प्रभा माविः ‘पूर्वाधारपछि अब शैक्षिक सुधार’

डम्मर बुढा मगर, बागलुङ
निसीखोलाका गाउँपालिका वडा नम्बर ३ झिवाखोलामा रहेको प्रभा माध्यमिक विद्यालय निसीखोलाकै सबै भन्दा पुरानो माध्यमिक विद्यालय हो । निसीखोलामा यसअघि धेरै विद्यालय स्थापना भए पनि माध्यमिक तहसम्म पढाई हुने पहिलो विद्यालय पनि प्रभा मावि नै हो ।

२०१७ सालमा स्थापना भएको यस विद्यालय २०२७ सालमा मावि तहसम्म पढाई थालिएको थियो । २०२८ सालमा नयाँ शिक्षा नियम लागु भए पछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रुपान्तरण भई पठन पाठन सञ्चालन गरिदै आइएको छ ।
लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा २०६७ सालदेखि १०+२ (प्लस टु) संचालनमा आयो । कक्षा १२ सम्म संचालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् ।

निसीखोलामा प्रभा मावि भन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाई हुँदैनथ्यो । जसले गर्दा साविक बोहरागाउँ, निसी र देविस्थान गाविस अन्तर्गतका विद्यार्थी घण्टौ लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर, पछि निसीमा ज्ञानेन्द्र मावि, देविस्थानमा देविस्थान माविमा १० कक्षासम्म पढाई हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो ।

स–साना टहरादेखि काठ र ढुङ्गाबाट बनेका भवनमा पठनपाठन संचालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधा सम्पन्न भवन बनेका छन् । भौतिक संरचनाको हिसाबले सुविधा सम्पन्न भएको र अब शिक्षालाई गुणस्तरिय बनाउन तर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताउनुभयो ।

‘निकै लामो समय हामी भौतिक संरचनाको अभावमा गुज्रियौँ, केही वर्ष अघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनहरुमा कक्षा संचालन गर्नु पर्ने अवस्था थियो, अहिले विभिन्न संघ संस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्,’ प्रअ आचार्यले भन्नुभयो ‘भौतिक संरचना प्रयाप्त बनेको छ, अब हामीले गुणस्तरीय शिक्षा प्रदानको लागि जोड दिन थालेका छौँ ।’

आचार्यले गुणस्तरिय शिक्षा प्रदानका लागि शिक्षकहरुलाई तालिम दिने, दक्ष बनाउने र प्रबिधिसँग जोड्नका लागि विद्यालयले योजना बनाएर लागेको उहाँको भनाई छ । अब शिक्षालाई प्रविधिमैत्री बनाउन विभिन्न संघ संस्था सँग सहयोग सहकार्य गर्न थालेको उहाँको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश विक्रम शाहीले आफूहरुको लामो समयको प्रयासपछि विद्यालयले भौतिक संरचनामा पूर्णता पाएको बताउनुभयो । उहाँले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधा सम्पन्न भवन बनाइ दिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको बताउनुभयो ।

विगतमा भौतिक संरचना अभाव हुँदा पठनपाठनमा निकै समस्या भएको भन्दै अब भौतिक संरचनाको अभावमा पठनपाठनलाई समस्या नहुने बताउनुहुन्छ । ‘केही वर्ष अघिसम्म विद्यालयमा पुराना जीर्ण भवनहरु थिए, त्यसमा बसेर विद्यार्थीलाई पठन पाठन गराउँदा निकै समस्या थियो, अब त्यो समस्या समाधान भएको भन्ने हामीले आभास गरेका छौँ,’ अध्यक्ष शाहीले भन्नुभयो ‘अब विद्यालयबाट प्रभावकारी र गुणस्तरी शिक्षा प्रदान गर्ने तर्फ हामीले ध्यान दिनु पर्ने छ, त्यसका लागि योजना बनाएरै लाग्ने तयारीमा छौँ ।’

उहाँले गाउँपालिका तथा अन्य सरकारी निकायबाट पनि विद्यालयको भौतिक संरचना व्यवस्थापनमा राम्रो सहयोग मिलेको र विद्यालय प्रशासन तथा व्यवस्थापनको राम्रो तालमेल मिल्दा विद्यालयको अवस्था यो स्थितिमा आएको बताउनुहुन्छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको र शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । उहाँले प्रभा मावि पालिको मात्रै नभई जिल्लामा भौतिक संरचनाको हिसाबले उत्कृष्ट बनेको भन्दै वर्षेनी आफूहरुले पालिकाबाट बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

‘यो विद्यालय हाम्रो पालिकै सबैभन्दा राम्रो र उत्कृष्ट बनेको छ, अन्य विद्यालयहरु पनि बनि रहेका छन्, अब प्रभा माविमा भौतिक संरचनाको अभाव छैन, अन्य समस्या समाधानका लागि पालिकाबाट हुने आवश्यक सहयोग हामी निरन्तर गरि रहने छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘भौतिक संरचनाले पूर्णता पाएपछि अब शिक्षालाई प्रबिधिसँग जोड्न जरुरी छ, त्यसका लागि शिक्षकहरु पहिला दक्ष हुनुपर्छ, उहाँहरुलाई दक्ष बनाउनको लागि विभिन्न तालिम, गोष्ठी र शैक्षिक कार्यक्रम गर्ने योजना पालिकाले बनाएको छ ।’

कक्षा १ देखि १२ सम्म पढाई हुने यस विद्यालयमा हाल ६७४ जना विद्यार्थी अध्ययनरत छन् । अहिले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको विद्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *