परीक्षण गर्नै मान्दैनन् कोरोना शंकास्पद

आदर्श अनलाइन, बागलुङ
बागलुङमा बिहीबार देखि कडा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमण दर ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात, पसल, विद्यालय, सरकारी, गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन गरेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको बागलुङ नगरपलिकामा मात्रै ३ सय १८ जना सक्रिय संक्रमित छन् । जिल्ला सदरमुकाम बागलुङ बजार, रामरेखा, उपल्लाचौर सहित बलेवाको अमलाचौर, नारयणस्थान तथा पैयुँपाटामा संक्रमण दर उच्च छ ।

बागलुङ नगरपालिकाको नगर स्वास्थ्य शाखाले १० दिनको अवधीमा नगरपालिका भित्र कोरोना संक्रमण दर आधा घटाउने लक्ष्य लिएको छ । जस अनुसार कोरोनाको चेन ब्रेक गर्न, परीक्षणको दायरा बढाउने स्वास्थ्य शाखाले अभियान थालेको छ ।

जिल्लाको आधा संक्रमित बागलुङ नगरपालिकामा मात्रै भएकाले नगर स्वास्थ्य शाखाले १० दिनको अवधीमा एक हजार जनाको पीसीआर र एन्टिजेन्ट गर्ने योजना अघि सारे पनि नागरिकको लापरवाहीले अभियानको प्रभावकारितामा संशय पैदा भएको स्वास्थ्य शाखाले जनाएको छ ।

एक दिनमा एक सयका दरले नमूना परीक्षण गर्दा नगरपालिकामा भएका शंकास्पदहरुको परीक्षण हुने र कोरोना फैलावटमा कमी आउने आँकलन गरिए पनि कोरोना शंकास्पदहरु नै परीक्षणका लागि नआउने गरेको पाइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुरु गरेको एक दिन सय परीक्षणको पहिलो दिन नै शंकास्पदहरु परीक्षणका लागि नआएर जम्मा १२ जानाको मात्रै कोरोना परीक्षण गरिएको छ ।

शंकास्पदको परीक्षण गर्दा अन्यमा कोरोना फैलन कम हुने नगर स्वास्थ्य शाखाका संयोजक राम प्रसाद खनालले जानकारी दिनुभयो । “कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका, लक्षण देखिएकाहरुलाई सूचना जारी गरेर नगर स्वास्थ्य शाखाको प्राङ्गण ऐश्वर्य पार्कमा बोलाएका छौं” स्वास्थ्य शाखा संयोजक खनालले भन्नुभयो “तर शंकासपद बिरामीले समेत परीक्षण गर्न मानेका छैनन्, कन्ट्रयाक्ट ट्रेसिङको त कुरै छाडौं, बिहीबार एक सय जनाको पिसिआर गर्न तयारी गरे पनि जम्मा १२ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ, जसमध्ये ६ जनाको पिसिआर र ६ जनाको एन्टिजेन्ट ।”

खनालका अनुसार यसले के देखाउँछ भने संक्रमण दर बढे पनि परीक्षणका लागि नागरिकले चासो देखाएका छैनन् । कोरोना लागेकाले परीक्षण नगर्दा धेरैलाई सर्ने सम्भावना भएकाले आफू र परिवारको सुरक्षाका लागि समेत कोरोना परीक्षण गर्न आवश्यक रहेको खनालको भनाई छ । १० दिनको अवधीमा कोरोना ५० प्रतिशत घटाउने नगरपालिकाको लक्ष्य छ ।

नगरपालिकाले बानपा १, २, ३ र ४ मा सूचना जारी गदै कोरोना परिक्षणका लागि स्वास्थ्य शाखामा बोलाएको छ । बागलुङ नगरपालिकामा मात्रै हैन, बागलुङका अन्य पालिकामा समेत कोरोनाको लक्षण नै देखिएकाले समेत परिक्षण गर्न नमान्ने गरेको स्वास्थ्य कार्यालय बागलुङमा कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

नागरिक सचेत नभएसम्म कोरोना रोकथाम गर्न सकस भएको उहाँको तर्क छ । “गाउँमा न माक्स लगाउँछन्, नरु अरु सचेतता । त्यसैले कोरोना गाउँमै बढी देखिन थालेको छ, हेलचक्राइ बढी भइरहेको छ,” घिमिरेले भन्नुभयो “परीक्षणका लागि आउनुहोस् भनेर सूचना जारी गर्दा समेत आउँदैनन्, अन्ततः त्यही स्थानमा कोराना बढ्ने गरेको छ ।”

जिल्लामा अहिले संक्रिय संक्रमित ६ सय ८४ पुगेको छ भने ६३ जानको मृत्यु भइसकेको छ ।
बागलुङ नगरपालिकाले दश दिनका अवधीमा कोरोना संक्रमण बढी भएको स्थानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहितको समूह संक्रमितको घरमै पुगेर स्वास्थ्य परिक्षण, सल्लाह सुझाव दिने योजना समेत रहेको खनालले बताउनुभयो ।

जिल्लामा तिब्र रुपमा संक्रमण फैलिएला नागरिकले तेस्रो लहर आएको आशंका गरेका छन् । यद्यपी बागलुङमा अहिले बढिरहेको संक्रमण दोस्रो लहर नै भएको धौलागिरी अस्पताल बागलुङमा मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । उहाँले प्रमाणित नभइकन तेस्रो लहर भन्न नमिल्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *