेटकोे व्यवस्था समेत गरेकोले यसको उपयोगाट आर्थिक लाभ लिन सकिने अवस्था पनि उच्च रहेको देखिन्छ । यो योजना निर्माणबाट फलेवास नगरपालिका लगायत योजना प्रभावित कुश्मा नगरपालिका, विहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिका समेतमा जलयातायात, सिँचाइ, जलविद्युत (८४४ मेघावाट), माछापालन आदि जस्ता क्षेत्रमा ठूलो फड्को मार्न सक्ने देखिन्छ । केही निजी व्यवसायीहरुले पनि यही नदीका किनारमा क्रसर उद्योग सञ्चालन गरी मासिक लाखौँ आम्दानी आर्जन गरिरहेको पनि पाइन्छ । विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र कालीगण्डकी तटमा सञ्चालित क्रसर उद्योग तथा गिटी, बालुवाको बिक्रीबाट वर्षेनी लाखौँ रुपिया बराबरको राजश्व सङ्कलन गर्दै आइरहेका पनि छन् ।

नेपालका अधिकांश हिमनदीहरुमा जलयात्राको बलियो सम्भावना छ । साहसिक पर्यटनका लागि जलयात्रा विश्वमै प्रसिद्ध खेलका रुपमा मानिन्छ । कालीगण्डकीमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. २ तालकुनादेखि जलयात्रा सञ्चालन गर्न सकिने भए तापनि अहिले सञ्चालनमा आइरहेको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटस्थित नयाँपुलबाट सुरु भई कालीगण्डकी जलविद्युत आयोजनाको ड्यामसाइडसम्म करिब ८० कि. मि. लामो कालीगण्डकीको जलयात्रा विश्वमै प्रसिद्ध छ । यो जलयात्रा दुई रात र तीन दिनको हुने गर्दछ । तीन दिनको यो जलयात्रा नयाँ पुलबाट सुरु भएपछि पहिलो रात मोदीवेणीधाम भन्दा केही तल (सिर्सुवाको डिल भन्दा तल) कालीगण्डकीको किनारमा हुने गर्दछ । यहाँ बसिने क्याम्पलाई मर्निङ क्याम्प भनिन्छ । नयाँपुलदेखि मोदीवेणीधाम सम्मको बीच खण्डमा तालकुना भन्ने ठाउँमा कालीनदीको भङ्गालो एउटा ओढार÷गुफाभित्र पसेको हुनाले जलयात्रीलाई त्यसको अवलोकन गराउँदै लगिन्छ । यही बीचमा दुई ठाउँमा कालीगण्डकीको बहाव एकदमै बढी भएकोले सकेसम्म यसलाई स्किप गरेर जलयात्रा अगाडि बढ्दछ । जलयात्रा गर्नेहरुले यसलाई बीग ब्रोदर र स्मल ब्रोदरका नामबाट चिन्ने गर्दछन् ।

दोस्रो दिनको जलयात्रा रानीपानीसम्मको हुने गर्दछ । दोस्रो रातको क्याम्प रानीपानीमा हुने गर्दछ । यसलाई सेकेण्ड क्याम्प भनिन्छ । तेस्रो दिनको जलयात्रा रानीपानीबाट सुरु भई कालीगण्डकी जलविद्युत आयोजनाको बाँध मिर्मीमा पुगेर अन्त्य हुन्छ । मिर्मीबाट गाडीमा पोखरा पुगे पछि जलयात्राको प्याकेज पुरा हुन्छ ।

कालीगण्डकीमा वर्षको दुई सिजनमा जलयात्राका लागि पर्यटकहरु आउने गर्दछन् । पहिलो सिजन फागुन, चैत्र, वैशाख र जेठ महिनामा पर्दछ भने अर्को सिजन असोज र कार्तिक महिनामा पर्दछ । वर्षा यामका असार, साउन र भदौ महिना एवम् जाडोयामका मङ्सिर, पुस र माघ महिनामा जलयात्रा सञ्चालन गरिदैन । एक सिजनमा सरदर १००० देखि १५०० जना सम्म पर्यटक यहाँ जलयात्राका लागि आउने गरेको पाइन्छ ।

कालीगण्डकीमा जलयात्रा गर्ने पर्यटकहरुलाई कम्पनीले कालीगण्डकीलाई पवित्र धार्मिक नदीका रुपमा चिनाएकोले सामान्यतः विदेशी पर्यटकहरुले यात्रा अवधिभर मासु खाँदैनन् । जलयात्राको लागि विश्वमै प्रख्यात नदी भएकोले यहाँ जलयात्रा गर्ने पर्यटकहरुको सुरक्षाका लागि उच्च ध्यान दिने गरेको पाइन्छ । यसका लागि रेस्क्यु टिम, अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डप्राप्त लाइफज्याकेट (१८० किलोग्राम सम्मको वजन धान्न सक्ने) आदिको व्यवस्था गरिएकोले जोखिम सकेसम्म कम हुने गर्दछ । साहसिक पर्यटन प्रवद्र्धनको लागि कालीगण्डकीमा गरिने जलयात्रा एउटा राम्रो आकर्षण हुन सक्ने देखिन्छ ।

यहाँस्थित कालीगण्डकी र मोदीखोलाको अग्लो गल्छीमा निर्माण भएका अग्ला र लामा झोलुङ्गेपुलहरु, यान्त्रिकपुल, बञ्जीपुल, जीपलाइन केबल आदिजस्ता पर्यटकीय वस्तुहरुका कारण आन्तरिक तथा विदेशी पर्यटकहरुलाई लोभ्याइरहेको पर्वत जिल्लाको पर्यटकीय वातावरणमा कालीगण्डकीमा हुने जलयात्रा एक अर्को रोमाञ्चक पर्यटकीय वस्तुका रुपमा स्थापित हुँदै गएको छ । कालीगण्डकीमा जलयात्रा गर्दा बञ्जीपुल, यान्त्रिकपुल, जीपलाइन लगायत अग्ला र लामा पुलहरुको समेत अवलोकन गर्न सकिन्छ ।

कालीगण्डकीमा सञ्चालन हुने जलयात्राले पर्वत जिल्लालाई नै एउटा साहसिक पर्यटनको गन्तव्य स्थलका रुपमा स्थापित गरेको छ । यसको निरन्तरताका लागि नयाँपुलदेखि मिर्मिसम्मको खण्डमा कुनै पनि अवरोधहरु हुनु हुँदैन । पर्वत जिल्लास्थित फलेवास नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने कालीगण्डकीको खण्डमा कालीगण्डकी बहुउद्देश्यीय परियोजना सञ्चालनका लागि विस्तृत परियोजना विवरण निर्माणको कार्य अगाडि बढाएको छ । भविष्यमा यो परियोजना निर्माण भएमा आर्थिक रुपमा स्थानीयवासीका लागि अहिलेको भन्दा बढी फलदायी हुने देखिए तापनि नयाँपुलबाट सुरु हुने जलयात्राको लागि भने अनुकुल स्थिति हुन नसक्ने देखिन्छ ।

कालीगण्डकीको किनार हुँदै जाने प्राचीन व्यापारिक मार्ग पर्यटकीय हिसाबले महत्वपूर्ण भए तापनि उत्तर दक्षिण कोरिडोरको धेरैजसो ऐतिहासिक सम्पदाहरुको अस्तित्व लोप भएकोले कालीगण्डकी पदमार्गलाई धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलका रुपमा स्थापित गर्ने कार्य चुनौतीपूर्ण रहेको छ तर पनि दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, कालञ्जर हम्पाल क्षेत्र, सहस्रधारा, अर्मादी, गुप्तेश्वर गुफा, मोदीवेणी दिव्यधाम, कटुवावगर, जैमिनीघाट, सेतीवेणी, रिडीक्षेत्र, देवघाट, त्रिवेणीधाम जस्ता धार्मिक स्थलहरु कालीगण्डकी तट र यसको वरपर रहेका हुनाले यिनका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने बलियो सम्भावना छ ।

पर्यटकीय दृष्टिबाट नियाल्दा जलयात्राका लागि विश्वमै चर्चित नदीका रुपमा यसलाई लिइन्छ । कुश्मा नगरपालिकाको वडा नं. २ नयाँपुलबाट सुरु हुने जलयात्रा मोदीवेणी, सेतीवेणी हुँदै कालीगण्डकी जलविद्युत आयोजनाको ड्यामसाइड मिर्मिमा गएर टुङ्गिन्छ । यो जलयात्राका क्रममा मोदीवेणी, कटुवावगर, जैमिनीघाट, काजीवगर, सेतीवेणी आदि स्थलहरु पनि पर्ने भएकोले यस नदीमा जलयात्रा गर्ने पर्यटकहरुलाई यी स्थलहरुको अवलोकन गराउँदै आसपासका बस्तीहरुको समेत अवलोकन गराउन सक्ने हो भने पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्ने देखिन्छ ।
कालीगण्डकीको तटमा रहेका गलेश्वर, सहस्रधारा, मोदीवेणीधाम, कटुवावगर, जैमिनीघाट, काजीपौवा, सेतीवेणी लगायत कालीगण्डकीको पौराणिक, धार्मिक र सामाजिक महत्वको महिमालाई झल्काउने खालका विवरणहरु समावेश गरी ब्रोसर, पर्चाहरु तयार गरी यसको व्यापक प्रचार–प्रसार गर्न सक्ने हो भने कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटकहरुलाई अझै आकर्षित गर्न सकिन्छ ।

कालीगण्डकी र दोहन

वनजङ्गल, पानी तथा खनिज साधनलाई प्राकृतिक सम्पदाका रुपमा लिने गरिन्छ । समग्र मुलुकको आर्थिक विकासका लागि यस किसिमका प्राकृतिक सम्पदाहरुको दीगो विकास, वातावरण तथा पर्यावरणीय सन्तुलन र परिस्थितिकीय प्रणालीको अुनकुलन हुने गरी सकेसम्म बढी उपयोग गरिनुपर्दछ । यी प्राकृतिक सम्पदाहरु हाम्रा लागि मात्र नभएर भावी पुस्ताका लागि पनि हुन् भन्ने सोच नराखिकन उपयोगका नाममा दोहन गर्न थाल्ने हो भने यसले भविष्यमा ठूलो वातावरणीय सङ्कट निम्त्याउन सक्नेतर्फ राज्य, सरकार तथा नागरिक समाज सचेत हुनु जरुरी छ ।
नेपालमा सरकारले नदीजन्य पदार्थको उपयोगका लागि स्पष्ट कानुनको व्यवस्था गरेको पनि छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ढुङ्गा, गिटि, बालुवा, उत्खनन्, सङ्कलन, क्रसिङ्ग र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि–२०७५ कार्यान्वयनमा ल्याएको छ । नयाँ सञ्चालन हुने क्रसर उद्योगहरुका सम्बन्धमा यो कार्यविधिअनुसार हुने र यो कार्यविधि बन्नुभन्दा पहिले सम्बन्धित स्थानीय निकायको स्वीकृतीमा स्थापना भएका पुराना क्रसर उद्योगहरुलाई सम्बन्धित स्थानीय तहले नियमावली बनाइ सञ्चालनमा ल्याउन दिने व्यवस्था गरेको छ ।

यसका साथै कार्यविधिको दफा ११ को ४ मा तत्काल सञ्चालनमा रहेका र यस कार्यविधिअनुसारको मापदण्ड पुरा नगरेका उद्योगले तीन महिनाभित्र यस मापदण्ड अनुसार स्थानान्तरण वा व्यवस्थापन गरी सञ्चालन गर्नुपर्ने र अन्य कुराहरु प्रचलित कानुनले तोकेबमोजिम हुने कुरा उल्लेख छ । कार्यविधिको अनुसूची ३ मा उल्लेख भएअनुसार नदी किनार, पक्की पुल, झोलुङ्गे पुल र सडक मार्गबाट ५०० मिटर बाहिर मात्र ढुङ्गा, गिटी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तरको उत्खनन् र सङ्कलन गर्न सक्ने मापदण्ड निर्धारण गरेको छ । त्यसैगरी अनुसूची ४ (दफा ११ सँग सम्बन्धित) मा हाइटेन्सन, सडकमार्ग र नदी खोलाको वर्षातको प्रवाह सीमा किनारको ५०० मिटर बाहिर मात्र क्रसर उद्योग स्थापना र सञ्चालन गर्न सकिने मापदण्ड निर्धारण गरिएको कुरा उल्लेख छ । यस किसिमका ढुङ्गा, गिटी, बालुवा, माटो तथा चट्टान आदिको शूल्क तथा दर रेट प्रदेश सरकारले तोकेबमोजिम हुने र यससम्बन्धी राजश्वको बाँडफाँड कर तथा गैह्रकर राजश्वसम्बन्धी ऐन २०७५ बमोजिम सम्बन्धित स्थानीय तह र प्रदेश सरकारका बीच हुने कुरा उल्लेख गरिएको छ । यसरी प्राप्त भएको राजश्वको १० प्रतिशत अंश सम्बन्धित उत्खनन् तथा सङ्कलनको प्रभावित क्षेत्रका समुदाय वा वातावरण संरक्षणका काममा खर्च गर्नुपर्ने व्यवस्था छ ।

मानव सभ्यता र जैविक विविधताको अस्तित्वसँग गाँसिएको कालीगण्डकीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेको छ । यसरी दोहन भइरहने हो भने भविष्यमा यसले कालीगण्डकी तटीय क्षेत्रमा आउन सक्ने बाढी र वातावरणीय विनास आँकलन गर्न नसकिने हुन्छ । राज्यले तयार गरेको नीति नियम अन्तर्गत दर्ता भई क्रसर उद्योगहरु सञ्चालनमा रहेको कुरा सञ्चालकहरुले बताउने गरेता पनि मुस्ताङदेखि देवघाटसम्मका विभिन्न स्थानहरुमा रहेका क्रसर उद्योगहरुले नदीभित्रै डोजर चलाएर गिटी बालुवा उत्खनन् गरिरहेको पाइन्छ । यसले गर्दा एकातिर नदी गहिरो बन्दै जाने र अर्कोतर्फ यसको जलाधार झनै तल जाने तथा नदी तटीय भागमा बाढी र कटानको समस्या सिर्जना हुन सक्छ ।

कालीगण्डकी किनारमा सञ्चालित क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खनन्का कारणले गर्दा विष्णु भगवानका अवतार मानेर सबैले घर–घरमा पुजिने शालग्रामको अस्तित्व सङ्कटमा पर्दै गएको तथ्यलाई भने ध्यान दिनुपर्ने देखिन्छ । पूजाकोठामा पुजिने शालग्राम आज गिटी र क्रसरको धुलोका रुपमा परिणत भई शौचालयका भित्तामा समेत टाँसिन पुगेका छन् । अव्यवस्थित रुपमा गरिएको कालीगण्डकीको चरम दोहनले यसको सुन्दरतालाई नै विरुप बनाइदिएको छ । यदि विभिन्न पुराण र कालीगण्डकीको बारेमा पौराणिक ग्रन्थमा उल्लेख गरिएको महिमाप्रति साँच्चिकै विश्वास मान्ने हो भने यो नदीको संरक्षण र यसको अनुचित दोहनलाई रोक्न सक्नुपर्दछ । कालीगण्डकीलाई प्रदुषित हुनबाट जोगाउन र अव्यवस्थित रुपमा गरिदै आएको यसको दोहनलाई नियन्त्रण गरी व्यवस्थित रुपले यसको उपयोग गर्न सकियो भने गण्डकीको पौराणिक महिमालाई अझै उचाइमा पु¥याउन सकिने सम्भावना छ ।

कालीगण्डकी र डाइभर्सन योजना

नेपाल सरकारबबाट राष्ट्रिय गौरवको योजनाको नाम दिई स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. १ मालुङ्गा र पाल्पा जिल्लाको रम्भा गाउँपालिकाको रम्भास्थित पिपलडाँडामा बाँध बाँधेर कालीगण्डकीको पानीलाई २७ किलोमिटर लामो सुरुङबाट दोभानस्थित तिनाउ नदीमा खसाउने र त्यहाँबाट पुनः ७ किलोमिटर लामो सुरुङबाट बुटवलको बेलवाससम्म पु¥याउने गरी निर्माण कार्यका लागि प्रस्ताव गरिएको छ । पहिलो सुरुङको अन्तिम विन्दुमा पर्ने दोभानमा ५४ मेघावाट र दोस्रो सुरुङको अन्तिम विन्दुबाट ७२ मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य योजनाको रहेको छ ।

दोभानबाट केही पानी सिचाइँका लागि बुटवल पूर्व लैजाने र वेलवासबाट पश्चिम कपिलवस्तुतर्फ पठाई दुई जिल्लामा करिब एकलाख हेक्टर जमिनमा सिचाइँ सुविधा पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य यो योजनाको छ । यो सुरुङबाट ८२ घनमिटर पानी लैजाने र २० घनमिटर मात्र नदीमा छोड्ने जसमा १० घनमिटर प्रयोगका लागि र १० घनमिटर नदीमा बगाउने योजना यस डाइभर्सन योजनाको रहेको छ । यो लेख लेख्दाका समयसम्म यो योजनाको विस्तृत योजना प्रतिवेदन बनिनसकेको भए तापनि करिब एक खरब अठ्तीस अर्व लागत बराबरको योजना अगाडि बढाउने गरी कार्यालय स्थापना गरिएको छ ।

यस योजनाको चर्चा केही वर्ष अगाडिदेखि नै हुँदै आएको भए तापनि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले योजना अगाडि बढाउने गरी कार्यालयको उद्घाटन गरेपछि यसको चर्चा एक्कासी बढेको पाइन्छ । ठूला राजनैतिक दलहरुले यसलाई चुनावी नारा समेत बनाउँदै आएको पाइन्छ । आयोजनाको चर्चा चल्न थालेपछि बुटवल र रुपन्देहीका धेरैजसो मानिसहरु खुशी पनि देखिएका छन् भने रम्भाभन्दा तल कालीगण्डकी प्रसवण क्षेत्रका पाल्पा, स्याङ््जा, पूर्वी नवलपरासी, तनहुँ जिल्ला एवम् गण्डकी प्रदेसले समेत यसको चर्को विरोध गर्दै आएका छन् । आयोजनाले प्रस्ताव गरे अनुसार नौ मिटर डायमिटरको सुरुङबाट कालीगण्डकीको पानी लैजाने हो भने त्यस भन्दा तल कहाँको पानी बग्ला ? नदीबिनाको पानी र पानीबिनाको सभ्यता कसरी अस्तित्वमा रहन सक्ला ? यदि यो योजना निर्माण गर्ने हो भने राम्दीदेखि देवघाटसम्मको क्षेत्र सम्पूर्ण रुपमा उजाड बन्ने कुरातर्फ ध्यान दिने कि नदिने जस्ता सवालहरु उब्जिएका छन् ।

कपिलवस्तु र रुपन्देही क्षेत्रमा सिचाइँको अभावका कारण यसको पूर्तिका लागि यो डाइभर्सन बनाउन खोजिएको हो भने कालीगण्डकी आसपासका टार र बेसीहरुमा पनि सिचाइँको अभाव देखिन्छ । त्यसतर्फ राज्यले किन आँखा चिम्लने ? कालीगण्डकी डाइभर्सनबाट जति बिजुली उत्पादन गर्ने भनिएको छ, त्यसका लागि यो भन्दा सस्तो लागत लाग्ने ठूला अन्य विकल्पहरु खोज्न सकिन्छ । मिर्मीदेखि रिडीसम्मको कालीको अवस्था त हामीले देखेकै छौँ । एउटा जलविद्युत आयोजनाले त नदीको वहावमा यति ठूलो प्रभाव पार्दछ भने पुरा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्ने योजना हचुवाका भरमा र बाह्य शक्तिका आडमा निर्माण गर्न खोजिनु उचित हुँदैन । कपिलवस्तु र बुटवल क्षेत्रको आमोद प्रमोदका लागि कालीगण्डकी उपत्यकालाई वञ्जर बनाउने गरी सुरु गर्न खोजिएको यो योजना त्रुटिपूर्ण रहेको देखिन्छ । कालीगण्डकी प्रसवण क्षेत्रको प्राचीन धार र मार्गलाई बदल्दा झनै ठूला वातावरणीय चुनौतीहरु थपिन सक्दछन् । यसले प्रसवण क्षेत्रको सामाजिक जीवन, परम्परा र वातावरणमाथि नै नकारात्मक प्रभाव पार्नसक्ने देखिन्छ । राम्दीदेखि देवघाटसम्म महाभारत पर्वतश्रृङ्खलाको धेरैजसो ठाउँमा यो नदी पूर्वी दिशातर्फ बग्दछ । रम्भादेखि देवघाटसममको कालीगण्डकी उपत्यकामा रहेका टार र बेसीहरुमा थोरै लगानीले धेरै मात्रामा सिचाइँको विस्तार गरी यो उपत्यकालाई हराभरा गराउन सकिने कुरातर्फ राज्यले ध्यान दिनु पनि जरुरी देखिन्छ ।

कालीगण्डकी स्वयम्मा राष्ट्रिय गौरवको विषय हो । यसको प्राकृतिक बहाव क्षेत्रलाई डाइभर्ट गरी अन्यत्र पठान्तरण गर्ने योजना राष्ट्रिय गौरवको योजना हुन सक्दैन भन्ने जनमत बलियो बन्दै गएको छ । कालीगण्डकी हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएको पाइन्छ । जल, जमिन र जङ्गलको अग्राधिकार सम्बन्धित आधार क्षेत्रका वासिन्दाको नै हुने गर्दछ । पानीको प्रयोगमा त पहिला जसले यसको उपयोग ग¥यो पछि पनि त्यसैको भोगाधिकार रहने प्रावधान रहेको छ । प्राकृतिक रुपमा बगिरहेको नदीलाई डाइभर्सन गर्दा त्यसले तल्लो तटीय जलाधार क्षेत्रमा मानव समुदाय र जैविक विविधतामा ठूलो वातावरणीय चुनौती पैदा गराउँदछ । गण्डकी प्रदेश सरकारले यस योजना निर्माणप्रति सुरुदेखि नै असहमति प्रकट गर्दै आइरहेको छ । पछिल्लो समयमा त सर्वोच्च अदालतले समेत यो योजना तत्काल अगाडि नबढाउन अन्तरिम आदेश समेत जारी गरेको अवस्था विद्यमान छ ।
एकातिर बगिरहेको नदीलाई अर्कोतर्फ मोड्ने परियोजनालाई गण्डकीवासीले आफ्नो आस्था र संस्कृतिमाथिको प्रहारका रुपमा लिएका छन् । अहिले झट्ट सुन्दा कालीगण्डकीलाई बहुप्रयोगका लागि पठान्तरण गर्ने कुरा सामान्य जस्तो लागे तापनि भविष्यमा यसले ठूलो विपत्ति निम्त्याउन सक्नेतर्फ अहिले नै सबै सचेत र संवेदनशील हुनु जरुरी देखिन्छ । तिनाउ नदीले वर्षेनी ठूलो भाग कटान र डुबान गर्ने गर्दछ । यसमा कालीगण्डकीको पानी लगेर मिसाउँदा भोलि गएर यसले अझै बढी कटान र डुबान गर्ने भएकोले बुटवलवासीहरु नै सबै यो योजनाको पक्षमा नभएको देखिन्छ । कपिलवस्तु र बुटवल क्षेत्रमा रहेको वास्तविक खेतियोग्य जमिनमा तिनाउ, वाणगङ्गा र यसको आसपासमा रहेका क्षेत्रमा रहेका जलाधार क्षेत्रमा रहेको पानीको उपयोगबाट पर्याप्त सिचाइँ गर्न सकिने अवस्था रहेकोले यो विवादित र एउटा सभ्यतामाथि नै सङ्कट उत्पन्न र विनास निम्तिन सक्ने योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउनु उपर्युक्त हुँदैन ।
अन्त्यमा,
यसप्रकार पवित्र शालग्रामी कालीगण्डकीको जुन एउटा पौराणिक, धार्मिक, सांस्कृतिक एवम् आर्थिक महत्व रहेको छ, यसको व्यापक प्रचार–प्रसार गर्ने सकेमा गण्डकी प्रदेशका लागि मात्र नभइ सिङ्गो राष्ट्रका लागि नै कालीगण्डकीले धार्मिक र साहसिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउन सक्ने देखिन्छ । मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएका नदी तथा खोलाबाट नदीजन्य पदार्थहरु उपयोगका नाममा अत्यधिक दोहन भईरहँदा भविष्यमा कालीगण्डकी तटीय क्षेत्रमा आउन सक्ने बाढी र वातावरणीय विनाश आकलन गर्न नसकिने
हुन्छ ।

राज्यले तयार गरेको नीति नियम अन्तर्गत नै रही क्रसर उद्योगहरु सञ्चालित भएको दावी सञ्चालकहरुले गरे तापनि मुस्ताङदेखि देवघाटसम्मको विभिन्न ठाउँमा रहेका दर्जनौँ क्रसर उद्योगहरुले नदीभित्रै डोजर चलाएर त्यहाँको नदीजन्य पदार्थ उत्खनन् गरेको पाइन्छ । यसप्रकारको दोहनले एकातिर नदी गहिरो बन्दै जाने र अर्कोतर्फ यसको जलाधार झनै तल जाने एवम् तटीय क्षेत्रमा कटानको ठूलो समस्या उत्पन्न हुन सक्ने अवस्थातर्फ समयमै सचेत हुनु जरुरी हुन्छ ।

नदीजन्य पदार्थको व्यवस्थित रुपमा उपयोग गर्नका लागि राज्यले निर्माण गरेका विधि तथा कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने पनि दोहनका सन्दर्भमा उठ्ने गरेका किचलाहरु समाधान हुने देखिन्छ । कुनै एक क्षेत्रको विकास र समृद्धिका लागि अर्को क्षेत्रमा सामाजिक, सांस्कृतिक, जैविक विविधता तथा पर्यावरणमा नकारात्मक असर पुग्ने र एउटा सभ्यता नै विनास हुने खालका योजनाहरुलाई सकेसम्म अगाडि नबढाउँदा नै उपयुक्त हुन्छ । कालीगण्डकीको जुन किसिमको पौराणिक महिमा र मानवीय सभ्यतासँग जोडिएको गौरवशाली इतिहास छ, यसलाई नास हुने तरिकाले दोहन पनि नगर्ने र यसको प्राकृतिक मार्गलाई डाइभर्ट गर्ने जस्ता कुनै पनि गतिविधिलाई प्रश्रय दिने खालका कार्यहरु राज्यले बन्द गर्नु नै श्रेयस्कर हुने देखिन्छ ।
सन्दर्भ सामग्री सूची
उपाध्याय, रामप्रसाद (२०७७), कालीगण्डकी सभ्यताको सांस्कृतिक एवम् आर्थिक महङ्खव, धौलागिरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु तथा गण्डकी सभ्यता सम्बन्धी स्मारिका–२०७७, काठमाडौंः नेपाल पर्यटन बोर्ड तथा धौलागिरी समाज नेपाल ।
कृष्णकृपाश्रीमूर्ति (सन २०१५), पुनरागमन, हरेकृष्णधाम मुम्बइ भारतः भक्तिवेदान्त बुक ट्रस्ट ।
टण्डन, गोविन्द (२०६४), देवघाट क्षेत्रको विकास कार्य एक सर्वेक्षेण, (संयुक्ताङ्क ७, ८, ९, १०), देववाणी विशेषाङ्क, काठमाडौंः देवघाट वैदिक आध्यात्मिक सेवा परिषद् ।
पद्ममहापुराण (इ.स. २००९), जवाहरनगर दिल्लीः नाग पब्लिसर्स ।
भट्ट, रामचन्द्र (२०६४), हिमवत्खण्डका केही पवित्र तीर्थ स्थलहरु, (संयुक्ताङ्क ७, ८, ९, १०), देववाणी विशेषाङ्क, काठमाडौंः देवघाट वैदिक आध्यात्मिक सेवा परिषद् ।
मिश्र, तिर्थप्रसाद र दाहाल, पेशल (२०५७), विश्वको इतिहास, काठमाडौंः एमके पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स ।
मिश्र, रुद्रप्रसाद (२०७७), पावन दामोदरकुण्ड, धौलागिरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु तथा गण्डकी सभ्यता सम्बन्धी स्मारिका–२०७७, काठमाडौंः नेपाल पर्यटन बोर्ड तथा धौलागिरी समाज नेपाल ।
शर्मा पौड्याल, मुकुन्द (२०७७), गण्डकी सभ्यता बचाऔँ, धौलागिरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु तथा गण्डकी सभ्यतासम्बन्धी स्मारिका–२०७७, काठमाडौंः नेपाल पर्यटन बोर्ड तथा धौलागिरी समाज नेपाल ।
शर्मा गौतम, युवराज (२०६१), तीर्थ पर्यटन, काठमाडौंः एशिया पब्लिकेसन ।
स्कन्दपुराण (इ. स. २०१२), जवाहरनगर दिल्लीः नाग पब्लिसर्स ।
स्वामी श्रीगोविन्दाचार्य (२०७१), स्वामी श्री श्रीधराचार्य स्मृति–ग्रन्थ,काठमाडौंः अखण्ड ज्योतिबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रष्ट, नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति ।
श्रीमद्भागवत् महापुराण (२०७३), पञ्चमस्कन्ध, गोरखपुरः गीताप्रेस ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *