धौलागिरी अस्पतालमा चिकित्सकको अभाव


खेमराज गौतम, बागलुङ

धौलागिरी अस्पताल बागलुङको स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बिच सिमित स्रोत र साधनहरुका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक भने सिमित हुँदा सकस भएको छ ।

कोरोना महामारीकै अवधीमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दी अनुसार अनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृत रुपमा सेवा दिन समस्या भएको धौलागिरी अस्पतालले जनाएको छ ।

सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । १६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत रहनुभएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेल बाहेक अन्य कुनै पनि विशेषज्ञ डाक्टर नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ डाक्टर करारमा कार्यरत छन् ।

यस्तै, ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृत मध्ये अहिले एक जना मात्रै अस्पतालमा कार्यरत रहेको र उहाँको समेत सरुवा भइसकेको छ । अस्पतालमा कोरोना महामारीकै समयमा करारका मात्रै १५ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मात्रै मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधी सकिन थालेको डा.पोखरेलले जानकारी दिनुभयो । “ कोरोना महामारी संग जुध्न हामी संग लगभग जनशीक्त पुगेकै थियो, गण्डकी प्रदेश सरकारले समेत कोरोना लक्षित गरी केही मेडिकल अधिकृतहरु थप गरेको थियो तर सबै डाक्टरहरु करारका थिए” डा. पोखरेलले भन्नुभयो “यस्तो जटिल अवस्थामा दरबन्दीको त कुरे छोडौं, करारका डाक्टरहरु समेत नहुँदा समस्या जटिल बनेको छ, हामीलाई आइसियू, भेन्टिलेटर, शिशु सघन कक्षका लागि मेडिकल अधिकृत छैन ।”

आफूले डाक्टरको दरबन्दीको विषयमा पटक–पटक गण्डकी प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाई नभएको डा. पोखरेलले गुनासो गर्नुभयो । सम्भावित तेस्रो लहरमा बालबालिक बढी प्रभाति हुने भन्दै चार शैयाका शिशु सघन कक्ष निर्माण गरेको र थप पाँच शैयाको थप गर्ने गण्डकी सरकारको योजना रहेको भए पनि मेडिकल अधिकृत र नर्सको अभाव खड्किएको उहाँले बताउनुभयो ।

“१० जना करारका भए पनि विशेषज्ञ छन् भन्ने नागरिकलाई छ तर उहाँहरुले आफ्नो विभाग धान्नै गाह्रो छ, कोरोनाका बिरामी, आइसियू, भेन्टिलेटरमा फिजिशियननै पुग्नुपर्ने हुन्छ, एउटै डाक्टरले दिन र रात ड्युटी गर्न सक्ने कुरा भएन” उहाँले भन्नुभयो “इमरजेन्सी, ओपिडी, भर्ना वार्डमा एउटै डाक्टर पुग्नुपर्ने अवस्था हुन्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिन, नर्स, मेडिकल अधिकृत र विशेषज्ञ तीन वटैको समन्वय मिल्नुपर्दछ, धेरै भुमिका मेडिकल अधिकृतको हुन्छ ।”

अस्पतालमा उपकरणहरु थपिदै गए पनि दक्ष जनशिक्तको अभाव रहेको धौलागिरी व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । “मैले गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीलाई ध्यानार्कषण गराएको छु उहाँले केही डाक्टर पठाउने प्रतिबद्धता जनाउनुभएको छ” मगरले भन्नुभयो “अस्पतालको सि ब्लक ८ वर्षमा सकिएको छैन, ठेकेदारलाई छिटो गर्न भन्दिन प¥यो पनि भनेको छु, अहिले तत्कालै दुई वटा डायलासिस मेसिन प्रदेशले पठाएको छ तर त्यसलाई चाहिने पानी उत्पादन गर्ने औजार चार बेडको मात्रै छ, हामीले ६ बेडको डायलासिस कक्ष बनाएका छौं तर सञ्चालनमा समस्या छ ।”

डायलासिस कक्षमा १८ जना बिरामी पर्खाइमा रहेको अस्पतालले जनाएको छ । दुई मेसिन सञ्चालन गर्न पाए बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ । २०० शैयामा स्तरोन्नती गर्ने योजनामा रहेको अस्पतालमा ५० शैया भए पनि अस्पतालले आवश्यकता अनुसार शैया थप गर्दै उपचार गरिरहेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र कोरोना संग जुध्न अस्पतालमा कम्तिमा १५ जना मेडिकल अधिकृत अस्पताललाई चाहिने अस्पतालले जनाएको छ । अहिले भएको चार÷पाँच जना मेडिकल अधिकृत इर्मजेन्सी कक्षमा चेकजाँच र उपचारका लागि मात्रै ठीक्क हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *