खेलाडीलाई खोप

आदर्श अनलाइन, पोखरा
कोरोना भाइरस महामारीको दोस्रो लहरले तीन महिनादेखि खेल क्षेत्र ठप्प छ । पहिलो लहरको कोरोना महामारीले लामो समय बन्द रहेको खेल गतिविधि गत वर्ष मङ्सिरदेखि पुनःसञ्चालन भएकामा चार महिना नबित्दै दोस्रो लहरले प्रभावित बनायो ।

खेलकूद गतिविधि बढी हुने गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जिल्ला प्रशासनले रङ्गशाला, खेलकुदस्थल, फुटसल सञ्चालनमा निषेधाज्ञा लगाएपछि खेलाडी तथा प्रशिक्षक चार महिनादेखि मैदानमा ओर्लिन पाएका छैनन् । महामारी न्यूनीकरणका लागि सरकारले खेलकुद गतिविधि सञ्चालनमा लगाएको बन्देज अहिलेपनि कायमै छ । जसले गर्दा हरेक दिन चहलपहल हुने खेलकुदस्थल सुनसान प्रायः छन् ।

पोखरा रङ्गशालामा केही खेलको सामान्य अभ्यास शुरु भए पनि खेलाडीले कोरोना विरुद्धको खोप नपाउँदा निर्धक्क भएर मैदानमा आउन नसकेको अवस्थामा खेलाडीका लागि खोप लगाउन शुरु भएपछि खेल क्षेत्रमा उत्साह थपिएको छ । खेलाडी छिट्टै मैदानमा फर्किन पाउने विश्वासमा छन् ।

प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति तथा पोखरा महानगर खेलकुद समितिको पहलमा आज पोखरा रङ्गशालामा ४०० खेलाडी तथा प्रशिक्षकले पहिलो चरणमा कोरोना विरुद्ध भेरोसिल खोप लगाएका छन् । विभिन्न ३६ खेल सङ्घबाट ११ जनाका दरले खोप लगाइएको थियो ।

पहिलो चरणमा नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर प्रशिक्षण बस्ने खेलाडी, प्रशिक्षक र खेल सङ्घका पदाधिकारीलाई खोप लगाइएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । शुरुआतमा खेलकुद क्षेत्रका लागि एक हजार ५०० खोप सरकारसँग माग गरेकामा केहीले उमेर समूहका आधारमा यसअघि नै लगाइसकेकाले तत्कालका लागि गण्डकीका ११ वटै जिल्लाका लागि एक हजार एक खोप आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेल क्षेत्रलाई चलायमान बनाउन खेलाडीले खोप पाउनुपर्दछ भनेर लागि परेका थियौँ । प्रशासनसँगको खोप लगाउन शुरु भएसँगै खेलाडी, अभिभावकलाई समेत आत्मबल बढेको छ, यसबाट प्रशिक्षणस्थलमा स्वास्थ्यका मापदण्ड पूरा गरेर खेल गतिविधि शुरु गर्न सहज भएको छ ।”

खोपको प्रतिक्षामा रहेका खेलाडी खोप लगाउन पाएसँगै उत्साहित बनेका छन् । लामो समय घरभित्रै बसेर ‘सेल्फ अभ्यास’ गरेका खेलाडी खोप पाएसँगै रङ्गशालामा अभ्यास र प्रतियोगिता खेल्न पाउने अपेक्षामा छन् ।

निकट भविष्यमा नै सबै खेलकुदकर्मीले खोप पाएर खेल क्षेत्र पूवर्वत अवस्थामा फर्किने विश्वास खेलाडीको छ । फुल कन्ट्याक्ट करातेका राष्ट्रिय खेलाडी निर्मल केसी खोप पाएसँगै उत्साह बढेको बताउनुहुन्छ । उहाँले खोपले मनोबल वृद्धि गरेको बताउनुभयो । “कोरोनापछि हामी रङ्गशाला र डोजोहरुमा गएर प्रशिक्षण गर्न पाएका थिएनौँ । महामारी कहिले अन्त्य हुन्छ भनेर चिन्ता लागि रहेको बेला आज खोप लगाउन पाउँदा खुशी लागेको छ”, केसीले भन्नुभयो, “खोप प्राप्त गरेपछि आत्मबल पनि बढेको छ, विस्तारै पहिलाजस्तै प्रतियोगिता खेल्न पाइन्छ भन्ने विश्वास जागेको छ ।”

यसैवर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि सबै खेलाडी तथा प्रशिक्षकलाई सरकारले खोपको व्यवस्था गरेर अभ्यास शुरु गर्नुपर्ने भनाइ उहाँको छ । महानगर खेलकुद परिषद्का सदस्य सचिव सुभाष खड्काले खेलाडीलाई खोप लगाउन शुरु भएसँगै खेल क्षेत्रमा उत्साह थपिएको बताउनुभयो ।

खेलकुद गतिविधि शुरु गर्न सबैले खोप प्राप्त गर्नुपर्ने भएकाले बाँकी रहेकाका लागि समेत छिट्टै दोस्रो चरणको खोप कार्यक्रम सञ्चालनका लागि पहल गरिने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *