धौलागिरी अस्पतालको विकास प्राथमिकतामा: मन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले सोमबार धौलागिरी अस्पतालको निरीक्षण गर्नुभएको छ ।

मन्त्री भएपछि पहिलोपटक बागलुङ आउनुभएका मन्त्री अधिकारीले धौलागिरी अस्पताल बागलुङको सूचना केन्द्रबाट आइसोलेशनको निरीक्षण, अक्सिजन प्लान्ट, शिशु सघन कक्ष, प्रसुति कक्ष, पीसीआर प्रयोगशाला र डायलासिस कक्षको निरीक्षण गर्नुभएको थियो ।

अस्पतालमा उपचाररत बिरामीबाटै प्रत्यक्ष अस्पतालको सेवाको विषयमा सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको उहाँको भनाई थियो ।

मन्त्री अधिकारीले अस्पतालले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्यकर्मीबाट अस्पतालले गरेको कार्य प्रगति र समस्याको विषयमा जानकारी लिनुभयो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव भएको बताएका थिए । कोरोनाको समयमा करारमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि सकिएकाले थप अन्योल भएको अस्पतालले जनाएको छ ।

मन्त्री अधिकारीले अस्पताल प्रति प्रदेश सरकार गम्भीर भएको भन्दै कोरोना नियन्त्रणमा धौलागिरी अस्पतालले गरेको काम अनुकरणीय भएको बताउनुभयो । “अस्पतालमा धेरै परिवर्तन भएको पाए तर दक्ष जनशक्ति र उपकरण थप्दै जानुपर्ने अवस्था छ, अस्पताललाई २ सय शैयामा स्तरोन्नती गर्दा भवन समेत थप्नुपर्ने हुन्छ” मन्त्री अधिकारीले भन्नुभयो “अस्पतालको विकास प्रति गण्डकी प्रदेश सरकार संवेदनशील छ, छिट्टै जनशक्ति र आवश्यक उपकरण पठाउनेछौं ।”

अस्पतालमा निर्माणधीन ‘सी’ ब्लकको भवन निर्माण शुरु भएको ८ वर्षमा पनि सम्पन्न नभएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले मन्त्री अधिकारीलाई ध्यानार्कषण गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *